सन्तानलाई संसार देखाउँदै, ज्यान गुमाउँदै

बच्चा जन्माएर परिवारमा खुसी दिने, बुढेसकालको सहारादेखि नयाँ सदस्यले कुल चलाउने महान सपना बोकेर प्रसव पीडाको बीचबाट जन्मिएको खुसी जुनीचाँदे गाउँपालिका–२ सिंहपुरी र बारेकोट गाउँपालिका–७ की २१ वर्षीया मनकुमारी परियारको ज्यान गयो । न उनले खुसी देख्न पाइन् । न परिवाले अनुभूति गर्न पाए

महिना दिन नपुग्दै जाजरकोटमा तीन सुत्करी, च्याउ खाएर पाँच र पहिरोमा परी १४ जनाको मृत्यु भयो । उनीहरूको मृत्यु पायकपर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा नै भएको देखिन्छ । अधिकांशको मृत्यु स्वास्थ्य संस्थाभन्दा औषधि पसलमा उपचारका लागि लैजाने क्रममा भएको देखिएको छ । यस्तो हरेक वर्षजस्तै भइरहन्छ ।

वर्षायामको हिलो र भत्किएका बाटोमा असहजताको बीचमा ज्यान बचाउने अनेक जुक्ति निकाल्दा पनि उनीहरू मृत्युको मुखमा परेका हुन् । मानिसको जीवनमा जन्म हुँदा जती खुसियाली छाउँछ, उत्तिकै पीडा मृत्युमा हुन्छ । बच्चा जन्माएर परिवारमा खुसी दिने, बुढेसकालको सहारादेखि नयाँ सदस्यले कुल चलाउने महान सपना बोकेर प्रसव पीडाको बीचबाट जन्मिएको खुसी जुनीचाँदे गाउँपालिका–२ सिंहपुरी र बारेकोट गाउँपालिका–७ की २१ वर्षीया मनकुमारी परियारको ज्यान गयो । न उनले खुसी देख्न पाइन् । न परिवाले अनुभूति गर्न पाए ।

त्यस्तै साउन २२ गते कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको उपचार नै नपाएर ज्यान गयो । उनले जन्माएको छोराको स्वास्थ्य अवस्था राम्रो भए पनि आमाको ज्यान भने बचाउन सकिएन । दुई छोरीकी आमा छोराको आशमा तेस्रोपटक गर्भवती भएकी थिइन । त्यस्तै विषालु च्याउ खाँदा जुनीचाँदे गाउँपालिका स्याक्रीका पाँच जनाको ज्यान गएको साता गएको छ । उनीहरूको पनि समयमै उपचार नपाएका कारण मृत्यु भएको हो । स्थानीय औषधि पसलमा उपचार गरेर दुई दिनपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकोप्टरमार्फत ल्याउँदा उनीहरूको ज्यान गएको हो ।

अन्य दुई जनाको उपचार कार्य जारी रहेको छ । त्यस्तै कुशे गाउँपालिका–६ भार्म भिरबाट साउन ८ गते लडेर कुशे–४ ताँगाचौरका ५४ वर्षीय सार्की दमाईको मृत्यु भयो । सोही ठाउँका ४५ वर्षीय नैने दमाई गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उद्धार गरी कोहलपुर मेडिकल कलेजमा उनको उपचार कार्य जारी छ । बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोमा परी १४ जनाले ज्यान गुमाए । एक अझै बेपत्ता छन् । घाइतेको दुई दिनपछि मात्र उद्धार गरिएको थियो । मौसम खराब भएको भन्दै उद्धारमा ढिला भएको थियो । एकातिर दुर्गम ठाउँ अर्कोतर्फ वर्षातको समय समस्या नै समस्या भोग्छन् यहाँका जनता ।

यसै गरी साउन २१ गते नै डोल्पामा रहेको मामाघर जान हिँडेकी बारेकोट गाउँपालिका–९ सक्लाकी २२ वर्षीया टीका बिसीलाई नलगाड नगरपालिका–५ गेडेनीमा ढुंगा लाग्दा घाइते भएकीे थिइन् । घाइते बिसीलाई बारेकोट गाउँपालिकाको २ लाख ७५ हजार रुपैयाँको सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा पठायो । पहुँचमा स्वास्थ्य संस्था नहुनु र जहाँ त्यही कानुन मिचेर स्थापना गरिएका औषधि पसलको उपचारले मानिसको ज्यान नबच्दा मानवीय भारी क्षति हुँदै आएको छ ।

घरमै सुत्केरी हुने, आपत् परे स्वास्थ्य संस्था आउँदा मृत्यु
घर नजिक स्वास्थ्य संस्था, सञ्चार र सडकको सहज पहुँच नभएको हाम्रोजस्तो जिल्लामा सुत्केरीको ज्यान बढी गएको देखिन्छ । गर्भजाँचदेखि सुत्केरीसम्म घरमै हुँदा अकालमै ज्यान जानेको संख्या बढेको हो । विगतकै जस्तो परम्परावादी उपचार विधि प्रयोग गर्दा उपचारमा खेलाँची भई ज्यान जाने गरेको पाइन्छ । यसका लागि गाउँमा रहेका धामी र वैद्य काम गर्ने महिलालाई स्वास्थ्यसम्बन्धी तालिम दिन जरुरी देखिएको छ । कतिपय अन्तिम समयसम्म धामी र झाक्रीको भर परेर आफन्त गुमाउँदै आएका छन् ।

औषधि बिक्री गर्न बसेका औषधि व्यापारी डाक्टर हुँदा उपचार पद्धति नमिल्दा धेरैको अकालमै ज्यान जाने गरेको छ । स्वास्थ्य संस्थाभन्दा औषधि पसलको विश्वास मान्ने हाम्रो चेतनाका कारण धेरैको अकालमै ज्यान गएको छ । गाउँका स्वास्थ्य संस्थाले आफ्नो विश्वास आर्जनका लागि भारी मिहिनेत गर्नुपर्ने देखिन्छ । यसलाई बेलैमा सुधार गर्न सकिएन भने यस्ता क्षति अझै बेहोर्नुपर्ने हुनसक्छ ।

चनाखालाई हेलिकोप्टर, कमजोरको मृत्यु
जाजरकोटमा अहिलेसम्म उद्धार भएका सबै पहुँच र चनाखो व्यक्ति रहेका छन् । जसले नेता, कर्मचारी र प्रहरीको सजिलै पहुँचमा जान सक्छ, उसको मात्र ज्यान बचेको देखिन्छ । आफ्ना आवाज कसैसँग पु¥याउन नसक्ने सर्वसाधारणको अकालमै मृत्यु हुने गरेको जुनीचाँदे गाउँपालिका–४ का रेशम खड्काले बताए ।

‘जहाँ बर्सेवन च्याउ भनेर विष खाइन्छ’
घाँस काट्न जंगल गएको बेला कुशे गाउँपालिका–१ स्याक्री, जाजरकोटका टेकबहादुर चलाउनले मुढे च्याउ टिपेर ल्याए । साँझ तरकारीको रूपमा पकाएर खाए तर, उनको जीवनमा च्याउको मूल्य यति महँगो भयो कि, छोरा–छोरी र नातिनी गरी पाँच जनालाई गुमाउनुप¥यो । उनी आफैँ पनि अस्पतालको श्ययामा मृत्युसँग संघर्ष गरिरहेका छन् ।

असार ९ गते राती टिपेर ल्याएको च्याउ खाँदा २३ वर्षीय छोरा ललित, छोरीहरू १६ वर्षीया औसरा र १३ वर्षीया धनसरा तथा नातिनीहरू ११ वर्षीया निरुता सिंह (भाइकी नातिनी) र दुई वर्षीया अञ्जनाको मृत्यु भयो । उनीसहित बुहारी कल्पना र भतिजी पशुपतिको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । ‘हेर्दै खाउँखाउँ लागेर वनबाट टिपेर ल्याएँ, त्यो त के को च्याउ हुनु, बिख पो रहेछ,’ अस्पतालको बेडमा रहेका टेकबहादुरले भने, ‘राम्ररी नचिनेको चिज खाँदा अहिले यस्तो अवस्थामा पुग्नुप¥यो ।’ अहिले उनी आइसियुमै रहेर उपचार गरी रहेका छन् ।

५५ वर्षीय टेकबहादुर परिवारका मूली हुन् । पत्नीले पहिल्यैदेखि ज्वरो आएर बिरामी भएकीले च्याउ खाइनन् । कान्छो छोरा–बुहारी माइतीमा र जेठो छोरा घरबाहिर रहेकाले उनीहरू पनि च्याउ खानबाट जोगिए । घरमा रहेका टेकबहादुरसहित अन्य आठ सदस्यले भने च्याउ खाए । च्याउ खाएको भोलिपल्ट (शनिबार) बिहानैदेखि पेट दुख्ने, पैतलाको माथिल्लो भाग र आँखा सुन्निने तथा स्वास फेर्न अप्ठेरो हुनेजस्ता लक्षण देखिए । च्याउ खाएका सबैमा यस्ता लक्षण देखिएपछि टेकबहादुरलाई विषालु च्याउ रहेछ भन्ने लाग्यो ।

त्यसैले हतारहतार छिमेकीको सहयोगमा उनीहरू गाउँकै बाटुलेचौरस्थित मेडिकलमा पुगे । उपचारको क्रममै आइतबार दुई वर्षीया नातिनी अञ्जनाको मृत्यु भयो । अन्यको अवस्था पनि गम्भीर बन्दै गएपछि गाउँपालिकाको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरमा सात जनालाई सुर्खेत ल्याइयो । तैपनि सबैको ज्यान जोगिएन । अगिल्लो साता सोमबार राती छोरी औसरा, मंगलबार दिउँसो छोरी धनसरा तथा नातिनी निरुता र शनिबार बिहान छोरा ललितको मुत्यु भयो ।

विषालु च्याउ खाएर मृत्यु हुने पाँच
अहिले अस्पतालमा टेकबहादुरसहित ३३ वर्षीया बुहारी कल्पना र १५ वर्षीया भतिजी पशुपति उपचाररत छन् । अस्पतालका अनुसार उनीहरूको अवस्था पनि अस्थिर छ । अस्पतालका मेडिकल विभाग प्रमुख डा. केएन पौडेलले बिरामीलाई बेलाबेलामा बेस्सरी च्याप्ने गरेको र कतिबेला के हुने हो भन्नै नसकिने बताएका छन् ।

प्रतिक्रिया