चार फिल्म ‘दामी’ एपमा

काठमाडौं । कोरोनाका कारण चलचित्र क्षेत्र नराम्ररी प्रभावित बनेको छ । यसैका कारण अचेल सबै चलचित्र हल बन्द छन् । चलचित्रको प्रदर्शन, छायांकन लगायतका काम ठप्प छन् । यसबीच दर्जनौं म्युजिक भिडियो बने भने केही सटफिल्म बनेका छन् । यी गीत तथा सट फिल्म ययुट्युब लगायतका प्लेटफर्मबाट दर्शकले हेर्न पाएका छन् । यस्ता प्लेटफर्ममा छिटो छिटो नयाँ चलचित्र उपलब्ध नहुने भएकाले दर्शकले पुरानै चलचित्र हेर्नुपर्ने बाध्यता छ ।

यसैबीच दर्शकले आफ्नो रुचि अनुसार छानेर नयाँ चलचित्र हेर्न चाहनालाई ‘दामी’ एपले पूरा गर्ने भएको छ । यसले अबदेखि विभिन्न चलचित्र एपमार्फत उपलब्ध गराउने भएको छ । जसको सुरुवात एकसाथ चार वटा नेपाली चलचित्र सार्वजनिक गरेर गर्दैछ । जसमा ‘घामड शेरे’, ‘सेल्फी किङ’, ‘हजार जुनीसम्म’ र ‘शुभ लभ’ रहेका छन् । बन्दाबन्दीअघि नै प्रदर्शनमा आएका यी चलचित्र ‘दामी’ ले शुक्रबारबाट एपमार्फत हेर्न मिल्ने गरी उपलब्ध गराउन लागेको हो ।

यसअघि म्युजिक भिडियो उपलब्ध गराउँदै आएको यस एपले अबदेखि भने नेपाली चलचित्र पनि उपलब्ध गराउन भएको हो । यो एप सुदिप पोखरेल र रोशन श्रेष्ठ लगायतको टिमले मिलेर बनाएका हुन् । जसमार्फत अबदेखि दर्शकले नयाँ नयाँ चलचित्र हेर्न पाउनेछन् । ‘दामी’ बाट युट्युबमा यसअघि नआएका चलचित्र हेर्न सकिने सञ्चालक सुदीप पोखरेलले बताए । उनले भने, ‘दामी एप एन्ड्रोइड र आइओएस दुवैमा उपलब्ध छ । यस एपबाट हलमा हेरेजस्तै आफूले चाहेको फिल्म छानेर हेर्न सकिन्छ ।’ यसमार्फत चलचित्र हेर्नका लागि भने इ–सेवा, एनसेल लगायत डिजिटल पेबाट पैसा तिर्न सकिने पोखरेलले जानकारी दिए ।

पोखरेलले भने, ‘सुरुको चरणमा हामीले चार वटा फिल्म ल्याएका छौ । यसलाई बिस्तार बिस्तार सबै नयाँ फिल्म एपमा हेर्न पाउने गरी हामीले काम गर्दैछौं ।’

‘सेल्फी किङ’ मा अभिनेता विपिन कार्की र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको छ । त्यस्तै, ‘घामड शेरे’ मा निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय छ । त्यसैगरी ‘हजार जुनीमा’ र ‘शुभ लभ’ नयाँ पुराना कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया