३० हजार चलचित्रकर्मी बेरोजगार

काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको बन्दाबन्दीले ३० हजार चलचित्रकर्मी बेरोजगार भएको जनाइएको छ । वैश्विक महामारीको रुपमा फैलिएको कोरोनाको सम्भावित संक्रमणलाई नियन्त्रण गर्न सरकारले झण्डै चार महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरणमा समस्या आएको हो ।

यसले चलचित्र क्षेत्रमा नराम्ररी प्रभाव पारेको छ । चलचित्रसम्बन्धी काम नहुँदा ठूलो संख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पका कारण थला परेको चलचित्र उद्योग विस्तारै उठ्न खोजेको अवस्थामा कोरोनाले पुनः अनिश्चयता थपेको छ ।

बन्दाबन्दी तथा कोरोना संत्रासका कारण अहिले सबै ‘फिल्म हल’ बन्द हुँदा हजारौँ कामदार बेरोजगार भएका छन् । नेपालभर हाल २ सयभन्दा बढी ‘फिल्म हल’ सञ्चालनमा छन् । कोरोनाको जोखिम बढिरहेको अवस्थामा सरकारले बढी भीडभाड हुने क्षेत्र तत्काल नखोल्ने निर्णय गरेर चलचित्र उद्योगलाई अति प्रभावित उद्योगका रुपमा राखे पनि कहिलेदेखि चलचित्र सुरु गर्ने भन्ने अन्योलता रहेको छ ।

चलचित्र क्षेत्रसँगै सरकारले पर्यटन, यातायात, हवाई तथा पर्यटकीय यातायात, वैदेशिक रोजगार सेवा प्रदायकलाई अति प्रभावित क्षेत्रका रुपमा घोषणा गरेको छ । चैतदेखि जेठसम्मको तीन महिनामा झण्डै २५ फिल्म निर्माण पूरा गरी सञ्चालन गर्ने तयारी भए पनि बन्दाबन्दीका कारण ती चलचित्र प्रदर्शनमा आउन सकेनन् ।

नेपालमा २०७५ सालमा ९५ र २०७६ सालमा ५५ चलचित्र सञ्चालनमा आएका थिए । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले एक अर्बभन्दा बढी लगानी भएको फिल्म उद्योग कोरोनाका कारण नराम्ररी प्रभावित भएको जिकिर गरे । उनले भने, ‘फिल्म निर्माताले बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकम ऋण लिएर फिल्म निर्माण गरे पनि फिल्म सञ्चालन नहुँदा समस्या परेको छ ।’

कोरोनाका कारण प्रभावित बनेको चलचित्र उद्योगलाई पूर्ववत् अवस्थामा फर्काउन नेपाल चलचित्र निर्माता संघले फिल्म उत्पादनमा लाग्ने खर्चको २० प्रतिशत लगानी सरकारलाई गर्न आग्रह गरेको छ । अध्यक्ष अधिकारीले भने, ‘करोडौँ रकम खर्च गरेर बनाएको फिल्म नचले पनि सरकारले २० प्रतिशत लगानी ग्यारेन्टी गरिदिएको खण्डमा चलचित्र निर्मातालाई केही भए पनि राहत पुग्नेछ ।’ नेपालमा अहिले एउटा चलचित्र निर्माण गर्न ८० लाखदेखि दुई करोड ५० लाखसम्म खर्च हुने संघले जनाएको छ ।

संघले हाल २५ फिल्म निर्माण सम्पन्न भएर सञ्चालनका क्रममा रहेको, १२ फिल्म निर्माणको अन्तिम चरणमा रहेको र २० फिल्म छायांकनको सुरुको अवस्थामा रहेको जानकारी दिएको छ । चलचित्र निर्माता संघले बन्दाबन्दीपछि चलचित्र उद्योगलाई चलायमान बनाउन राजनीतिक दलका शीर्ष नेतासहित सरोकारवाला निकायसँग भेटघाट तथा परामर्शसमेत गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले चलचित्र उद्योगको ५० प्रतिशत माग पूरा गरेको अध्यक्ष अधिकारीको भनाइ छ । मौद्रिक नीतिले पुर्नकर्जाको सीमालाई फराकिलो बनाउँदा साना, मझौला र ठूला उद्योग लाभान्वित हुनुका साथै कर्जा लिँदा लाग्ने सेवा शुल्क घटाउनु सकारात्मक कुरा रहेको उनको भनाइ छ । कोरोना संक्रमण विस्तार घट्दै गएमा सरकारले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको स्वास्थ्य निर्देशिकालाई आत्मसात् गरेर सामाजिक दूरी कायम राख्दै सुरक्षित तरिकाले फिल्म सञ्चालनको वातावरण बनाउनुपर्ने संघले जनाएको छ ।

प्रतिक्रिया