ह्वाइट हाउस अघिल्तिर गोली चल्यो

वासिङ्टन । ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको समयमा उक्त घटना भएको थियो । अधिकारीहरुले पत्रकार सम्मेलनकै बीचमा राष्ट्रपति ट्रम्पलाई घटनाका बारेमा जानकारी गराएका थिए ।

अमेरिकी गुप्तचर सेवाका प्रमुख टम सुलिभानले ह्वाइट हाउस परिसर सुरक्षित रहेको र कसैबाट खतरा नरहेको बताए । सुलिभानले गोली लागेका व्यक्तिले आफूसँग हतियार रहेको दाबी गरेको बताए । नाम थर नखुलाइएका ती ५१ वर्षीय पुरुषले गुप्तचर सेवाका अधिकृतमाथि एक्कासी जाइलागेको पनि सुलिभानले बताए ।

कानुन कार्यान्वयन अधिकारीहरुले ती व्यक्तिको उद्देश्य पहिल्याउने प्रयास गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित विवरण सार्वजनिक गर्नै लाग्दा अमेरिकी सिक्रेट सर्भिसका एजेन्टले ट्रम्पलाई ब्रिफिङ कक्षबाट भित्र लगेका थिए । राष्ट्रपति ट्रम्प ९ मिनेटपछि पुनः ब्रिफिङ कक्षमा प्रवेश गरेका थिए । उनले ह्वाइट हाउस बाहिर गोली चलेको र त्यो नियन्त्रणमा आइसकेको जानकारी दिएका थिए ।

ट्रम्पले भने, ‘त्यहाँ साँच्चिकै गोली चलेको र एक व्यक्तिलाई अस्पताल लगिएको छ ।’ ट्रम्पले एजेन्टले आफूलाई ओभल अफिसमा लगेको जानकारी पनि दिए । उक्त घटनापछि ह्वाइट हाउसलाई लकडाउन गरिएको थियो । सोमबार साँझ सुलिभानले जारी गरेको एक वक्तव्यमा गोलीकाण्ड स्थानीय समयअनुसार साँझ ६ बजे भएको उल्लेख छ । – रासस-एपी

प्रतिक्रिया