‘तालिबानको रिहाई खतरा हो तर शान्तिको लागि आवश्यक छ’ – असरफ गनी

अफगान राष्ट्रपति असरफ गनी

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ गनीले तालिबानहरुको रिहाई खतरापूर्ण काम भएको भए पनि शान्तिका लागि भने यो कार्य आवश्यक रहेको बताएका छन्। अफगान सरकारले सरकारको जेलमा रहेका कम्तीमा पनि ४०० बाहेकका अरु तालिबानलाई जेलमुक्त गरेको छ। तालिबानीलाई जेलमुक्त गर्न उनले नै आदेश दिएका हुन्।

अफगानिस्तान सरकारले यसरी सरकारको जेलमा रहेका कम्तीमा पनि ४ हजार ६०० जति तालिबानलाई मुक्त गरिदिएको छ। तर पनि जेलमा रहेका अरु ४०० जना जति तालिबानलाई भने अफगानिस्तानको सरकारले रिहा नगर्ने जनाउँदै आएकोमा उनीहरुलाई पनि रिहाई गरिने जनाइएको छ।

यसरी तालिबानीहरु जेलमुक्त भइरहेकै बेला राष्ट्रपति गनीको यस्तो प्रतिक्रिया आएको हो। उनले शनिबार भनेका छन्, ‘तालिबानहरुलाई सरकारको जेलबाट मुक्त गर्ने काम खतरापूर्ण त हो तर पनि अफगानिस्तानको शान्तिका लागि भने यो आवश्यक काम हो।’

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबानी समूह र अफगानिस्तानको सरकारका प्रतिनिधिबीच भएको सम्झौतामा हाल अफगान जेलमा रहेका पाँच हजार जना तालिवानी लडाकूहरुलाई रिहा गर्नुपर्ने भन्ने छ।

यसै बमोजिम पछिल्लोपटकको रिहाईसँगै अफगान सरकारले चार हजार ६०० जना बन्दीलाई जेलमुक्त गरिदिएको जनाएको छ। तर पनि जघन्य प्रकृतिको हत्याका आरोपीहरुलाई सरकारले रिहा गर्न नहुनेभन्दै पश्चिमाहरुले प्रश्न गरेका छन्। – रासस/एएनआई

प्रतिक्रिया