निर्देशनमा छलाङ मार्दै चेतनाथ

काठमाडौं । नेपाली चलचित्रको विकासमा कलाकार, निर्देशक, प्राविधिक, लेखक तथा संगीतज्ञ लगायतको योगदान महत्वपूर्ण रहँदै आएको छ । पहिलो नेपाली चलचित्र मानिएको ‘आमा’ देखि अहिलेसम्म आइपुग्दा यो क्षेत्रमा धेरैको पसिना बगेको छ । जसले नेपाली चलचित्र उद्योगलाई अगाडि बढाउन भूमिका खेलिरहेको छ ।

यस्तैमा लामो समयदेखि सिर्जना यात्रामार्फत नेपाली चलचित्र क्षेत्रमा योगदान दिइरहेका निर्देशकका रुपमा चेतनाथ दंगाललाई चिनिन्छ । राजधानीको नजिकै रहेको जिल्ला काभ्रेको तत्कालीन होक्से–३ मा बुबा पदमप्रसाद दंगाल र चित्रमायाको कान्छो पुत्रका रुपमा जन्मिएका चेतनाथ यतिबेला नेपाली कला क्षेत्रमा सबल निर्देशकका रुपमा चिनिन्छन् । बाल्यकालदेखि नै कलाक्षेत्रमा रुचि राख्ने चेतनाथ चलचित्र भनेपछि हुरुक्कै हुन्थे ।

सानैदेखि अत्यधिक चलचित्र हेर्न रुचाउने उनी उच्च शिक्षाका लागि काठमाडौं आएसँगै यो क्षेत्रमा विस्तारै विस्तारै हेलिँदै गए । सानैदेखिको रुचिको यो क्षेत्रको लगावले उनलाई चलचित्र क्षेत्रमा तान्दै लग्यो । उनको अथक परिश्रम र मिहिनेतले सफलता चुम्न सके ।

हरेक विषयको गहिराइमा पुग्ने, चुनौती मोल्ने र त्यसको सामना गर्ने चेतनाथको बाल्यकालदेखिको स्वभावले नै जस्तोसुकै चुनौतीको सामना गर्ने बानीका कारण आजको अवस्थामा आउन सकेका हुन् । सुरुमा कनिष्ठ सहायक निर्देशक भूमिकाबाट यसक्षेत्रमा आएका उनले मुख्य निर्देशक हुँदै निर्देशनमा हात हाले । यतिबेला उनी नेपाली चलचित्रमा कुशल निर्देशकका रुपमा स्थापित छन् ।

उनको निर्देशनमा ‘बादशाह’, ‘अन्योल भविष्य’, ‘हृदयघात’, ‘हाम्रो योद्धा’, ‘दानव’ ‘कुरबान’, ‘सुसेली’, ‘अधुरो सपना’, ‘लावारिस’, ‘युद्ध’ ‘दौडान’ लगायतका चलचित्र बनेका छन् । उनले निर्देशन गरेका प्रायः चलचित्रले व्यवसायिक सफलता प्राप्त गरेका छन् । उनी निर्देशित चलचित्र ‘निम्तो’ यतिवेला पोस्ट प्रोडक्सनमा रहेको छ ।

अर्को नयाँ चलचित्रको तयारीमा पनि रहेका उनी कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी संक्रमणका कारण केही ढिला भएको बताउँछन् । सन् २०१७ देखि निरन्तर २ वर्ष एनटिभीबाट आएको टेलिफिल्म ‘सोह्र दुने आठ’ का निर्माता तथा निर्देशन उनले नै गरेका थिए । उनले ५० भन्दा बढी म्युजिक भिडियोमा पनि निर्देशन गरिसकेका छन् ।

च्लचित्र क्षेत्रमा योगदान दिएकै कारण उनले थुप्रै अवार्ड, पुरस्कार र सम्मान प्राप्त गरेका छन् । उनले नेफ्टा अवार्डमा बेस्ट निर्देशक, बक्सअफिस अवार्ड, राष्ट्रिय चलचित्र अवार्ड लगायत दर्जनौं सम्मान तथा पुरस्कार हात पारेका छन् । उनी यतिवेला नेपाली सिने नगरीमा महँगो निर्देशकका रुपमा चिनिन्छन् । यो क्षेत्रका विभिन्न संघ संस्थामा रहेका यसको क्षेत्रको श्रीवृद्धिमा लागेका उनी चलचित्र संरक्षण मञ्च, चलचित्र निर्देशक समाजको मानार्थ सदस्यसमेत रहेका छन् ।

उनी डि सिने अवार्ड, सूर्य इन्टरनेसनल अवार्ड लगायतका चलचित्रसम्बन्धी प्रतिष्ठित अवार्डको निर्णायकको रुपमा काम गरिसकेका छन् । राजधानी कला केन्द्रको प्रशिक्षकका रुपमा काम गर्दै आएका उनी कान्तिपुर फिल्म एकेडमीको बोर्ड मेम्बर, नेपाली सिने समूहको कार्यकारी निर्देशक समेत रहेका छन् । त्यस्तै उनी दोलखा फिल्मस् प्रालिको प्रबन्ध निर्देशक पनि रहेका छन् ।

निर्देशक चेतनाथ भन्छन्, ‘चलचित्रको क्याप्टेन भनेको निर्देशक हो, कथावस्तु छनोट गर्ने अधिकार निर्देशकको हुन्छ । चलचित्र निर्माताको एकखालको भिजन आउन सक्छ । तर, त्यसको डिसिजन निर्देशकको हातमा हुन्छ । त्यसैले सबैभन्दा धेरै जिम्मेवारी निर्देशककै हुन्छ । निर्देशकको हातमा हुन्छ कस्तो चलचित्र बन्ने ।’

उनले निर्देशन भन्नेबित्तिकै एकदमै गाह्रो क्षेत्र भएको बताए ।  उनले भने, ‘सामाजिक र राष्ट्रप्रतिको जिम्मेवारी निर्देशकको काँधमा आएको हुन्छ । मैले निर्माण गरेको चलचित्रबाट दर्शकलाई कस्तो प्रभाव पर्छ भन्ने बुझ्नुपर्ने हुन्छ । चलचित्र सामाजिक दायित्व बोकेको पाटो भएकोले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन ।’

पछिल्लो समय सामाजिक चलचित्रका दर्शक धेरै रहेको बताउने चेतनाथले आफ्नोपन, आफू सुहाउँदो सामाजिक कथावस्तुमा आधारित चलचित्र दिन सक्नुपर्ने धारणा राख्छन् । उनले यथार्थ बोकेका चलचित्रलाई दर्शकले धेरै मन पराउने जिकिर गरे । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ भन्ने मान्यता राख्ने चेतनाथले समय सधै एकनासको नहुने र यो परिवर्तनशील रहेको सुनाए । उनले भने, ‘समयको माग अनुसार जोकोही पनि चल्नुपर्छ ।

नेपाली चलचित्र सबल, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्नु जोकोही नेपाली चलचित्रकर्मीका लागि गर्वको कुरा हो ।’ नेपाली सिनेमा क्षेत्रमा सक्रिय रहेर अमूल्य योगदान पु¥याएका उनी सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्पमा आहत भएका जनतालाई राहत पु¥याएर सहयोग गरेका थिए । उनले विभिन्न विपतका बेलामा सक्रिय रुपमा सहयोग पु¥याउँदै आएका छन् । कोरोनाको संक्रमणलाई नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेको लामो ‘लकडाउन’ का कारण अप्ठायारोमा परेकालाई पनि उनी राहत लिएर विभिन्न ठाउँमा पुगे ।

प्रतिक्रिया