जंगली हात्तीको आतंक सहँदै स्थानीय

कैलाली । जिल्लाको टीकापुर नगरपालिका–८ श्रीलंकामा जंगली हात्तीले स्थानीयवासीलाई आतंकित बनाएको छ । जंगली हात्तीले श्रीलंकामा घर भित्र्याउने तयारीमा रहेको धानबाली र उखुखेतीमा क्षति पु¥याएको छ । श्रीलंकाका नागरिक नदी कटानसँगै जंगली हात्तीबाटसमेत पीडित बनेका छन् । त्यहाँका नागरिक बर्सेनि बालीनाली उब्जनी हुने बेलामा हात्तीको आतंक सहन बाध्य छन् । केही दिनअघि आएको हात्तीको बथानले स्थानीयवासीको दर्जनौँ बिघामा लगाइएको धानखेती र दुई घर भत्काएको रुपा बोहराले बताइन् । ‘हात्तीको बथानै आउने गरेको छ’, बोहराले भनिन्, ‘रातीको समयमा आगो बालेर, बाजा बजाएर हात्ती भगाउने गरेका छौँ, हात्ती भगाउन रातभर जाग्राम बस्ने गरिएको छ ।’

बस्तीमा धान पाक्ने सयममा दैनिक जंगली हात्ती आउन थालेका स्थानीयवासी तिलक बोहराले बताए । ‘यो आजको समस्या होइन, हरेक वर्ष हामी हात्तीबाट पीडित बन्दै आएका छौँ, हात्तीले वर्षेनी दुई÷चार घर भत्काउने र दर्जनौँ बिघा खेती खाइदिने गरेका छन्’, तिलकले भने, ‘यहाँ खेती राम्रो हुन्छ तर जोगाउनै मुस्किल हुन थालेको छ, एकातिर नदी कटान तीव्र छ, अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको छ ।’

०४० सालअघि श्रीलंकामा पाँच सय परिवारको बसोवास थियो । नदी कटान र हात्तीले सताउने भएपछि धेरै परिवारले त्यो ठाउँ छाडे । श्रीलंकामा अहिले करिब ५० परिवारको बसोवास छ । त्यहाँ दुई हजार बिघा क्षेत्रफलमा धानखेती र करिब ५० बिघामा उखुखेती हुने गरेको छ । कर्णाली नदी कटानले गर्दा उर्वर खेतीयोग्य जमिन मासिँदै गएको छ । नदी कटानले बचेको जमिनमा अन्नबालीको फसल राम्रो फल्छ । धान घर भित्र्याउने समयमा सहजै भारतीय दुधुवा नेसनल पार्कबाट हात्तीको बथान आएर क्षति पु¥याइरहेको बोहराले बताए ।

हात्तीले आतंकित भएका स्थानीय हात्ती नियन्त्रण तथा धपाउनका लागि समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गर्दछन् । हात्ती आएर घर भत्काउने र अन्नपात नष्ट गर्ने भएकाले रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी नयाँराम बुढाले बताए । यहाँका बासिन्दा दीर्घकालीन समाधानका लागि करेन्टसहितको तारबार लगाइदिनुपर्ने माग गर्न थालेका छन् । उनीहरूले हात्ती भगाउन उच्च टहरा भए सहज हुने भएकाले हटरा निर्माण गरिदिन स्थानीय तहलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

श्रीलंकामा नदी कटानले करिब पाँच सय बिघाको टापु बनेको छ । यहाँ बर्सेनि कर्णाली नदीले दर्जनौँ बिघा जमिन कटान गर्ने गरेको छ । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला विपद्को जोखिममा रहेको वडा भएकाले यहाँका नागरिकका समस्या समाधानका लागि नगरपालिका गम्भीर भएको बताए ।

प्रतिक्रिया