नवीनको सांगीतिक चलचित्र ‘तीनपाते’

काठमाडौं । नवीन चौहानले निर्देशन गरेको सांगीतिक चलचत्रि ‘तीनपाते’ सार्वजनिक भएको छ । गीति कथाका रुपमा तयार पारिएको ९ मिनेट लामो भिडियोमा बेरोजगार युवाको विषयलाई प्रस्तुत गरिएको छ । लकडाउनको कारण सर्वत्र मन्दी छाएको छ । अर्थतन्त्र धरासायी बनेको छ, युवाहरु बेरोजगार भएका छन् ।

यही विषयलाई निर्देशक चौहानले निकै कलात्मक रुपमा प्रस्तुत गरेका छन् । यसअघि उनले ‘के माया लाग्छ र’ म्युजिक भिडियो निकै रुचाइएको थियो । सोही गीतका समूहले ‘तीनपाते’ सार्वजनिक गरेका हुन् । हर्क साउदको शब्द रहेको यस गीतलाई सुजन चापागाईंले संगीत संयोजन गरेका छन् ।

गीतमा सुजन र विद्या तिवारीको आवाज रहेको छ । गीति कथामा मिलन खत्री, अनु काफ्लेको प्रमुख भूमिका रहेको छ । त्यस्तै, यसमा सम्रान्त थापा, नयन नेपाल आयुष्मा काफ्ले, मुना धिताल, हर्क साउद, कविता थापा, विष्णु खत्री, सुजन खत्री लगायतको अभिनय छ । कोरोनाका कारण समाज अभाव, भय, निरासासँग पैठेजोरी खेल्दैछ ।

यही पृष्ठभूमिमा ‘तीनपाते’ ले एक युवाको संघर्षको उत्साहजनक कथा प्रस्तुत गरेको छ । गाउँमै उद्यम गरेर आर्थिक-सामाजिक रुपमा कसरी सबल बन्न सकिन्छ भन्ने भावलाई केन्द्रमा राखेर गीति कथा बनाइएको छ । यसको पटकथा नवीनले नै तयार पारेका हुन् ।

उनले यसअघि बटौली, सम्झनालाई, लुकीपिछी किन मायामा लगायतका म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । नवीनलाई भने ‘के माया लाग्छ र’ ले निकै चर्चामा ल्यायो । निर्देशक नवीनले भने, ‘यसपाली अलि फरक अभ्यास गरेको छु । गीतलाई कथानक शैलीले पेश गरिएको छ ।’ गीतलाई इलामको सेरोफेरोमा छायांकन गरिएको छ । यसमा ग्रामीण जनजीविकालाई पृष्ठभूमिमा राखेर एक युवाको सपना, संघर्ष र सफलताको कथालाई उधिनिएको छ ।

प्रतिक्रिया