रुसमा बनेको कोरोनाको खोपले पायो स्वीकृति

मस्को । रुसमा बनेको कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको खोपले देशमा स्वीकृति पाएको छ। राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार गामेलिया इन्स्टिट्युटले बनाएको खोपले देशमा स्वीकृति पाएको बताउँदै रुसले बनाएको खोप विश्वमै पहिलो भएको बताए।

सीएनएनका अनुसार आफ्ना मन्त्रीहरुसँग डिजिटलकन्फ्रेन्स मार्फत पुटिनले रुसले बनाएको खोपले सम्पूर्ण परीक्षण पार गरेको र यो कोरोना संक्रमितका लागि उपयुक्त खोप भएको बताएका थिए।

पुटिनले भने,‘विश्वमै कोभिड १९ विरुद्धको खोप पहिलोपटक दर्ता भएको छ। मलाई थाहा छ यसले प्रभावकारी काम गर्नेछ।’ पुटिलने सो क्रममा आफ्नी एक छोरीमा पनि गामेलिया इन्स्टिट्युटले बनाएको खोप प्रयोग गरेको जानकारी दिएका छन्।

हालै मात्र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले पनि आफूले रुसले विकास गरेको कोरोनाको खोप लगाउने बताएका थिए। रुसले कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेपनि उसले कसैलाई यसको वैज्ञानिक आधार पेश गरेको छैन। विश्व स्वास्थ्य संगठन डब्लूएचओले पनि रुसको खोपमा शंका गरेको छ।

प्रतिक्रिया