काठमाडौं उपत्यकामा हजार संक्रमित

काठमाडौं । उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । शनिबार ६२ जना कोरोना संक्रमित भेटिएसँगै यो संख्या एक हजार नाघेको हो ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ६२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १०४४ पुगेको छ । प्रवक्ता गौतमले दिएको जानकारी अनुसार ६२ संक्रमितमध्ये काठमाडौंका ५६ जना, ललितपुरका ३ जना र भक्तपुरका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ८२२ जना पुगेको छ । त्यस्तै ललितपुरमा १३७ जना र भक्तपुरमा ८५ जना पुगेको छ । शनिवार कम कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कम देखिए पनि उपत्यकाका संक्रमित देखिएसँगै टोलहरू सिल गरिएका छन् । बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार श्वासप्रश्वास, मुटु, मधुमेह, क्यान्सर लगायतका दीर्घ रोगका बिरामीहरू कोरोनाभाइरसको जोखिममा हुन्छन् । स्वास्थ्य मन्त्रालयले ‘रेड जोन’ अर्थात् कोरोनाको उच्च जोखिममा ६ जिल्ला राखेको छ । ति जिल्लामा दीर्घरोगीको संख्या धेरै रहेकाले जोखिममा राखेको हो । स्वास्थ्य मन्त्रालयको २० साउनसम्मको तथ्यांक अनुसार, ६ जिल्ला कोरोनाभाइरसको उच्च जोखिममा छन् । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै मन्त्रालयले काठमाडौं, पर्सा, रौतहट, महोत्तरी, डोटी र कैलालीलाई ‘रेड जोन’ मा राखेको छ ।

शनिवार थप ३७८ संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । शनिवार ४९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमित निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ । शनिवारसम्म थप तीन जनाको मृत्यु भएको छ । काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीय महिला, वीरगन्ज महानगरपालिका–३ का ७४ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–९ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया