मास्क लगाउन मान्दैनन् सर्वसाधारण

काठमाडौं । कोरोना संक्रमण फैलिदै गएपनि सर्वसाधारण भने न्युनतम स्वास्थ्य सावधानीका उपाय पनि नअपाउने गरेको खुलेको छ । काठमाडौं उपत्यकामा दैनिक करिव ७० देखि ८० जनासम्म संक्रमण भेटिरहेका बेला सर्वसाधारण भने मास्क समेत नलगाई हिड्डुल गर्ने गरेको भेटिएको हो ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा करिब २८ प्रतिशतले मास्क नै नलगाई हिड्ने गरेका हुन् । विश्व स्वास्थ्य संगठनले अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनेपनि काठमाडौंमा केवल ७२ प्रतिशतले मात्र मास्क प्रयोग गर्ने गरेका छन् । त्यसमध्ये पनि सहि तरिकाले मास्क प्रयोग गर्ने पनि ७२ प्रतिशत मात्रै छन् ।

६ जनाको विज्ञ टोलिले राजधानीका भिडभाड हुने स्थान बैंक, मठमन्दिर, सार्वजनिक यातायात, तरकारी बजार, मालपोत कार्यालय, शपिङमल लगायतका स्थानमा ४ हजार ५०२ जनामा सर्वेक्षण गरेको थियो । अध्ययनमा ७२.१ प्रतिशतले मात्रै मास्कको प्रयोग गरेको पाइएको जनाएको छ । परिषद्का सदस्यसचिव डा.प्रदीप ज्ञवालीले साउन ७ गते स्वास्थ्य मन्त्रालयले परिपत्र गरेअनुसार व्यक्तिगत र सार्वजनिक तहमा गरिएको अध्ययनमा मास्कको प्रयोग प्रभावकारी रुपमा नगरेको, सामाजिक दुरी कायम नगरेको, सेनेट्राइजको प्रयोग नगरेको तथा साबुन पानीले हात नधुने गरेको पाइएको जानकारी दिए ।

जनमासमा मास्कको प्रयोग सही तरिकाले प्रभावकारी रुपमा प्रयोग नभएको पाइएको पनि जानकारी दिए । यस्तै सार्वजनिक स्थानहरुमा २ हजार ७०३ जनामा गरिएको सर्वेक्षणमा ७२.६६ प्रतिशतले मास्कको सही प्रयोग गरेको र बाँकीले नाक नछोप्ने गरि लगाएको, चिउँडो मुनि लगाएको, हातमा झुण्डाएर हिड्ने गरेको पाइएको छ । यसैगरी संस्थागत तर्फ तरकारी बजार, शपीङमल, बैक, सार्वजनिक यातायात लगायतका स्थानमा सर्वेक्षण गर्दा अत्यन्तै कमले मात्रै जनस्वास्थ्य सुरक्षा अपनाउने गरेको पाइएको हो ।

३१.२५ प्रतिशत स्थानमा मात्रै सामाजिक दुरी कायम गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । ६० प्रतिशत स्थानमा मात्रै साबुनपानीको व्यवस्था भएको तथा अस्पतालहरुको भान्छाघरमा सामाजिक दुरी कायम नभएको, ३० वटा सार्वजनिक यातायातमध्ये ५० प्रतिशत भन्दा कम यातायातमा मात्रै एउटा सिटमा एकजना मात्रै राखेको पाइएको ज्ञवालीले बताए ।

३८० जना संक्रमित थप, मृतक ७५
नेपालमा थप ३८० जनामा कोभिड–१९ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कूल कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप ९२ कोरोनाका संक्रमित देखिएका छन् । काठमाडौँमा ९० र ललितपुरमा दुई जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टानमा कोरोना संक्रमणमुक्त भएर ४० जना घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणमुक्त भई घर फर्किनेको संख्या १६ हजार ३५३ रहेको छ । मुलुकभर क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । हालसम्म चार लाख ४३ हजार ८०४ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आइतवार थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय एक पुरुषको यही साउन २४ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनमा मधुमेहको समस्या थियो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको थियो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबार मुलुकभर छ हजार ५४४ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेशगत रूपमा प्रदेश–१ मा ५११, प्रदेश–२ मा तीन हजार ७५, वाग्मती प्रदेशमा एक हजार १३२, गण्डकी प्रदेशमा २३७, प्रदेश–५ मा ४४६, कर्णाली प्रदेशमा १६९ र सुदूरपश्चिम प्रदेशमा ९७४ रहेका छन् ।

प्रतिक्रिया