लामोसाँघु–चरिकोट सडक चार वर्षदेखि अलपत्र

दोलखा । जिल्लाको लाइफलाइन मानिने काठमाडौंसँग जोड्ने छोटो दुरीको लामोसाँघु–जिरी सडक अहिले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकका रूपमा परिणत भएको छ । सडक समयमा नबन्दा दोलखावासीको यात्रा मात्र लम्बिएको मात्रै छैन, महँगी र सास्ती पनि बर्सेनि दोहोरिने गरेको छ ।

सडकको अवस्था हेर्दा खेतमा रोपाइँ गर्न गएकोजस्तो देखिन्छ । यात्राको करिब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरू । अर्थात् यात्रुलाई गाडीले होइन कि यात्रुले गाडीलाई धकेलेरै भए पनि गन्तव्यसम्म पु¥याउँछन् ।

दुई वर्षमा सक्नेगरी सडक विभागले ०७२ कात्तिकमा सम्झौता गरेर ठेक्कामा लगाएको पहिलो सडक खण्डको काम अहिले करिब अन्तिम चरणमा पुग्दा सोही वर्षको चैतमा सम्झौता भएको दोस्रो प्याकेजको काम अझै अलपत्र छ ।

जिरी–लामोसाँघु सडक खण्डमा खाडीचौरदेखि मुढे २५ किलोमिटरको पहिलो प्याकेज ५० करोड ७२ लाख ३६ हजार ४ सय ५८ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्म २५ किलोमिटर सडक खण्ड मध्ये सुनौला खिम्ती र गौरी पार्वतीको जिम्मामा ५० र भारतीय ठेकेदार कम्पनी सीमाञ्चलको जिम्मामा ५० प्रतिशत कामको जिम्मेवारी भए पनि गौरीपार्वतीले काम सुरु गरेको डेढ वर्षमा काम अन्तिम चरणमा पु¥याएको छ ।

दोस्रो प्याकेजका रूपमा ठेक्का लगाइएको मुढेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडकले भने अहिले पनि उस्तै सास्ती दिइरहेको छ । सो प्याकेजको मुढेदेखि चरिकोटसम्म ३० किलोमिटर सडक भारतीय कम्पनी सकिल हैदरको ५० प्रतिशत र नेपाली कम्पनी शंकर माली र सुनौला खिम्तीको २५÷२५ प्रतिशत जिम्मेबारी रहने यो सडक खण्डको ठेक्का सम्झौता ०७२ चैतमा भएको थियो । ८० करोडको यो ठेक्काको समय तीनपटक थपिँदासमेत कामको अवस्था उस्तै छ । ठेकेदार पक्षले समयमा काम नगरे बापत हर्जना मात्रै आठ करोड तिरिसकेको छ । शंकर मालीले सुरुबाट नै यो सडक खण्डको काम गरेको भए पनि कुनै सुधार देखिएको छैन ।

मुढे–चरिकोट मात्र होइन जिल्लामा निर्माण गरिएका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका कारण पनि हल्का वर्षासँगै बिग्रने गरेका छन् । ग्रामीण सडकमा पर्याप्त यातायातका साधन सञ्चालन नहुँदा यहाँ उत्पादन हुने फलफूल तथा तरकारी र अन्य कृषिजन्य वस्तु पनि बजारसम्म ल्याउन नसक्दा किसान मर्कामा परेका छन् । बजारसम्म लैजाने साधन नहुँदा किसानले फलाएका साग तरकारी बारीमै कुहिने अवस्था रहेको छ ।

खराब सडकका कारण जिल्लाभित्र चल्ने गाडी सञ्चालकले यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेका छन् स्थानीय तहका केन्द्र वा जिल्ला सदरमुकामसम्म यात्रा गर्दा अवस्था हेरेर एक हजारसम्म भाडा तिर्नु परेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया