मलंगवामा झडप हुदाँ दर्जन बढि घाइते, कफ्र्यु आदेश जारी

सर्लाही । विश्वकर्मा भगवानको मूर्ती सेलाउने विषयमा मुस्लिम र हिन्दु समुदाय बीच सर्लाहीको सदरमुकाम मलंगवामा झडप हुदाँ कफ्र्यु आदेश जारी गरिएको छ । मुर्ती सेलाउने विषयमा शुक्रवार साँझ देखि उत्पन्न भएको तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज दिउसो १ः३० बजेदेखि भोली बिहान ८ बजे सम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ । दुवै पक्षबीच आज झडप हुनथालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड आशु ग्यास समेत प्रहार गर्नु परेको सर्लाही प्रहरी प्रमुख एसपी संतोष सिंह राठौरले जानकारी गराएका छन । घटना स्थाल मलंगवाको वडा नम्बर ३ र २ मा अहिले उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुबै समुदायका मानिसहरु एक अर्का माथि ढुंगामुडा गर्न थालेपछि कफ्र्यु जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकार सुरेन्द्र पौडेलले जनाएका छन । मलंगवाको वडा नम्बर ३ स्थित विश्वकर्मा चौकमा विश्वकर्मा भगवानको पूजा गरिएको मूर्ती शुक्रवार साँझ सेलाउन जाने क्रममा मुस्लिम बस्ती भएको ठाउँमा पुग्दा मुस्लिमहरुले ढुङ्गा मुढा गर्दा दुई समुदाय बिच झडप भएको थियो । झडप भएपछि दुबै पक्षबिच ढुङ्गामुढा भएको थियो ।

ढुङ्गामुढा लागेर दुबै पक्षका करिब १ दर्जन भन्दा बढी व्यक्तिहरु घाईते भएको उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साहले बताए । दुई समुदाय बिच झडप हुन थालेपछि प्रहरी आएर अवस्थालाई साम्य पारेको थियो । शनिवार बिहानदेखि अवस्था फेरी तनाव पूर्ण बनेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । तोडफोड गरिएको मूर्ती जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ ।

प्रतिक्रिया