सर्लाही र रौतहटमा निषेधाज्ञा जारी

सर्लाही । नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गर्दै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाही र रौतहटले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन निषेधाज्ञा जारी गरेका छन् । सर्लाहीमा २७ साउन र रौतहटमा ३२ साउनसम्म निषेधाज्ञा जारी भएको छ ।

सर्लाहीका प्रजिअ सुरेन्द्र पौडेल र रौतहटका प्रजिअ वासुदेव घिमिरेद्वारा हस्ताक्षरित निषेधाज्ञामा निषेधाज्ञा अवधिभर अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, बिरामी बोकेको गाडी, दमकल, दूध बोक्ने गाडी, खाद्यवस्तु बोकेको गाडी, शववाहन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन (मोटरसाइकल समेत) सञ्चालनमा पूर्णरूपमा रोक लगाएको छ । त्यस्तै औषधि उपचार, खाद्य वस्तु खरिद, पेट्रोलियम पदार्थ खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।

अत्यावश्यक उपभोग्य सामग्रीहरू बिक्री वितरण गर्ने पेट्रोल पम्पहरू, ग्यास डिपोहरू, औषधि पसलहरू, खाद्य पसलहरू र दैनिक उपभोग्य सामग्रीका पसलहरूबाहेक अर्धसाप्ताहिक, साप्ताहिक हाट बजार वा मेला लगाउन नपाउने भएको छ । त्यस्तै आर्थिक, राजनीतिक, सामाजिक, धार्मिक वा अन्य कुनै पनि किसिमको भेला सम्मेलन, भोजभतेरजस्ता समूहमा भेला हुने कार्यसमेत बन्देज गरिएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य कामय गर्दै कोरोना संक्रमण नियन्त्रणमा सघाउन दुवै जिल्लाका प्रजिअले सर्वसाधारणलाई अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया