विदेश पठाउने भन्दै १४ जना युवाको १६ लाख रकम लिएर फरार

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका– ११ मैनीका १४ जना युवा ठगिमा परेका छन् । ०७३ साल साउनमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै ती युवाहरुबाट १६ लाखभन्दा बढी रकम लिएर अनुपम कार्की फरार भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीकी प्रमुख रञ्जु सिग्देलले जानकारी दिइन् ।

उनका अनुसार दुधौली नगरपालिका– ११ मैनीका १४ जना युवाहरुलाई दुबइमा रोजगारी लगाइदिने भन्दै प्रत्येक युवाबाट १ लाख ३० हजार रुपैयाँको दरले पैसा लिएर सोही ठाउँका ३० वर्षीय अनुपम कार्की फरार भएका हुन् । फरार रहेका कार्कीको खोजि भइरहेको प्रहरी प्रमुख सिग्देलले बताइन् ।

पीडित युवाहरुले ढिलो जानकारी गराएको पनि सिग्देलले बताइन् । यस्तै पीडित युवाहरु भने स्थानीय भएकाले कार्कीलाई विश्वास गरि पैसा दिएको बताउँछन् । कार्कीले २ महिना भित्र आफूहरुलाई दुबइ पठाई काम लगाइदिने भनेकाले पैसा दिएको उनीहरुले बताए ।

२ वर्षसम्म बाहिर पठाउँनको लागि प्रक्रिया भइहेको भन्दै झुक्याउने गरेको पीडित युवा उपेन्द्र शाहले बताए । उनले भने, ‘हामीले फोन गर्दा जहिले पनि प्रक्रिया हुँदै छ भन्नुहुन्छ’, उनले भने, ‘स्थानीय भएकाले हामीले पनि उस्को कुरा विश्वास गरियो ।

कार्की सम्पर्कविहिन भएपछि युवाहरु मिलेर कार्कीको घर पैसा फिर्ता माग्न जादाँ उल्टै युवाहरुलाई अभद्र व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यलय सिन्धुलीमा मुद्दा हालेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया