कोरोनाले रोजगार गुमाएका स्वरोजगार बन्दै

सिन्धुली । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्कका इन्द्रविक्रम थापाको दैनिकी अहिले फेरिएको छ । पाँच महिनाअघि मलेसियाबाट फर्केका उनी अहिले आफ्नै ठाउँमा पशुपालनमा व्यस्त छन् । पहिले विदेशमा सुपरभाइजरका रूपमा काम गरेका उनले गाउँमै कृषि तथा पशुपालनमा सम्भावना देखेपछि व्यवसाय सुरु गरेका हुन् । अहिले बाख्रा, माछा, गाई तथा फलपूmलकै रेखदेख र हेरचाह गरेर उनको दैनिकी बित्ने गरेको छ ।

उमेरले ४८ वर्ष लागेका थापा करिब १४ वर्ष मलेसिया बसेर कोरोना भाइरस माहामारीको रूपमा फैलने डरले गत फागुन महिनामा नेपाल आएका हुन् । कोरोना भाइरसको कारण उनले विदेशको जागिर छोडेर आएको सुनाए । रोजगार गुमाई विदेशबाट फर्किएका थापाले घरमा नै कृषि पशुपंक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् ।

मेगा बंैक सिन्धुलीबाट ६ लाख रुपैयाँ ऋण लिएर आफूसँग भएको करिब दुई लाख गरी जम्मा आठ लाखमा र्फम संचालन गरेको थापाले बताए । चार रोपनी जमिनमा जुनार, सुन्तला, तीन रोपनीमा तरकारी खेती, ३० वटा खाख्रा अहिले उनको खोरमा रहेको छ । थापाको फर्ममा लगाएको खुर्सानी, साग, टमाटर भने बिक्रि हुन लागेको छ । ३० हजारको बिक्रि पनि गरिसकेको उनले सुनाए । आफ्नै परिवारसँग बसेर व्यवसाय गर्न पाउँदा खुसी लाग्ने गरेको थापाले बताए । ‘मलेसियामा प्लास्टिक कम्पनीको सुपरभाइजर भएर काम गर्थें’, उनले भने, ‘महिनाको ८० हजार कमाइ हुन्थ्यो ।’ विदेशमा महिनाको ८० हजार कमाई भन्दा आफ्नै देशमा महिनाको पाँच हजार कमाइले पनि छुट्टै आनन्द मिल्ने रैछ ।’ आफ्नै घरमा व्यवसाय गरेको देखेर थापाको परिवार पनि खुसी छन् ।

कोरोना भाइरसको कारण रोजगार गुमाई घरमै बसेकाले तरकारी खेती, पशुपालन तथा अन्य व्यवसाय गर्नसके राम्रो कमाई हुने थापाले बताए । अहिले जिल्लामा विदेश तथा देशमै पनि अनौपचारिक क्षेत्रमा कार्यरत युवाहरूले रोजगार गुमेपछि आफ्नै ठाउँमा कृषि तथा पशुपालन सुरु गरेका छन् । वर्षांैदेखि बाँझो रहेका जमिनहरू अहिले हरियालीमा परिणत भएको छ ।

प्रतिक्रिया