अनलाइन किनमेलको रमाइलो इतिहास

विश्वभर कोभिड–१९ पछि वृद्धि भएको अनलाइन किनमेललाई हेर्ने हो भने सम्भवतः त्यो संख्या पहिलेभन्दा एकदमै धेरै छ । खानेकुरा, किताब, सौन्दर्य सामग्री र केटाकेटीहरूका खेल्ने कुराहरू यो महामारीको समयमा अनलाइनबाटै हामीहरूको घरको ढोकासम्म आइपुग्यो ।

दशकौँदेखि अनलाइनबाट खरिद बिक्री गर्ने अभ्यास रहे पनि महामारीले हाम्रो किनमेल गर्ने व्यवहारलाई परिवर्तन गरेको छ । त्यसैले अनलाइन किनमेल अहिले मूलधारमा आएको छ । अहिले उसैले बजार कब्जा गर्ने अवस्थामा पुग्दै छ । यो मान्छेलाई सजिलो र आरमको किनमेलको माध्यम पनि बन्दै गएको छ ।

एमेजन कम्पनी सन् १९९० को दशकको मध्यदेखि अस्तित्वमा रहे पनि सन् २०१० सम्म अमेरिकामा अनलाइन किनमेलले खुद्रा व्यापारको ६ प्रतिशत हिस्सा मात्रै ओगट्ने गरेको थियो । सन् २००६ मा युकेमा किनमेलको तीन प्रतिशत अनलाइनमा आधारित थियो र त्यो सन् २०२० मा १९ प्रतिशत पुगेको थियो । महामारीपछि अप्रिल महिनामा त्यो बढेर ३० प्रतिशत पुगेको छ ।

अमेरिकामा नै अनलाइन बिक्री सन् २०१९ को तुलनामा ३१ प्रतिशतले बढेको छ । यो नयाँ बजारका रूपमा उदाइरहेका देशहरूमा एउटा क्रान्ति जस्तै भइरहेको छ । अझै नयाँ पुस्ताका लागि यो रुचिकर बन्दै गएको छ । कतिले आवश्यकता त कतिले रहरले यस्लाई अंगिकार गर्दे आएका छन् ।

बोस्टन कन्सल्टिङ ग्रुपका अनुसार नयाँ बजारका रूपमा उदाइरहेका देशहरूमा सन् २०२२ सम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या तीन अर्ब पुग्नेछ जुन विकसित देशभन्दा तीन गुणा बढी हो । चीनमा पाँचमध्ये एउटा खुद्रा कारोबार अनलाइनमार्फत् हुने गर्छ जुन यूके, अमेरिका, जर्मनी र फ्रान्सभन्दा बढी हो । यसले पनि अनलाइन बजारको विकास र विस्तार कसरी भइरहेको छ भन्ने प्रष्ट पार्छ ।

मानिसहरूले इन्टरनेटमा सामान हेर्ने तर बजारमा नै गएर किन्ने अनलाइन प्रभावको पनि ठूलो हिस्सा छ । कोभिड–१९ को महामारीअघि हाम्रो दैनिक जीवनमा अभिन्न अंग हुने गरी अनलाइन किनमेल कहिल्यै जोडिएको थिएन । कोभिडले यसलाई आवश्यकता जस्तै बनाएको छ । त्यसैले मान्छे बजारमा गएर जोखिम मोल्नुभन्दा घरमा नै बसेर अनलाइनमार्फत किनमेल गर्न चाहान्छन् ।

कसरी सुरु भएको थियो ?
सन् १९८४ मा विकास गरिएको भिडिओटेक्स प्रविधिले नै अनलाइन किनमेलको सुरुआत गरेको मानिन्छ । सन् १९८४ मा ब्रिटेनमा ७२ वर्षीया जेन स्नोबलले कुर्सीमा बसेर आफ्नो टेलिभिजनको रिमोट कन्ट्रोल प्रयोग गर्दै बटर, कर्नफ्लेक्स र अन्डा अर्डर गरेकी थिइन् । उनले गरेको अर्डर घरमा पुग्यो ।

उनले माइकल अल्ड्रिचले बनाएको ‘भिडिओटेक्स’ प्रविधिको प्रयोग गरेकी अक्सफर्ड विश्वविद्यालयका सहायक डिन तथा रिटेल मार्केटिङका सहप्राध्यापक जोनाथन रेनल्डस बताउँछन् । अल्ड्रिचले आफ्नो टेलिभिजनलाई कम्प्युटर टर्मिनलजस्तो बनाएकी थिइन् र उनले भिडिओटेक्स प्रविधिबाट किनमेल गर्न सकिने सामानको सूची तयार गरेकी थिइन् । अहिले त प्रविधिमा धेरै विकास भइसकेको छ । जसले मान्छेको जीवनलाई सहज बनाएको छ ।

उनको अर्डर स्थानीय विक्रेता टेस्कोसम्म पुग्थ्यो र जादुजस्तै गरी अर्डर गरिएका सामान घरको ढोकासम्मै आइपुग्थे । रेनल्डसका अनुसार यो ज्येष्ठ नागरिकहरूलाई समाजसेवा गर्ने उद्देश्यले सुरु गरिएको थियो । सार्वजनिक रूपमा इन्टरनेट आउनुभन्दा अघिको यो प्रविधिले कम्प्युटरहरूको सञ्जालमा निर्भर भएर काम गथ्र्यो ।

त्यसबेला अल्ड्रिच र स्नोबलले नसोचेको उक्त प्रविधि परीक्षण अहिले युकेमा मात्रै १ सय ८६ अर्ब डलर बराबरको उद्योग बनिसकेको छ । खानेकुराबाट सुरु भएको अनलाइन किनमेलको अर्को महत्वपूर्ण विकास सन् १९९४ मा भयो । २१ वर्षीय डेनियल एम कोनले नेटमार्केट नामको अनलाइन बजार स्थापना गरे ।

त्यसलाई साइबर स्पेसमा रहेको पहिलो सपिङ मल’ का रूपमा तुलना गरिएको थियो र त्यसबाट डिजिटल रूपमा सुरक्षित कारोबार पनि गरिएको थियो । पहिलो कारोबार १२ दशमलव ४८ डलरको सिडी रहेको थियो । यसले आज पहिलाको तुलनामा निकै फडको मारिसकेको छ ।

सन् १९९४ मा पिज्जा हटले आफ्नो वेबसाइटमार्फत् पिज्जा बिक्री गर्न थाल्यो । त्यसबेला पीज्जानेट नामक उक्त पोर्टलमा उपभोक्ताको ठेगाना र फोन नम्बर मात्रै राख्न मिल्ने व्यवस्था थियो । सन् १९९४ मा २१ वर्षीय व्यवसायको लागि महत्पूर्ण वर्ष बन्यो । एमेजन बजारमा आयो र त्यसले त्यो बेला किताबको बिक्रीमा केन्द्रित ग¥यो । अर्को वर्ष इबे कम्पनी सुरु भयो ।

पछिल्ला वर्षहरूमा पश्चिमा बजारमा प्रभाव बढाइरहेको जापानी अनलाइन कारोबार साइट राकुटेन त्यसको दुई वर्षपछि घोषणा भयो । चिनियाँ कम्पनी अलीबाबा सन् १९९९ मा प्रतिस्पर्धामा उत्रियो । यी कम्पनीहरूले अनलाइन कारोबारलाई विस्तार गरे र प्रविधिको प्रयोग गरी उपभोक्तालाई बजारसम्म सहज पहुँच दिलाए ।

सन् १९९० को दशकमा विकास र विस्तार भएको अनलाइन कारोबार अहिलेको विन्दुमा सन् २०१७ आसपासमा आइपुगेको बताइन्छ । त्यसअघि वर्षमा १० मध्ये आठ जना अमेरिकी नागरिकले कम्प्युटर वा मोबाइल फोन प्रयोग गरी सामान खरिद गरेको प्यु अनुसन्धान केन्द्रको अध्ययनले देखाएको छ ।

उपभोक्ताको हातमा मोबाइल फोनको पहुँच पुगेसँगै अनलाइन कारोबारमा उल्लेख्य वृद्धि भएको विज्ञहरू बताउँछन् । सन् २०१९ को तथ्यांक हेर्दा अमेरिकामा मात्रै ई–कमर्समार्फत् हुने कारोबार ६ सय १ अर्ब डलर नाघेको छ । र आज सबैको रोजाइ र आवश्यकता बनेको छ ।

युनिभर्सिटी अफ पेन्सेलभिनियाकी मार्केटिङ प्राध्यापक बार्बरा क्हान पछिल्लो कोभिड–१९ महामारीले अनलाइन बिक्रीलाई दुई देखि तीन वर्ष छिटो बढाइदिएको बताउँछिन् । महामारीले दैनिक उपभोग्य वस्तुहरू नै अनलाइनमार्फत् खरिद गर्नुपर्ने अवस्था निम्त्याएको भए पनि कोभिड–१९ पछि पनि यसको भविष्य सकारात्मक रहेको उनी बताउँछिन् । सायद अब पछिल्ला दिनमा पनि मान्छेले यसलाई बढी प्रयोगमा ल्याउने ठानिएको छ । (बिबिसी)

प्रतिक्रिया