मृत्य संस्कारमा सजगता जरुरी

सिंगो सिन्धुपाल्चोक जिल्ला यतिबेला त्रस्त बनेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिताको मृत्यु भएको ६ दिन पछि कोरोना संक्रमण पुष्टि भएका कारण सिंगो सिन्धुपाल्चोक जिल्ला यतिबेला त्रस्त बनेको हो । मृतकको शबयात्रा तथा दाह संस्कारमा भाग लिन जिल्लाका कुना काप्चा बाट गाडी रिजर्भ गरेर मान्छे ओसारिएको थियो । दाह संस्कार तथा शबयात्रामा कति सहभागी थिए भन्ने एकीन नभए पनि उपस्थिति पुस्तिकामा १५ सयको नाम र ठेगाना छ । आधा भन्दा बढीले उपस्थिति पुस्तिकामा हाजिरी नजनाएका कारण पहिचान खुल्न सकेको छैन । उपस्थिति पुस्तिकामा नाम ठेगाना भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर परीक्षण आरम्भ गरिएको छ । पुस्तिकामा नाम ठेगाना नभएकाहरुको हकमा पिसिआर परीक्षका लागि तत्काल उपस्थित हुन र क्वारेन्टाइनमा बस्न बाह्रविसे नगरपालिकाले आग्रह गरेको छ । मलामीहरुको संख्या धेरै ठुलो भएका कारण पिसिआर परीक्षणका लागि समय लाग्ने देखिएको छ । करिव ३ हजार मलामीहरुले ६ दिनको यो अवधीमा कति जना सँग बसउठ गरे होलान ? भन्ने प्रश्नको उत्तर आँफैमा कहाली लाग्दो छ ।

सिन्धुपाल्चोकको यो घटना राज्य संयन्त्रमा रहनेहरु तथा पहुँचवालाहरुले गरेको धेरै ठूलो लापरवाही हो । यो लपरवाहीको दोष एक अर्कालाई दिएर आँफु पानी माथि ओभानो बन्ने प्रयास सरकारी संयन्त्र र नेता बस्नेत दुवैबाट भएको देखिएको छ । बास्तवमा यो घटनामा दुवै पक्ष उत्तिकै दोषी छन् । पिसिआर परीक्षणको रिपोर्ट आउन धेरै दिन लाग्नु , रिपोर्ट नआउँदै दाहसंस्कारका लागि शब हस्तान्तरण गर्नु सरकारी संयन्त्रको हदैसम्मको लापरवाही हो । सबै बिरामीको परीक्षण रिपोर्ट आउन समय लागेका कारण पुर्वमन्त्रीका पिताको पनि समय लागेको सरकारी संयन्त्रको दावी छ । परीक्षणको रिपोर्ट नआउँदै जवरजस्ती शब लगेको दावी पनि त्रिवि शिक्षण अस्पताल स्रोतको छ । यदी यो सत्य हो भने सरकारी संयन्त्रको लापरवाही यहीँ निर भएको हो । मृतक पुर्वमन्त्री तथा पहुँचवाला नेताका पिता भएका कारण मलामीहरु धेरै हुनसक्छन् भन्ने हेक्का सरकारी संयन्त्रले राख्न सक्नु पथ्र्यो । नेपाली समाजमा जन्ती र मलामीको संख्या धेरै बनाउँदा आफ्नो प्रतिष्ठा बढ्ने भ्रम छ । त्यस माथि पनि पुर्वमन्त्री बस्नेतले राणाकी छोरी बिवाह गरेपछि आँफूलाई ‘काजी’ को दर्जमा स्तरोन्नती गरेका छन् । त्यसकारण पनि उनले धेरै मलामी जुटाउन प्रयत्तन गर्नेछन् भन्ने हेक्का राखिएन । अर्को कुरा पहुँचवालाको चाकडीकै लागि पनि मलामी जाने परम्परा नेपाली समाजमा छ । यसै गरी पटक पटक मन्त्री भइसकेको नेताले अहिलेको अवस्थामा बाबुको अन्तेष्टिमा तामझामको लोभ गर्न जरुरी थिएन । २५ जना भन्दा धेरै जमघट नगराउने नियम सरकारले बनाएकै थियो । सरकारको यो नियमलाई उल्लंघन गर्नु कुनै बहादुरी होइन , बरु अपराध हो भन्ने कुराको हेक्का मन्त्री बस्नेतले राख्नु पथ्र्यो ।

जे नहुनु पर्ने थियो , त्यो भइसकेको छ । यो घटनामा दोषी को हो ? छानविन गरी कारवाहीको दायरामा ल्याउनु बाहेक अर्को विकल्प भनेको यो घटनाबाट पाठ सिकेर थप सजगता अपनाउनु मात्रै हो । पहुँचवाला तथा तिनका आफन्तहरु संक्रमित हुने र मृत्यु हुने क्रम ह्वात्तै बढेको छ । हाम्रो मुलुकमा चाकडी परम्परा हावी छ । त्यसैले बिरामी भेट्न जानेहरुको ताँती लाग्न सक्छ । मलामीहरुको पनि ताँती लाग्न सक्छ । सिन्धुपाल्चोकको घटना त सुरुवात मात्रै हो । चाहे जति सुकै ‘भिआइपी’ बिरामी किन नहोस् , वा उसको मृत्यु भएको किन नहोस् , मलामीको संख्या नियन्त्रणमा राज्यले बल प्रयोग गर्नै पर्छ । अब कोरोना परीक्षण गरेर साध्य नै नचल्ने स्थिति आई सकेको छ । त्यसैले जसको मृत्य भए पनि सुरक्षित ढंगले शब व्यवस्थापन गर्नु नै मुलुकको हितमा छ ।

प्रतिक्रिया