दिनेशको चलचित्रमा प्रदीप

काठमाडौं । निर्देशक दिनेश राउतले बनाउन लागेको नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काले काम गर्ने पक्का भएको छ । खड्काले उक्त चलचित्रका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सामाजिक विषयवस्तुमा आधारित रही बन्न लागेको चलचित्रमा लागि प्रदीपको मुख्य भूमिका रहने जनाइएको छ । अभिनेता प्रदीप र निर्देशक दिनेशले एकसाथ काम गर्ने समाचार निकै पुरानो हो । कोरोना कहरका बीच गरिएको सम्झौतानुसार यी दुई अब सँगै काम पक्का भइसकेको छ ।

चलचित्रको ‘प्रसाद’ को निर्देशन गरेका दिनेशले यसअघि ‘सेल्फी किङ’ को निर्माण गरेका थिए । अहिले उनले नयाँ चलचित्रको काम सुरु गर्न लागेका हुन् । यस्तै दिनेशले रोहित अधिकारीको निर्माणमा बन्न लागेको चलचित्र ‘मेरो एउटा साथी छ २’ समेत निर्देशन गर्ने तयारीमा छन् । सामाजिक विषयमा बन्ने नयाँ चलचित्रका काम गर्ने अन्य कलाकारको छनोट पनि भइरहेको निर्माण पक्षले जनाएको छ ।

यसैगरी, अभिनेता प्रदीप चलचित्र ‘प्रेम गीत ३’ को रिलिजको पर्खाइमा छन् । यससँगै उनले चलचित्र ‘हुतुतु’ मा पनि काम गर्दैछन् । कोरोना संक्रमणको त्रासकम भएपछि दिनेश र प्रदीपको सहकार्यमा बन्न लागेको चलचित्रको छायांकन गरिने जनाइएको छ । निर्देशक दिनेशले भने, ‘कोरोना संक्रमणसँगै लगाइएको लकडाउनको समयलाई सदुपयोग गर्दै चलचित्रको फाइनल स्क्रिप्ट तयार गरेका हौं ।’ यसैबीच यी दुईजनाको सहकार्यमा गायक स्व. अरुण थापाको बायोपिक बन्ने समाचार पनि बाहिरिएको थियो । तर, हाललाई भने उक्त चलचित्रको काम रोकिएको छ ।

प्रतिक्रिया