नदीमा बेपत्ता युवक नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

काठमाडौं । लिखु नदीले बगाएर बेपत्ता भएका ओखलढुङ्गाका एक युवक फेला नपरेपछि परिवारले अन्तिम दाहसंस्कार गरेको छ । चम्पादेवी गाउँपालिका–१० रानीवन निगालेका ३६ वर्षीय रोहितकुमार ढुङ्गेललाई गत बुधबार लिखुले बगाएको थियो । नदीले बगाएका ढुङ्गेलको उद्धार गर्न नसकिएको र शवसमेत नभेटिएपछि जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर आज अन्तिम दाहसंस्कार गरेको हो ।

ढुङ्गेल गत बुधबार बुबा र ससुरासँग गोठ सार्न गएका थिए । गाईबाख्रा खोला तार्ने क्रममा ससुरालाई नदीले बगाउन खोजेपछि ससुरा बचाउने क्रममा उनलाई नदीले बगाएको थियो । प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेपछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको चम्पादेवी–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिए ।

‘उहाँलाई नदीले बगाएको सुन्नासाथ प्रहरी र स्थानीय हामी सबैले निरन्तर खोजियो, फेला पार्न सकिएन’, वडाध्यक्ष बुढाथोकीले भने, ‘कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कारअनुसार काजकिरियाको काम थालेको छ ।’ नदीले बगाएर बेपत्ता भएका ढुङ्गेलका श्रीमती र दुई सन्तान छन् ।

प्रहरीले भने ढुङ्गेलको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताए । जिल्लाभित्रको लिखु नदी किनारमा जिल्लाकै प्रहरी जनशक्ति र अन्य जिल्लाको प्रहरीलाई समेत सूचना दिएर शव खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । ओखलढुङ्गामा बर्सेनि पहिरोबाट ठूलो जनधनको क्षति हुँदै आएको छ ।

प्रतिक्रिया