असोजबाट आन्तरिक उडान, १५ बाट दसैं टिकट खुल्ने

काठमाडौं । सरकारले १ असोजबाट आन्तरिक उडान खुला गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले १ असोजबाट आन्तरिक उडान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् । उडान सञ्चालन गर्न एक साइडमा मात्र यात्रुहरू राख्न पाइनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार आन्तरिक उडानका लागि आवश्यक तयारी पूरा भइसकेको छ ।

यसअघि ५ असोजबाट आन्तरिक उडान खुलाउने भन्ने निर्णय भएको सार्वजनिक भएपछि प्राधिकरणले मंगलबार एयरलाइन्सका प्रतिनिधिहरूलाई बोलाएर छलफलसमेत गरेको थियो । तर, साँझ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले १ असोजबाटै उडान गर्ने जानकारी दिएका हुन् । योसँगै १ कात्तिकबाट हिमालय आरोहणका लागि खुला हुने भएको छ । आरोहणमा जाँदा पछिल्लो ७२ घण्टाको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने व्यवस्था गरिएको छ । होटल र ट्राभल एजेन्सीहरू पनि १ असोजबाटै खुल्ने भएका छन् ।

यसअघि १ भदौबाटै उडान खोल्ने निर्णय सरकारले गरेको थियो । सोहीअनुसार प्राधिकरणले पहिलो चरणमा साविकमा हुँदै आएको उडानको ३३ प्रतिशत मात्र अनुमति दिने गरी वायुसेवा कम्पनीलाई उडानको अनुमति दिएको थियो । तर, कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएपछि काठमाडौं उपत्यकासहित सहरमा निषेधाज्ञा लागू भएको थियो । नेपालमा १० चैतदेखि सार्वजनिक यातायात र आन्तरिक हवाई यातायात खुल्न सकेका छैनन् । सोही दिनबाट बन्द भएको अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट सीमित गन्तब्यका लागि खुला भइसकेको छ ।

१५ असोजबाट दसैं टिकट खुल्ने
दसैँको लागि टिकट बिक्री १५ असोजबाट खुला गरिने गृहकार्य सुरु भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी सरकारले लामो दुरीको सार्वजनिक सवारी चलाउने निर्णय गरेसँगै १५ असोजबाट टिकट बिक्री वितरण खुला गर्नका लागि गृहकार्य भइरहेको बताएका छन् ।

निषेधाज्ञा खुलेपछि कोरोना संक्रमणदर दिनप्रतिदिन बढिरहेको अवस्थामा सरकारले दसैँका लागि गाडीको टिकट किन्ने यात्रुको भिडाभाड नहोस् भन्नका लागि अनलाइन टिकटको व्यवस्था गर्ने तयारीमा विभाग रहेको छ । अन्य समयको तुलनामा यो वर्षको दसैँमा सर्वसाधारण ५० प्रतिशतले कम हुने आँकलन यातायात व्यवसायीहरूको छ । विभागका अनुसार व्यवसायीलाई सरकारले तोकेको भाडादरमा थप ५० प्रतिशत भाडा बढाएर यात्रु ओसारपसार गर्ने छुट दिइएको छ ।

अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीले सरकारले आधा मात्रै यात्रु बोकेर सवारी साधन सञ्चालन गर्न व्यवसायी सहमत भएको बताएका छन् । उनले सरकारले सवारीको कुल क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने निर्णय गरेको र सोही निर्णयअनुसार नै सेवा सुरु गरिने बताए ।
त्यस्तै यातायात राष्ट्रिय व्यवसायी महासंघका सचिव सरोज सिटौलाले पनि सरकारको मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्नेमा सहमति जनाएका छन् । सरकारले औपचारिक रूपमा पत्र काटेर अनलाइन टिकटको व्यवस्था गर्न नभनेको कारण व्यवसायीहरूले त्यसतर्फ तयारी गरेको देखिँदैन ।

प्रतिक्रिया