समितिद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन

गोदावरी । सुदूरपश्चिमको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले बुधबार कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । प्रदेशसभाका सभापति गोविन्दबहादुर कुँवर नेतृत्वको समितिले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

समितिको टोलीले कैलालीका गौरीगङ्गा, भजनी र टिकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिकालगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको अर्थ विकास–प्राकृतिक स्रोत समिति अध्यक्ष कुँवरले बताए । उनले कैलालीको पूर्वी–दक्षिणी क्षेत्र वर्षेनी बाढीको चपेटा पर्दै आएकाले सो क्षेत्रका बाढी प्रभावित बासिन्दाको जनजीवनमा सहजता ल्याउन दीर्घकालीन योजना आवश्यक भएको बताए ।

बाढीबाट सो क्षेत्रका बासिन्दाले वर्षेनी कष्टकर जीवन बिताउँदै आएको बताउँदै उनले संघ, प्रदेश तथा स्थानीय सरकारले त्यसका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । पूर्वी क्षेत्रका बासिन्दा लगातारको वर्षाले प्रभावित भएको भन्दै उनीहरुलाई आवश्यक राहतको व्यवस्था मिलाउन तीनवटै सरकारलाई आग्रह गरिने सभापति कुँवरले बताए ।

अनुगमन टोलीमा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, प्रदेशसभा सदस्य पूर्णा जोशी, महेशदत्त जोशी, अक्कलबहादुर रावल, अमर साउद, पत्रकार तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । गत साउन १४ गतेदेखि परेको अविरल वर्षाका कारण गौरीगङ्गा, भजनी र टिकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिका जलमग्न भएको थियो । बाढीमा बगेर भजनी नगरपालिकाका तीन जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया