जसलाई सुख भन्ने थाहै छैन

‘मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ । सधैँ पीडामाथि पीडा आइलाग्छ, इलामको माई नगरपालिका–९ चिसापानीका रञ्जीत कार्कीकोे जीवनी सुन्दा जो कोहीको पनि आँखा रसाउँछ, मन कुँडिन्छ र भावविह्वल भइन्छ । साँच्चिकै रञ्जीतको हालसम्मको जीवन एउटा दुःखद् कथाजस्तो छ ।

माई नगरपालिकाकै चिसापानीमा जन्मिएका रञ्जीतलाई सानैमा आमाले संसारमा छाडिन् भने बाबुले अर्की आमा ल्याएपछि घरै छाड्नुप¥यो । दुःख गरेर पाँच कक्षासम्म पढेका रञ्जीतको बाल्यकाल पनि मावली घरमा दुुःख गर्दैमा बित्यो । बाबुआमाको माया नपाएपछि अन्य आफन्त र छिमेकीले पनि चासो दिएनन् । खोलाको किनार छेउमा झोडा फाँडेर दुःख गर्दै रहेका रञ्जीतलाई बोलाएर ‘एक छाक भात’ समेत कसैले दिएन । हुर्कंदै गए पनि उनको कर्म भने फेरिएन । सधैँ दुःखको दुःखै रह्याे । बाबुआमाको माया नभएपछि अर्काका घरमा दुःख गरेकै भरमा जीवन चल्दै गयो ।

आफ्नै बाबुले छोरा होइन भनेपछि
उमेर पुगेपछि (१८ वर्ष) उनले पनि नागरिकता बनाउ खोजे । नागरिकता बनाउन जाँदा बाबुआमाको प्रमाण सोधेपछि उनी खाली हात घर फर्किए । कतैबाट उनले आमालाई फेला पार्न सकेनन् भने बाबुले त आफ्नो छोरो होइन भनि अस्वीकार नै गरिदिए । त्यस घटनाले त उनलाई झनै निराश बनायो । जसोतसो छरछिमेकी र आफन्तले सनाखत गरेपछि नागरिकता बन्यो ।

आफ्ना नाममा टेकेको भुइँ पनि नभएपछि रञ्जीतले ऐलानी जग्गाको झोडा फाँडेर घर बनाएर बसे । जेनतेन गरेर जीवन चलाइरहेका उनलाई विवाहपछिचाहिँ जीवन सुध्रिन्छ जस्तो लाग्यो । तर, उनले सोचेजस्तो भएन, रञ्जीतको सोचाइ ठीक विपरीत ठहरियो । मागी विवाह गर्न नसकेपछि उनले सिक्किमबाट भगाएर विवाह त गरे, तर ससुरालीले पनि ‘गरीबसँग विवाह गरेको’ भन्दै पत्नीलाई माइत जान दिएनन् ।

‘ससुरालीतर्फको पनि आशै हरायो । कहीँबाट पनि सहयोग आएन । हामी दुःखै गरेर चलिरह्यौँ ।’ एक जनाको ठाउँमा दुई जना भएपछि झन् दुःख त गर्नै प¥यो । खेताला गएका पैसाले सानो झुप्रो ठड्याउन भने रञ्जीत सफल भए ।

पत्नीको आफ्नै व्यथा
पत्नी उमाको पनि कथा रञ्जीतकै जस्तो छ । उनले जन्म लिएको डेढ वर्षमै आमाले संसार छाडेपछि रञ्जीतको भन्दा कम पीडा भोग्नु परेन । पुरानो घर चिसापानी नै भए पनि बाध्यताले सिक्किम बसाइँ सर्नुप¥यो । जेनतेन चलिरहेकै थियो जीवन तर पत्नीलाई रोगले सताएपछि अस्पताल धाउनु प¥यो रञ्जीतले । धेरै अस्पतालमा उपचार गराउँदा पनि ‘जाती भइहाल्छ नि’ भन्ने आश्वासन पाए पनि रोग ‘बीसको उन्नाइस’ भएन ।

अन्तिममा झापाको एक अस्पतालमा देखाउँदा पाठेघरमा समस्या देखियो । त्यसै त दुःखमा जिइरहेका रञ्जीतलाई अब भने के गर्ने कसो गर्ने भयो । उनले भएभरका ‘लालाबाला’ बेचेर पत्नीको उपचार गराए । पत्नीको उपचार त भयो तर भएका वस्तुभाउ पनि सकिए भने कमाउने हात पनि घटे । उपचार पछि पत्नी गाह्रो काम गर्न नसक्ने भइन् । ‘घरमा छोराछोरीलाई खाना पकाउन मात्र सक्छिन् । गहुँँगो चीज उचाल्नै हुँदैन,’ रञ्जीतले भने, ‘घाँस पनि काट्छिन् तर लिन जानुपर्छ उनले ल्याउन सक्दिनन् ।’

दुई छोरालाई मोतिबिन्दु र ऐँजेरु
उनको ठूलो छोरालाई मोतिविन्दुले सतायो । पहिले इलाम अस्पतालमै उपचार गराउँदा सामान्य भनेको बिरामी अर्को चोटि ठूलै रोग ठहरियो । जहिल्यै दुःख सहेका रञ्जीत परिवारको यो कुरा सुनेपछि होसहवास नै उड्यो । शल्यक्रियापछि उनको आँखा त बच्यो तर पहिलेजस्तो देख्नेचाहिँँ भएन । अहिले पनि उनकोे आँखा कम्ती देखिन्छ भने चश्मा नलाई हुँदैन ।

रञ्जीतका कान्छा छोरा अर्पणको मूत्रअंगमा समस्या देखियो । सुरुमा सामान्य देखिएको समस्याले पछि विकराल रूप लियो । पिसाब फेर्नसमेत गाह्रो भयो भने पिप र रगत जान थाल्यो । ‘सुरुमा त अलिअलि दुख्थ्यो अरे । पछि रगतै बग्न थालेपछि मात्र भन्यो,’ रञ्जीतले भने । १० वर्षीय अर्पणको उपचारका लागि रञ्जीतले धेरै अस्पताल चाहारे । यस्तो साह्रो रोग जाती नहुने भन्दै सबै अस्पताल पन्छिए । एकातिर आर्थिक अवस्था ‘अत्यन्त’ नाजुक त्यसमाथि पनि छोराको रोग जाती नहुने सुनेपछि कार्की दम्पती के गर्ने कसो गर्ने अवस्थामा पुग्यो । बल्लतल्ल छोराको उपचार त भयो तर अहिले सञ्चो भएको छैन ।

‘पिसाब फेर्न पनि साह्रै गाह्रो । सानो धारो मात्र झर्छ,’ रञ्जीतले भने, ‘कहिले सञ्चो हुने वा नहुने पत्तो छैन ।’ एकातिर अहिले रञ्जीतको परिवारमा खाद्य पदार्थ अभाव छ भने अर्कातिर साहुको ऋण तगारो बनेको छ ।

‘साहुको ऋण सम्झँदा डाँको छाडेर रुन मन लाग्छ’
छोराको उपचार त रञ्जीतले गराए, तर अब ऋण कसरी तिर्ने समस्या छ । पत्नीको उपचार गराउँदा नै चार लाख रुपैयाँ ऋण लागेको रञ्जीतले अझै तिर्न सकेका छै्रनन् भने बाँकी ऋण त तिर्ने कुरै भएन । ‘के गर्ने, जसै गरे पनि बाँच्नुपर्दो रहेछ,’ रञ्जीतले भने, ‘दुःख र साहुको ऋण सम्झँदा पनि आँशु छुट्छन् । डाँको छाड्न मन लाग्छ ।’ रञ्जीतको जेठा छोराको उपचारका लागि १२ हजार र कान्छाको उपचारका लागि २५ हजार रुपैयाँ ।’ ‘हुनेका लागि त यो रकम सानो होला तर म जस्ता घर न थरका लागि त विशाल हो, रञ्जीतले भने ।

आर्थिक स्थिति एकदमै नाजुक भएपछि रञ्जीतले सबैसमक्ष सहयोगका लागि आग्रह गरेका छन् । परिवारका सबै बिरामी परेपछि यति बेला रञ्जीतको काम गर्ने आत्मबल घटेको छ । ‘हुन त दुःख सधँै गर्नैपर्ने रहेछ तर एकचोटिको ऋण तिरे भने चाहिँ केही गरिन्छ कि भन्ने छ ।’

प्रतिक्रिया