आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंकले एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बैंकले एसियाली विकास अपडेट सार्वजनिक गर्दै सो प्रक्षेपण गरेको हो । यो भन्दा अघि अप्रिलमा ५ दशमलव ३ र जुनमा २ दशमलव ३ प्रतिशत अनुमान गरिएको थियो । बैंकका अनुसार दक्षिण एसियाको आर्थिक वृद्धिदर माइनस ६ दशमलव ८ प्रतिशत रहनेछ ।

दक्षिण एसियामा माल्दिभ्स क्रणात्मक २० दशमलव ५, भारत क्रणात्मक ९, श्रीलंका क्रणात्मक ५ दशमलव ५, अफगानिस्तान क्रणात्मक ५ र पाकिस्तान क्रणात्मक शून्य दशमलव ४ रहने आँकलन गरिएको छ । तर, बंगलादेश ५ दशमलव २, भुटान २ दशमलव ४ र नेपाल २ दशमलव ३ प्रतिशतको अर्थतन्त्रले धनात्मक आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । तर, सन २०२१ मा भने समग्र दक्षिण एसियाले ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ ।

यसबाहेक एसियाली अर्थतन्त्रमध्ये मध्य एसियाको माइनस २ दशमलव १ प्रतिशत, पूर्वी एसियाको १ दशमलव ३ प्रतिशत, दक्षिणपूर्वी एसियाको माइनस ३ दशमलव ८ प्रतिशत, प्रशान्त क्षेत्रको माइनस ६ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर तथा संकुचन हुने अनुमान गरिएको छ ।
नयाँ तथ्यांकअनुसार यो वर्ष विकासोन्मुख एसियाली अर्थतन्त्रमा ६ दशकयता संकुचन आउनेछ । यसका बाबजुद अर्को वर्ष भने पुनः अर्थतन्त्रले वृद्धिको लय समात्ने अपेक्षा गरिएको छ । विकासोन्मुख एसियाको यो वर्ष अर्थतन्त्रमा माइनस शून्य दशमलव ७ प्रतिशतको संकुचन आउनेछ । यो सन् १९६० यताकै ऋणात्मक आर्थिक वृद्धिदर हो । तर, सन् २०२१ मा भने अर्थतन्त्रले लय समातेको अवस्थामा ६ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ ।

महामारीपछि ‘भी’ सेपमा नभई ‘एल’ सेपमा आर्थिक पुनरुत्थान हुने बैंकले अनुमान गरेको छ । यस क्षेत्रका तीनचौथाइ अर्थतन्त्रले यो वर्ष संकुचनको सामना गर्नुपर्ने बैंकले जनाएको छ । यस क्षेत्रको आर्थिक वृद्धिमा विश्व महामारी कोरोनालाई मुख्य कारण मानिएको बैंकले जनाएको छ । यस क्षेत्रका अर्थतन्त्रले आयमा सहयोग गर्न ३६ खर्ब डलर अर्थात कुल जिडिपीको १५ प्रतिशत नीतिगत सहयोगको घोषणा गरेको छ । कोरोनाबाहेक भूराजनीतिक तनाव, चीन र अमेरिकाबीचको व्यापार र प्रविधि तनाव लगायतका कारण पनि यस क्षेत्रको अर्थतन्त्रमा नराम्रो असर पर्ने बैंकले औँल्याएको छ ।

प्रतिक्रिया