नाटक ‘संकट’

हजुरबाः मेरो यत्रो सम्पति जे गरे नी, जसरी खाए पनि खान्छु । तिमीहरुलाई के को टाउको दुखो हँ ? छोरोः मर्न नसकेका असती बुढा बुढेसकालमा यसो तिर्थ ब्रत पाठपुजा गरेर नकेच्चिएर ? आखिर हाम्रो यो बिर्ता जोगाउने भनेको मै हो क्यारे ! पालनपोषण गर्ने पनि मै हो ?काजक्रिया गर्ने पनि मै हो ?  हजुरबाः ए बुहारी ! ए बुहारी !! कान पनि सुन्न छाडी छ ? खाना ल्याउँ मलाई भोक लागिसक्यो ।

बुहारीः कस्तो किच किच गरेको ? बस्तु बुढो भो, भिर खोज्छ मान्छे बुढो भो निउँ खोज्छ । बनाउँदैछु । कति साह्रो भोक लागेको यी सुगररोगी बुढालाई ?  छोरोः दे दे कति खान्छन् दे यी पितृ बुढालाई ? बुहारीः हो नी भन्नेबित्तिकै दिउँलानी ? यो घुनैघुन लागेको दक्षिणपन्थी चामल फत्काउँदा फत्काउँदा हैरान भइसके ? (एइया हातै दुख्यो भनेको ?) अब त उत्तरपन्थी चामल ल्याए पनि हुन्थ्यो’नी ।

छोराः भनेकै त हो’नी ? यो चामल नल्याउ भनेर ? मेरो कुरा कसैले सुनेन । नल्याउ भने पनि के गर्नु खानैपर्ने बाध्यता । नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउको अनुहार ? भनेझैँ परेन फसाद ? बुहारी: के गर्नु यी ध्याम्पे बुढाले कोशी, अरुण, गण्डकी, कालापानी, लिम्पियाधुरा, टनकपुरजस्तो महत्वपूर्ण स्रोतसाधन उहिले नै चामलसँग साटेका रे ! छोराः हो कुरा गरि’साध्य छैन ? यो मोदी भन्ने चामलको गोदाम खुल्नुभन्दा पहिले त झन् मुखकै भरमा कारोबार हुन्थ्यो ? अहिले त झन न्यु ब्राण्डका चामल आएका छन्, बजारमा ।

खाएपछि सर्वसाधारण जनतालाई झाडापखाला लाग्न थाल्छ । धम्की पनि सानो होइन ? केही गरो अथवा भनो कि हुलदंगा शुरु हुन्छ बा ! उपचार गर्नु त कता हो कता, उल्टै जीवनजल पानीमा मिसाएर बगाइदिँदा र’छन् । त्यतिमात्र कहाँ हो र ? यस्तो महामारीको बेला उपचार गर्न छाडेर हाम्रो छातीमा अलकत्र छर्कने कस्ता धर्मात्मा हुन् ।

हजुबाः नकराओ तिमेरु (गालीको भाषामा) ? सक्छौ भने झाडापखाला पचाएर देखाओ न त ? फुइलाउँदा र’छन् ठेट्नाहरु ? हामीले त माना घ्यू पचाएका हौँ । नाती: हजुरबा हजुरबा सवैले खाएपछि मेरो भागमा चाहिँ के पर्छ ? हजुरबाः नकरा पर जा । तेरो भागमा ? तेरो भागमा (अँ) कोरोना, बाढीपहिरो, बलात्कार, भेदभाव, घुसकोरी, कमिसनतन्त्र आदि इत्यादि, लजा ।

नातीः होइन हजुरबा मैले सुनेको त्यो सुगर मिल खाँदा एक एक लाक्रा उँखु खा’को भा’ सुगर लाग्दैनथ्यो । छालाजुुत्ता कारखाना खाँदा छाला निकालेर मासुमात्र खा ‘को भा’ हुन्थ्यो । चुरोटकारखाना खाँदा एउटा एउटामात्र चुरोट खाको भा हुन्थ्यो । फ्याक्टी नै खाएपछि क्यान्सर लाग्दैन त । अब हेटौडा सिमेन्ट कारखाना खाँदा शरीर कमजोर हुन्छ भनेर बुवाले भन्दा मान्नुभएन । अहिले शरीर कति कमजोर हुन थाल्यो ? भृकुटी कागज कारखाना गरी खाओ भनेर बनाइदिएको थियो ।

