पाण्डेयको कानूनी पुस्तक विमोचित

काठमाडौं । सर्वोच्च अदालतका उपरजिष्ट्रार विष्णुप्रसाद पाण्डेयद्वारा लिखित ‘मुलुकी अपराध संहिताः एक टिप्पणी’ पुस्तक बजारमा आएको छ । मुलुकी फौजदारी संहितालाई सरलीकृत गरी अभ्यासमा सहज बनाउन विश्लेषणसहित पुस्तक आएको कार्यक्रममा वक्ताले बताए । सर्वोच्च अदालतमा सोमबार आयोजित कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले उक्त पुस्तक सार्वजनिक गर्दै सहज रुपमा मुलुकी अपराध संहिता आएको बताए ।

उनले फौजदारी कसुरसम्बन्धी परम्परागत कानूनलाई आवश्यक परिमार्जन र संशोधनसहित विश्वव्यापीरूपमा देखापरेका नयाँ प्रकृतिका कसुरहरूलाई अपराधीकरण गरी संहिताबद्ध कानूनको रूपमा जारी मुलुकी अपराध संहिताको टिप्पणीसहित उल्लेख भएको महत्वपूर्ण पुस्तक भएको जिकिर गरे । उनले भने, ‘विश्वव्यापीकरणका कारण एक राष्ट्रको गतिविधि तथा क्रियाकलापले अर्को राष्ट्रलाई असर पर्ने भएकाले समाज, राष्ट्र र अन्तर्राष्ट्रिय परिवेशले पनि राष्ट्रको कानूनमा समायानुकूल परिवर्तनको अपरिहार्यता ल्याउने आशा गर्न सकिन्छ ।’

कार्यक्रममा नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले फौजदारी संहिताको सैद्धान्तिक विषय, संहिताको व्यवस्था, संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास र सर्वोच्च अदालतले गरेको व्याख्यासम्म उल्लेख भएकाले कानून बुझ्न चाहनेका लागि पुस्तक उपयोगी रहेको बताए । उनले भने, ‘पुस्तक कानूनी भाषालाई सरलीकृत गरी टिप्पणी गरिएकाले सर्वसाधारणलाई समेत कानून बुझ्न सहज हुनेछ ।’

त्यस्तै, अधिवक्ता डा दीनमणि पोखरेलले मुलुकी फौजदारी संहिताको अवधारणा, व्यवस्था र व्याख्यासहितको पुस्तक प्रकाशन भएकाले कानून व्यवसायीका लागि अत्यन्तै उपयोगी रहेको बताए । उनले भने, ‘फौजदारी कानूनमा अन्तर्राष्ट्रिय अभ्याससमेत उल्लेख भएकाले पुस्तकले फौजदारी कानूनको समग्र पक्षलाई बुझाउन सक्ने विश्वास गर्न सकिन्छ ।’

पुस्तकमा अन्तर्राष्ट्रियस्तरमा भएका विभिन्न महासन्धिको पक्ष भई नेपालका लागि सिर्जना भएको कार्यान्वयनको दायित्व, सर्वोच्च न्यायालयले विगतका घटना, मुद्दाका आधारमा दिएको भविष्यपरक दृष्टिकोण तथा समाजको विकाससँगै देखापरेका नयाँ घटना तथा गतिविधिलाई अपराधको रूपमा परिभाषित गरी सजायको प्रबन्धजस्ता कुराहरू उल्लेख गरिएको छ ।

प्रतिक्रिया