कर्तव्यनिष्ठ पत्रकारको रहस्यमय निधन

कर्तव्यनिष्ठ पत्रकार बलराम बानियाँको रहस्यमय निधन भएको छ । यही २६ साउन सोमबारदेखि बेपत्ता भएका बानियाँको शव बुधबार मकवानपुरको सिस्नेरीस्थित माण्डुजलविद्युत् आयोजनास्थलमा फेला परेको पुष्टि नेपाल प्रहरीले गरेको छ । उनी विगत अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रीय रूपमा क्रियाशिल थिए । खासगरी राजनीतिक तथा प्रशासनिक क्षेत्रबाट हुने गरेका भ्रष्टाचार र बेथितिका विरुद्ध उनले खोजपूर्ण रिपोर्टिङ गर्थे । उनको रिपोर्टिङले मुलुकलाई ठूलो योगदान त पु्र्याएको थियो नै, उनी कार्यरत मिडियाको शाख तथा आर्थिक उन्नतीमा पनि ठूलो योगदान पुगेको थियो । साँचो अर्थमा श्रमजीवी पत्रकारका रूपमा क्रियाशील बानियाँ श्रमजीवीका पक्षमा पनि क्रियाशील थिए । पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघका एक कार्यकाल केन्द्रीय सदस्य र एक कार्यकाल सचिव भएर काम गर्दा उनले श्रमजीवी पत्रकारका पक्षमा पुर्याएको योगदान स्तुत्य छ । पत्रकारिता क्षेत्रको मर्यादा र आफू कार्यरत संस्थाको उन्नतीमा लाग्नु नै श्रमजीवी पत्रकारहरूको मुख्य कर्तव्य रहेको सन्देशलाई उनले व्यवहारमा उतारेका पनि थिए । उनको यो जीवनशैली नयाँ पुस्ताका श्रमजीवी पत्रकारका लागि प्रेरणास्रोत बनेको थियो । नेपाल प्रहरीले आत्महत्या भएको प्रारम्भिक आ“कलन गरेको छ । तर, कल्पना नै नगरिएको यस्तो घटना कसरी हुन गयो ? गम्भीर रूपमा छानविन हुनु जरुरी छ ।

पत्रकार बानियाँको निधनका बारेमा जे जस्तो विवरण प्रहरीले सार्वजनिक गरेको छ, त्यसलाई आधार मानेर गहन अवसाद (कम्पल्सिभ् डिप्रेसन) का कारण आत्महत्या गरेको आशंका पनि गरिँदैछ । गम्भीर अनुसन्धान तथा छानविन नगरी उनको निधन कर्तव्य हो कि ? दुर्घटना या आत्महत्या हो ? यसै भन्न सकिने अवस्था छैन । यदि, आत्महत्या हो भने आत्महत्याका लागि प्रेरित गर्ने अवयवहरू के के थिए ? त्यसबारे पनि गम्भीर अनुसन्धान हुनु जरुरी छ । किनकी उनी चाकरी, चाप्लुसीको मामलाबाट धेरै टाढा थिए, समाचार बेच्ने, अस्वाभाविक आयतनमा फैलाउने वा दबाउने गलत अभ्यासबाट पनि कोसौँ टाढा थिए । यस्तो चरित्रको व्यक्तिले आत्महत्याको बाटो समान्यतया रोज्दैन । आर्थिक संकट भए बरु सादा जीवन रोज्छ ।

कर्तव्यनिष्ठ नेपाली पत्रकारका लागि आर्थिक संकट स्वभाविक प्रक्रिया हो । जति मितव्ययिता अपनाउँदा पनि परिवार पाल्न नसक्ने अवस्था आएकै कारण विगत दुई दशकको अवधिमा करिव तीन दर्जन पत्रकारले आत्महत्या गरिसकेको अवस्था छ । त्यही सूचीमा एउटा नाम थपिएको मात्रै हो भन्ने ढंगले राज्यले, पत्रकार महासंघले र उनी कार्यरत संस्थाले लिनु हुन्न । पत्रकारहरूको अस्वभाविक निधनको शृंखलाले मुलुकको पत्रकारिता जगतको प्रतिष्ठा गिराउ“दै लगेको छ । अब थप गिर्न कुनै हालतमा पनि दिनु हुँदैन । आफ्नो जीवनको करिव २५ वर्ष लामो ऊर्जावान समय उनले जुन संस्थामा व्यथित गरेका छन्, त्यो संस्थाले अब उनको टुहुरो परिवारप्रति के कस्तो दायित्व निर्वाह गर्छ ? त्यो हेर्न बाँकी छ । अब उनले लगाएको गुन तिर्ने पालो अथवा कर्तव्य हुन आएको छ, उनी कार्यरत संस्थाको । कर्तव्यनिष्ठ पत्रकारहरू दुर्दशाको सिकार भइरहने हो भने पत्रकारको आवरणमा चाटुकार तथा दलालहरू हावी हुन्छन् । जसले मिडिया उद्योगको प्रभावकारिता पनि खस्कन्छ । त्यसैले आममिडिया उद्यमीहरू पनि यो पाटोतर्फ गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया