दसैँअघि रेल सञ्चालनको तयारी

काठमाडौं । सरकारले दसैँअघि रेल सञ्चालनको तयारी गरेको छ । सोही कारण जयनगर–जनकपुर रेलको ट्रेन सेट शुक्रबार जनकपुर आइपुग्ने भएको हो । रेल आएपछि परीक्षणको काम हुनेछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार रेल आइपुग्ने जानकारी दिएका छन् । उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ । शनिबार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गइसकेका छन् ।

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो । गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको हो । सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याउनुअघि विभागले तयारीका निम्ति समय माग गरेको थियो । जनकपुर–जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको रहेको छ । नेपालले करिब ८६ करोड रुपैयाँमा दुई सेट डेमु ट्रेन खरिद गरेको हो । रेल आइपुगेपछि जयनगरमा राखिने भएको छ । दिनभर सञ्चालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेसन बनाइएको छ ।

रेल सञ्चालनका लागि कम्पनीले १ सय २९ जना सहायक प्राविधिक सहितको अनलाइन आवेदन योभन्दा अघि नै खुलाइसकेको छ । सो खण्डमा रेल सञ्चालनका लागि २ सय २६ जना जनशक्ति आवश्यक पर्छ । तर तत्कालका लागि १ सय २९ जना भर्ना गर्न लागिएको छ । १ सय २९ जनाले काम गर्दै जाने र अरू पदपूर्ति गरिने रेल्वे कम्पनीले जनाएको छ ।

यसका लागि प्रशासनिक र प्राविधिक सहयोगी कर्मचारी भर्ना गर्न लागिएको हो । मुख्य प्राविधिक कर्मचारी भारतबाट ल्याउन लागिएको छ । २६ जना प्राविधिक भारतबाट आउने क्रममा रहेका छन् । यसका लागि कम्पनीलाई नेपाल सरकारले स्वीकृति दिइसकेको छ । भारतीय पक्षलाई कर्मचारी उपलब्ध गराइदिन कम्पनीले पत्राचारसमेत गरिसकेको छ । स्टेसन म्यानेजरदेखि चालक सम्मका प्राविधिक लिन लागिएको हो । भारतबाट रिटायर्ड कर्मचारीलाई उतैको मापदण्डअनुसार तलब सुविधा दिने समझदारीमा ल्याउन लागिएको पनि रेल्वे कम्पनीले जनाएको छ ।

दुई वर्षपछि नेपाली इन्जिनियर पनि रेल सञ्चालनका लागि तयार हुने अपेक्षा गरिएको छ । त्यसपछि भारतीय कर्मचारीलाइ फिर्ता पठाइने कम्पनीले जनाएको छ । क्रस बोर्डर रेल सञ्चालन गर्न भारतसँग रेल्वे सेवा सम्झौँता गर्नुपर्छ । रेल मर्मतका लागिसमेत सम्झौता गर्न बाँकी रहेको छ । जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग भारतले आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्न लागेको छ । जयनगरदेखि जनकपुर करिब ३४ किमि रेलमार्ग तयार भइसकेको छ ।

प्रतिक्रिया