मिता हजुर राजधानी आउनोस्

                 बलराम तिमल्सिना

डियर मिता
धेरै भयो भेट नभएको
हजुर त्यो बाटो हिडेपछि
कुनै चोकमा पनि भेट भएन
म आऊँ भने ठेगाना थाहा छैन
म त राजधानीमै पर्खिरहेछु
न्यास्रो लागिसक्यो धेरै
मिता हजुर राजधानी आउनुस् !
लड्नुपर्ने अनगिन्ति मोर्चा छन् एतै
मिल्नुपर्ने पनि थुप्रै साथी छन्
अलमलमा पनि थुप्रै साथी छन्
थुप्रै छन् हजुरसँग हिड्न चाहने
सङ्घर्षको अलिकति पाटो बदल्नुस्
हिड्ने अलिकति बाटो बदल्नुस्
तातो जोगाएर आउनोस्
रातो जोगाएर आउनोस्
मिता हजुर राजधानी आउनोस् !
जसलाई जुत्ताका माला
लगाउँदै हुनुहुन्छ तपाईं
तिनका मालिक पनि एतै छन्
सँगै लगाइदिउँला जुत्ताका माला
जसलाई मसो दल्दै हुनुहुन्छ तपाईं
तीभन्दा खराब झन् एतै छन्
सँगै दलौंला मसो मुखमा
कब्जा गर्नुपर्ने अड्डा एतै छन्
जलाउनुपर्ने ढड्डा एतै छन्
एतै छन् यो देशका एक नम्वरी ठगहरू
आउनोस माता सहरमै छाउनोस्
मिता हजुर राजधानी आउनोस् !
ठोक्नुपर्ने पनि एतै छन्
बोक्नुपर्ने पनि एतै छन्
रोक्नुपर्ने झोक्नुपर्ने सबै एतै छन्
यो पटक
दस्तावेजमा राजनीतिका
केही थपौं केही झिकौं
पहिले लेनिनबाट बढी सिकौं
उत्तर साम्राज्यवादसँग हैन
उत्तर साम्रावाद त साम्राज्यवाद नै होइन
साम्राज्यवादसँगै पहिले लडौं
सहर समथर सकौं पहिले
अनि त्यसपछि पहाड चढौं
‘जङ्ग हो यो जङ्ग’
‘माछी र पानी’
‘उडाइलाने बस’
सबै गीतहरू एतै गाउनोस्
मिता हजुर राजधानी आउनोस् !
टाउकैमा टेकौं र टाउकैमा हानौं
आधार इलाका सहरलाई ठानौं
सँगै जुलुस गरौंला
सँगै जेल जाउँला
गोली खानुपरे पनि सँगै खाउँला
मुक्तिका गीत सँगै गाउँला
क्रान्तिको ध्वजा सँगै उठाउँला
भर्ती खोलौंला सेना जुटाउँला
नरम नरम छोडेर बैरीलाई
भीर पहरा हिड्न छोड्नुस
कृपया मिता, विप्लव मिता
लक्ष नछोड्नुस् बाटो मोड्नुस्
गोलचक्करबाट मुक्ति पाउनोस्
मिता हजुर राजधानी आउनोस् !

प्रतिक्रिया