बाँस, पराल, लोक्ताजस्ता वस्तुको सदुपयोग हुने थियो । त्यो पनि बन्द भयो । कालापानी, महाकाली, अरुणजस्ता जलविद्युत्त योजना नखानुभन्दा मान्नुभएन अहिले हेर झाडापखाला लागेर अँध्यारोमा छेरेर मर्ने भइयो ? धन्न हात्तीजस्तै बलियो जन्तु कहाँबाट जन्मिएछ । नत्र तपाईंका पालामा झैँ टुकी बालेर बिताउनुपर्ने थियो । छि लाजमर्दो । हजुरबाः नकरा साला मेरा जिजुवाले खिँच्चडी नपका’को भा’ खाने थिस् ठूलो भाग ? हाँच्छिउ खाए बच्छिउ खाए तलाई झुसे बारुलो ? त्यो घर बनाउँदा एकापट्टि त्यत्रो निदाल एक्लै बोकेर ल्याएको पो हो त ! मामुली ठानेका छौ तिमीहरुले ? यत्रो घर त्यसै बनेको छ ? फुटानी लाउँदा रहेछन् मराहरु ।

छोराः हैन, यो हजुरबा नातिको गनथन लामै भो त ! सिद्धिएन ? उता माथिल्ला घरका दाईले उत्तरबाट नापेर तरुल निकालिसके ? राम्रा राम्रा लुगाफाटा पठाइसके, सीमानामा हाम्रो ढुङ्गाको तरुल चोरले चोर्दा चोर चिने पनि हामी हेरेका हेरै भयौ । उसले त तुरुन्त रामका सेनाले राम लेखेर लंकाको पुल बनाएर सीतालाई बचाएजस्तै सीमामा ती सेना तैनाथ छन् । तिमेरु चाहिँ गफ गरी बस ।

हजुरबाः गफ नगरेर के तलाई पुजा गरेर बसौ त ? छोराः सुन बा मलाई पुजासुजा केही पनि गर्नुपर्देन । बरु सुन उसले रेलमार्ग, सुरुङमार्ग, फास्टट्याकजस्ता विकासे योजनासमेत बनाइदिने भा’को छ ? (आ हा) ए खै त बा ! तपाई १५ वर्षसम्म कासीधाम जाँदा पुजारी र धुपौरेलाई सबैथोक बाँडेर आयौँ । मेलै आफ्नो गाउँ आफैँ बनाए, बुढा पाकालाई सम्मान गरे, तुइन विस्तापित गरे ।

त्यस्तै चिलिमे, अपरतामाकोसीजस्ता कामको सुरुवात् गरे । नेपाल आमा प्रसव पीडामा परेका बेला राष्ट्रियताको विषयमा दह्रो खुट्टा टेके । भूकम्पको बेला स्वयंसेवकमा खटे ? कोरोनाको डटेर सामना गरिरा’छु ? आफ्नो नक्सा तयार गरी सार्वजनिक गरे । राम नेपाली हुन् भनी प्रमाणित गरे ? नागरिकताको विषयमा दह्रो निर्णय लिए । भ्रष्टचारीलाई कारवाहीको दायरामा ल्याए ।

के यो चानचुने कुरा हो र ! आफूले काम बिगारेर सतचुर्न पारेको काम म सर्पादै छु ? अझ काम गर्न नदिने अनि काम गरेको नदेख्ने । काम गर्ने कालु मकै खाने भालु भनेझैँ दोष चाहिँ उल्टै मलाई ? अरु भाईहरु पनि छन् सोध्नु’नी ? बोल न है मरा हो । (भाइहरुतिर देखाउँदै) भाई १ः मेलै झन् त्यत्रो महाभारत नै रचे चानचुने कुरा हो ? त्यसैको परिणाम विभिन्न शक्ति उत्पादन भा’छन् ? नयाँ पुराना । विरोध नभाको भए एयरपोर्ट पनि उसकै व्यवस्थापनमा बनाइदिन्थे ।

