डायन सर्वाधिक कमाउनेमा अक्षय छैटौं

न्युयोर्क । हलिउड अभिनेता तथा रेस्लर डायन जोनसन (द रक) लगातार दोस्रो वर्ष सर्वाधिक कमाइ गर्ने अभिनेताको सूचीमा पर्न सफल भएका छन् । विश्व चर्चित पत्रिका फोब्र्समा प्रकाशित समाचारमा सन् २०१९ को जुन १ देखि सन् २०२० को जुन १ सम्मको अवधिमा ८७.५ मिलियन अमेरिकी डलर कमाइसहित उनी सूचीको पहिलो नम्बरमा पर्न सफल भएका हुन् ।

यसमा नेटफ्लिक्सको थ्रिलर सिनेमा ‘रेड नोटिस’ का लागि लिएको २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक समेत समावेश रहेको जनाइएको छ । यस्तै उनले आफ्नो फिटनेस लुगाको ‘प्रोजेक्ट रक’ ब्रान्डबाट समेत राम्रो कमाइ गरेको समाचारमा उल्लेख छ ।

यसैगरी अभिनेता जोन्सनपछि सर्वाधिक धेरै कमाउने अभिनेताको सूचीमा ‘रेड नोटिस’ मा उनीसँगै काम गरेका अभिनेता रायन रेनल्ड्स रहेका छन् । उनले ७१.५ मिलियन अमेरिकी डलर कमाएको समाचारमा जनाइएको छ । सूचीको तेस्रो स्थानमा अभिनेता तथा निर्माता मार्क वाहबर्ग छन् ।

उनको कमाइ ५८ मिलियन डलर रहेको छ । चौथो सूचीमा बेन एफ्लेक छन् भने पाँचौमा भिन डिजेल छन् । सूचीको छैटौं स्थानमा बलिउड अभिनेता अक्षय कुमारको नाम रहेको छ । उनले ४८.५ मिलियन अमेरिकी डलर कमाएको फोब्र्स पत्रिकाले उल्लेख गरेको छ । अक्षयको कमाइको अधिकांश हिस्सा विज्ञापनमार्फत आएको हो ।

उनीहरूसँगै धेरै कमाउने अभिनेताको सूचीमा लिन–मानुयल मिरान्डा, विल स्मिथ, एडम सान्डलर र ज्याकी च्यान लगायतका कलाकार रहेका छन् । त्यस्तै, अभिनेत्रीको सूची भने सार्वजनिक गरिएको छैन । गत वर्ष अभिनेत्रीतर्फ भने ५६ मिलियन अमेरिकी डलर कमाइसहित स्कारलेट जोनसन सूचीको पहिलो नम्बरमा पर्न सफल भएकी थिइन् ।

प्रतिक्रिया