प्रेक्षितका समसामयिक हाइकु

काठमाडौं । साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ द्वारा लिखित हाइकु संग्रह ‘आरम्भ’ बजारमा आएको छ । मकालु प्रकाशन गृहले प्रकाशित गरेको यस संग्रहमा समसामयिक परिदृश्यलाई कलात्मक रुपमा उधिनिएको छ ।

डा. मधुसूदन गिरीले साहित्यकार ‘प्रेक्षित’ ले हाइकुमार्फत समाज, देश र विश्वका अनेकन पक्षलाई उत्खनन् गरेको बताएका छन् । उनले भूमिकामा लेखेका छन्, ‘संग्रहभित्र पस्दा यसभित्र आजको युग छ, जीवन छ, जीवनसँग सम्बन्धित उज्याला अध्ँयारा अनेक पाटाहरु भएको छन् ।

जीवन अर्थात् व्यक्तिको व्यष्टिरुप समाज छ, राष्ट्र छ, त्यसको सुन्दरता छ, कुरुपता छ, राष्ट्रिय÷देशीय प्रकृति छ र यिनसँग सम्बन्धित अनेक पक्ष र पाटाका बिम्बहरु छन् ।’ डा. गिरीले कवि प्रेक्षित बाहिरबाट हेर्दा स्वप्नभग्न नभएका एक उत्साही, साहसी र आशावादी व्यक्तिका रुपमा चिनिने स्रष्टा रहेको जिकिर गरेका छन् ।

उक्त संग्रहमा समासामयिक राजनीतिक व्यंग्यलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । त्यस्तै, समाजका विकृत रुपलाई व्यंग्यात्मक रुपमा चिरफार गर्दै कवि प्रेक्षितले शिक्षा क्षेत्रका अँध्यारा पाटालाई समेत बाँकी राखेका छैनन् । त्यस्तै, शिक्षकको नियत र नियतिका साथै लैंगिक विभेद र हिंसाका विषय समेत हाइकुमा समेटिएका छन् ।

जातीय विभेद र त्यसबाट उत्पन्न सामाजिक विकृत मनोविज्ञानलाई कवि प्रेक्षितले निकै आकर्षक रुपमा व्यंग्य कसेका छन् । युवाको सपना र वैदेशिक रोजगारी र त्यसको सामाजिक प्रभावलाई समेत संग्रहमा समेटिएको छ । समाजमा राजनीतिले निम्त्याएको निराशा र विकराल परिवेशलाई समेत हाइकुमार्फत कवि प्रेक्षितले चिरफार गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख रहेका प्रा. ‘प्रेक्षित’ नेपाल संस्कृत विश्वविद्यालयका पूर्वरजिस्ट्रार रहिसकेका छन् । भैरवी गाउँपालिका–३, लम्जी, (साविक बडलम्जी गाविस–६) दैलेखमा जन्मिएका साहित्यकार प्रेक्षितले प्राचीन न्यायवैशेषिक दर्शनशास्त्रमा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयबाट आचार्य (विश्वविद्यालय प्रथम) गरेका छन् ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए., बि.एड. गरेका ‘प्रेक्षित’ ‘न्यायदर्शनसम्मत शाब्दबोधप्रक्रियाको भाषावैज्ञानिक परिशीलन’ विषयमा विद्यावारिधि अनुसन्धानरत् छन् ।

उनका यसअघि ‘आकुञ्चन’ (संयुक्त कविता संग्रह, २०५०), ‘ज्वाला’ (खण्डकाव्य, २०५४), ‘कमिलाको एकता’ (बालकविता संग्रह, २०५९), ‘समयका छालहरू’ (कविता संग्रह, २०६०), ‘हिमाल हेर्न जाऔँ’ (बालकविता संग्रह, २०६५), ‘सेता हाँस र मुसाहरू’ (सचित्र बालकथा, २०६६), ‘म, माटो र मुटु’ (कविता संग्रह, २०७५), ‘आरम्भ’ (हाइकु संग्रह, २०७५), त्यसैगरी समालोचनातर्फ केही कृति, केही प्रवृत्ति–२०७५, केही आलोचनात्मक भूमिका–२०७५, साहित्यकार श्यामप्रसादः संक्षिप्त परिचय (जीवनी पुस्तिका–२०७३), साहित्यकार श्यामलको संक्षिप्त जीवनवृत्त–(जीवनी पुस्तिका–२०७४) प्रकाशित छन् ।

त्यस्तै, अनुसन्धानतर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका गौरवमय साठी वर्ष (अनुसन्धान–२०७४), दैलेख लम्जीको कश्यपगोत्रीय पाण्डेय वंश र ज्यो.पं.हरिप्रसाद उपाध्याय (अनुसन्धान–२०७५) तथा अनुवादतर्फ माक्र्सवादको मूलभूत सिद्धान्त— २०५९, माक्र्सवादको रूपरेखा—२०६४, तर्कामृतम् (विशेष टिप्पणी र व्याख्यासहित)–२०६७ प्रकाशित छन् ।

प्रतिक्रिया