स्थिर व्याजदरको व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा अवधिभरि परिवर्तन नहुने गरी तोकिने व्याजदर असोज मसान्तभित्र निर्धारण गर्न र प्रकाशन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।  राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर एक महिनाभित्र स्थिर ब्याजदर कार्यान्वयनमा लैजान निर्देशन दिएको हो । केन्द्रीय बैंकले पहिलोपटकका लागि असोज मसान्तभित्रमा स्थिर व्याजदर निर्धारण गरी सार्वजनिक रूपमा प्रकाशन गर्नसमेत निर्देशन जारी गरेको छ । यस्तो स्थिर व्याजदर बैंक तथा वित्तीय संस्थाले अर्धवार्षिक रूपमा तोक्नुपर्नेछ । यो निर्देशनसँगै अब स्थिर व्याजदर कार्यान्वयनमा आउनेछ ।

एकीकृत निर्देशिकामार्फत एक साताअघि केन्द्रीय बैंकले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरूको व्याजदर परिवर्तन नहुने गरी स्थिर व्याजदर कायम गर्न निर्देशन दिएको थियो । स्थिर व्याजदर कायम भएपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा जति प्रतिशत व्याजदर तोकिएको हुन्छ, ऋण चुक्ता गर्ने अवधिसम्म त्यसमा थपघट गर्न मिल्दैन ।

बैंक तथा वित्तीय संस्थाका ऋणीले ऋण लिँदा व्याजदर एउटा तोकिए पनि बंैकले बिस्तारै व्याजदर बढाउँदै लैजाने गरेको गुनासो गर्दै आएका छन् । ऋण लिने बेलाको भन्दा ब्याजदर बढाउँदै लगेपछि किस्ता तिर्ने बेला मध्यम वर्गलाई सधैँ सकस पर्ने गरेको छ । केन्द्रीय बैंकले व्यक्तिको नाममा प्रवाह हुने एक वर्षभन्दा बढी समयका लागि लिइएका घर, गाडी लगायतका कर्जामा व्याजदर स्थिर राख्न निर्देशन दिएको थियो । यसअघि नै व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा पनि ग्राहकको अनुरोधमा स्थिर व्याजदर कायम हुने गरी कर्जाका सर्त परिवर्तन गर्न पनि निर्देशन दिएको थियो ।

प्रतिक्रिया