रोजगारी गुमेपछि आर्थिक संकटमा समुदाय

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका –१० का उद्धव मगर गत फागुन महिनामा साउदीबाट नेपाल फर्किए । एक महिनाको छुट्टीमा गाउँ फर्किएका मगर लक डाउनको कारण विदेश फर्किन पाएनन् । चार वर्षदेखि वैदेशिक रोजगारीकै भरमा आफ्नो परिवार पाल्दै आएको मगरले सुनाए । विदेशमा मासिक ४५ हजार कमाउने मगर फेरी फर्किन नपाएपछि उनलाई अहिले परिवार धान्न धाउँधाउँ परेको छ । उनी भन्छन्, ‘विदेश फक्र्याैं भने जान सक्ने अवस्था छैन, यही बसौँ बिहान र बेलुकाको छाक टार्ने समस्या छ’, उनले भने, ‘यहीँ केही गरौँ साहुले पत्याउँदैनन्, स्थानीय सरकारले केही गर्दैन ।’

यस्तै अर्का स्थानीय २६ वर्षीय भोजबहादुर थापामगरको पीडा पनि उस्तै छ । एक वर्षदेखि भारतको दार्जिलिङमा कपडाको मार्केटिङ गर्दै आएका थापामगर ३० हजार रुपैयाँ महिनामा कमाउँथे । पाँच जनाको पारिवारिक जिम्मेवारी बोकेका थापामगर कोरोना भाइरसका कारण रोजगारी गुमाएपछि आर्थिक समस्याले सताउने गरेको गुनासो गरे । उनी भन्छन्, ‘म बाहिर हुँदा घरमा सघाउने भाइ थियो । भाइ अहिले ट्रयाक्टर दुर्घटनामा परि अपांगजस्तै छ । केही गर्न सक्दैन । गाउँमै केही गरौँ भनेर आएँ तर उपाय छैन ।’

सोही ठाउँका भारत र खाडीमुलकमा रोजगारी गुमाएर फर्किएका अन्य नौ जना युवाको पनि उस्तै समस्या छ । काठमाडौंबाट गाउँ आएका ६ जना युवा भने सरकारले लक डाउन खोलेपछि फेरि काठमाडौं फर्किए । काठमाडौं त फर्किए तर सोचेजस्तो भएन । न काम छ न साथमा पैसा । उनीहरू आर्थिक अभावले न गाउँ फर्कन सक्छन् न सजिलोसँग बस्न नै । काठमाडौं गएपछि उनीहरूको झन् बिचल्ली भएको स्थानीय उद्धव मगरले बताए । भारत तथा खाडी मुलकबाट फर्कने युवाहरू यहीँ बसेर व्यवसाय गर्न स्थानीय सरकारले सहयोग नगरे फेरि परदेशिन बाध्य हुने बताउँछन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–१० को सुकुम्बासी बस्तीमा १६ घरघुरीको मजदुर बसोवास रहेको छ । हुर्केका छोराछोरी कामको सिलसिलामा काठमाडौं, पोखरा, भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि जान्छन् भने घरमा रहेका अन्य सदस्य अर्काको बनिबुतो गर्छन् । गाउँमै एसइइ पास गर्ने नौ जना छन् । जसमध्ये ६ जना उच्च शिक्षा लिइरहेका छन् । तर, घरबाट बाहिर कमाउन जानेहरू भने सबैजसो माध्यमिक शिक्षा पूरा नगरेका मात्र छन् ।

कमलामाई नगरपालिका–१० का वडाध्यक्ष रामहरी ढुंगेल सुकुम्बासी बस्तीका सबैलाई राहत वितरण गरेको र बेरोजगार युवाहरूलाई गाउँबाट बाहिर जान नदिन वडाले योजना बनाइरहेको बताए । उनले भने, ‘व्यक्तिगत रूपमा नभई सामूहिक रूपमा उनीहरूलाई तरकारी खेती तथा पशुपालनमा आकर्षित गरी आवश्यक सहयोग गर्छौं ।’

प्रतिक्रिया