भाई २ः वल्लो घरको भात खाएर पल्लो घरमा सुतेको बिर्सेउँ ? यस्तासँग नि के कुरा गर्नु ? भाइ ३ः अब दाइले सत्यनास गर्ने भो ! अब भान्सामा चामलको ब्राण्ड नफेरि भएन । प्रभु ? छोराः साला ! शत्रु खोज्न त टाढा जानु नै नपर्ने भो ! आफ्नै भाइहरु पो शत्रु रै’छन् । भो नकराओ तिमीहरुको फुई ? यो दक्षिणपन्थी चामल आएन भने तिम्रो पिसाव आउँछ कि आउँदैन ? खुव उत्तरपन्थी हुन खोजेका छौ ।

रेमिट्यान्सले देश चलेको थियो त्यो पनि बन्द भयो भने कंगाल नै हुन्छौ हामी । हजारौं हामीजस्ता युवाको खाडीमुलुकमा बिजोग छ । यता ती विचरा खेतमा काम गर्ने नैनसिंह थारु खेतमै मरे । पार्वती यादव दाइजो दिन नसकेर विवाह नै भएन, मैना चौधरीलाई बोक्सी भनी दिसा चटाइयो । रामचन्द्र पासवानलाई सिनो फालेन भनेर बहिष्कार गरियो । गाउँ नै उल्टिएर लखेटी लखेटी सानो जात भनेर नवराज बिकसहितलाई मारिन्छन् । पैसाको कारण श्रीमती मारिन्छन्, बच्चा फालिन्छन् ।

अनि ती मानिसहरु जेलमुक्त हुन्छन्, यी त प्रतिनिधि पात्रमात्र हुन् । हाम्रो न्याय प्रणालीमा । नियम, कानून बनाएरमात्र के गर्नु लागु हुन नसकेपछि । विश्व महामारीसँग लडिरहेको बेला हामी राष्ट्र र राष्ट्रियताप्रति वफादार भएर एक भएर लड्ने बेलामा तिमी नाथेहरुलाई पद चाहिएको ? हेर झगडा ? यी यावत् समस्या समाधान गर्न छाडेर खाली समस्या देखाएरमात्र हुन्छ ? भाई ३ः यी कुरा त हुन् तर हामीलाई हेपेको कुरा चाहिँ कस्ले बुझिदिने ? हामीलाई अन्याय भयो भन्ने कुरा कस्ले सुन्ने ? अब हाम्रा छोरीचेलीको विवाह हुन गाह्रो हुन्छ ।

यो पनि कुनै तरिका हो ? छोराः तिमीहरुलाई पद चाहिएको हो ? पद भएर नी समस्या समाधान गर्ने होइन समस्या खडा गर्न जन्मिएका हौ ? खुव पद्धतिको कुरा सिकाउँछौ मलाई र उल्टो आरोप लाउछौ ? हैन जन्मिँदै उल्टो जन्मिएका थियौ कि क्या हो ? हजुरबाः ल ल तिमीहरु सबैको कुरा सुने अब म हुञ्जेल यो सम्पत्तिको भोगचलन गर्ने अधिकार कसैको हुने छैन ? म रहुञ्जेल सुन्यौ तिमीहरुले ? बुहारी: ल ल खिँचडी पाको सबै जना खान आउनुहोला ।

अब विगतमा जे–जे गल्ती गरे पनि अब नगर्ने सहमति गरौँ । यो संकटलाई मिलेर सामना गरौँ । एकताको भावना विकास गरौँ । छोराः तपाईं हामी सबै एउटै परिवार हौ । यानीकी हामी नेपाली हौँ । यो संकटको बेला आरोपप्रत्यारोप गर्नुभन्दा पनि यसबाट मुक्त हुन यो वा त्यो नभनी राष्ट्रिय स्वाधीनता बचाउन एक हुनैपर्छ । विश्वमा फैलिएको महामारीलाई हामी सबैले डटेर सामना गरौँ । जय नेपाल ।

प्रतिक्रिया