प्रिन्टमेकिङको विकासमा राज्य ध्यान दिनुपर्नेमा जोड

काठमाडौं । छापाचित्रण अर्थात् प्रिन्टमेकिङ विधामा कलाकारको आकर्षण बढ्दै गइरहेको विज्ञले बताएका छन् । ओदान केयु एल्मुनाइले बिहीबार गरेको भर्चुअल संवादमा वक्ताहरुले प्रिन्टमेकिङ विधाको अवस्था राम्रो बन्दै गए पनि राज्यले यसको विकासका लागि व्यवस्थित स्टुडियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘नेपाली प्रिन्टमेकिङ हिजो र आज’ विषयक उक्त संवादमा त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागका सहप्राध्यापक डा. सीमा शर्मा साह, कलाकार सुषमा शाक्य र कलाकार कविराज लामा सहभागी थिए । नेपालमा प्रिन्टमेकिङको सुविधायुक्त स्टुडियोको आवश्यकता रहेको बताउँदै सहप्राध्यापक डा. सीमा शर्मा साहले नेपालमा पछिल्लो समय युवापुस्ताका कलाकार यस विधाप्रति आकर्षित भएको बताइन् ।

उनले भनिन्, ‘प्रिन्टमेकिङ नेपालमा विस्तारै फस्टाउँदै छ र यसमा नयाँ पुस्ता जुर्मुराउँदै अगाडि बढिरहेका छन् ।’ यस्तै कलाकार सुषमा शाक्यले प्रिन्टमेकिङ विधा नेपालमा शैक्षिक रुपमा समेत विकास हुँदै अगाडि बढिरहेको विचार व्यक्त गरिन् ।

उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला केन्द्रीय विभाग र ललितकला क्याम्पस, काठमाडौं विश्वविद्यालयको आर्ट एण्ड डिजाइन विभाग, सिर्जना कलेज अफ फाइन आर्टस्मा प्रिन्टमेकिङको अध्ययन अध्यापन हुने जानकारी दिइन् । साथै शाक्यले काठमाडौं उपत्यकामा प्राचीनकालदेखि नै यसको प्रयोग हुँदै आएको बताइन् ।

उनले अहिले पनि धार्मिक, सांस्कृतिक तथा संस्कारका रुपमा समेत प्रिन्टमेकिङद्वारा बनाइएका त्यस्ता कलाकृतिको प्रयोग भइरहेको जानकारी दिइन् । कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीले सहजीकरण गरेको सो कार्यक्रममा कलाकार कविराज लामाले विश्वमा प्रिन्टमेकिङको विकास र विस्तारका बारेमा चर्चा गरेका थिए ।

उनले नेपालमा प्रिन्टमेकिङको अभ्यास परम्परागत र आधुनिक गरी दुई प्रकारले भइरहेको जानकारी दिए । उनले भने, ‘नेपालमा मौलिक विधि र आधुनिक तरिकाले प्रिन्टमेकिङको काम भइरहेको छ । साथै यसको महत्व र गरिमा झनै फैलिँदै गइरहेको छ । कलाकार, कलापारखी तथा दर्शकका लागि यो विषय निकै रुचि र ग्रहणीय विधाका रुपमा देखापरेको छ ।’

प्रतिक्रिया