एकसाताका लागि धादिङमा निषेधाज्ञा

धादिङ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय धादिङले निषेधाज्ञा जारी गरेको छ ।

२८ साउनबा लागू हुनेगरी ३ भदौसम्मका लागि जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न होटल सञ्चालक, प्रहरी प्रमुख, रेडक्रसका कर्मचारी समेतलाई कोराना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

बुधबार धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले जिल्ला सदरमुकाम प्रवेश गर्ने मुख्य नाकास्थित कालुपाण्डे राजमार्गको फुर्केखोलादेखि धादिङबेँसी तथा नीलकण्ठ नगरपालिका–२, ३, ४, ७, ८, १२ र १४ वडाका क्षेत्रहरूमा बुधबार राती १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

निषेधाज्ञा जारी भएसँगै जिल्लामा अत्यावश्यक बाहेकका सबै यातायात पूर्णरूपमा बन्द गराउने, त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्ला भित्रपर्ने क्षेत्रमा होटल, बैंक तथा वित्तीय संस्था र जिल्ला भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरिएको धादिङ प्रशाशनले जनाएको छ ।

त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको कन्ट्रयाक टे«सिङ गर्नसमेत सम्बन्धित स्थानीय तहमा गठित अष्तत लाई सक्रिय बनाउने, आवश्यकताअनुसार अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधि तथा राजनीतिक दलको सहयोग लिनेसमेत बैठकले निर्णय गरेको छ ।

त्यस्तै पिसिआरका लागि नमुना संकलन गर्न आवश्यक पर्ने भिटिएम स्वास्थ्य कार्यालयले उपलब्ध गराउने, कोभिड व्यवस्थापनका लागि आवश्यक पर्ने भिटिएम, पिपिई, जनशक्ति लगायतका सामानहरू संघ र प्रदेश सरकारसँग माग्ने, सम्बन्धित गाउँपालिकाका एम्बुलेन्सलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्नेसमेत बैठकले निर्णय गरेको छ । जिल्ला अस्पताललाई चौबिसै घण्टामा तयारी अवस्थामा राखी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनसमेत जिल्ला अस्पताल धादिङलाई निर्देशन दिएको छ ।

बैठकमा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

हालसम्म धादिङमा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ भने धादिङ घर भएका एक जनाको काठमाडौंस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको छ ।

प्रतिक्रिया