अनलाइन चित्र प्रतियोगिता

काठमाडौं । कोरोना संक्रमणका कारण विद्यालय बन्दको अवस्थामा छन् । घरमै बसेका विद्यार्थीलाई लक्षित गर्दै अनलाइन चित्रकला प्रतियोगिता गरिने भएको छ । समृद्धि स्कुलको आयोजना तथा योङ पिकासो संस्थाको प्रस्तुतिमा विद्यालयस्तरीय प्रतियोगिता गरिएको हो ।

विद्यालय तहका कक्षा ८ देखि यस वर्ष माध्यमिक शिक्षा परीक्षामा सामेल विद्यार्थी भाग लिन पाउने गरी उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीले नेपालको संस्कृतिलाई विषय बनाई चित्र कोरेर पठाउन सक्नेछन् । चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई १० हजार नगद पुरस्कारको प्रदान गरिने जनाइएको छ ।

दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने बालचित्रकारलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने समृद्धि विद्यालयका प्राचार्य नरेशप्रसाद श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट ३० चित्रलाई जनजीवन सामान्य भएपछि पाटन संग्रहालयमा प्रदर्शनीका लागि राखिने कार्यक्रम संयोजक अजय देशारले जानकारी दिए ।

इमेलमार्फत चित्र पठाउनुपर्ने र उक्त चित्र मौलिक हुनुपर्ने, पठाइएको चित्रमा ग्राफिक्स गरिए वा कुनै प्रतियोगितामा भाग लिएका चित्रहरू भए स्वतः प्रतियोगी बाहिरिने आयोजकले जनाएको छ । देशभरका प्रतियोगीले आफ्ना चित्र आगामी साउन २५ गतेभित्र पठाउने सक्ने कार्यक्रम निर्देशक इन्युजपाना डटकमका सम्पादक बालमुकुन्द आचार्यले बताए ।

प्रतिक्रिया