पुस्तकमा उत्तमको कलायात्रा

काठमाडौं । कलाकार तथा कला समीक्षक मुकेश मल्लद्वारा लिखित ‘उत्तम नेपाली नेपाली आधुनिक कलाको बलियो स्तम्भ’ प्रकाशित भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको यो पुस्तकमा कलाकार नेपालीको कलायात्रा, जीवनी तथा प्रवृत्तिलाई केलाइएको छ ।

आधुनिक नेपाली कलामा उत्तम नेपालीले पुर्याएको महत्वपूर्ण योगदानलाई पुस्तकमा चर्चा गरिएको छ । पुस्तकमा नेपाली कला क्षेत्रमा उत्तम नेपालीको उपस्थितिलाई मिहिन ढंगले केलाउने कोशिस गरेको लेखक मल्लले बताए । उनले भने, ‘पुस्तकमा मूलतः पाँचवटा पक्षलाई समेट्ने जमर्को गरेको छु ।

जसमा पहिलो कलाकारको तथ्यगत जीवनी, दोस्रो कलाकारको कलायात्रा, तेस्रो नेपाली समसामयिक कलाको सत्यतथ्य, संस्थागत विकासको इतिहास, चौथो कलाकारको प्रवृत्तिमा मेरो समीक्षात्मक टिप्पणी र पाँचौ कलाकारको विचार दर्शनलाई चित्रण गरिएको छ ।’

उनले कलाकार उत्तमका कलालाई बुझ्न पुस्तक निकै उपयोगी रहेको विचार प्रकट गरे । कलाकार तथा लेखक मल्लले भने, ‘पुस्तकबाट उत्तम नेपालीको कलालाई बुझ्न सजिलो हुनेछ । उहाँको विचार कस्तो छ, कत्तिको कलालाई गहिरिएर बुझिएको छ, राष्ट्र र समाजप्रति उहाँको आस्था जवाफदेहिता कत्तिको गहिरो छ । उहाँको कला यसैबाट निर्देशित हुने र हुँदा ती विचार र अवधारणाहरु पुस्तकमा राख्न खोजेको हुँ । यसो हुँदा कलाकारलाई समग्रमा पढ्न र उहाँको कलाबारे अझ बढी बुझ्न सकिन्छ भन्ने मेरो सोच हो ।’

प्रकाशक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तकले अग्रज कलाकार उत्तम नेपालीको योगदानलाई बुझ्न र कला प्रवृत्ति नियाल्न महत्वपूर्ण सघाउ पुग्ने बताए । उनले भने, ‘ललितकला अभिलेखन अन्तर्गत प्रतिष्ठानले नेपाली कला जगतमा अतुलनीय योगदान पुर्याउनेहुने हाम्रा वरिष्ठ दिवंगत तथा जीवित कलाकारहरुको जीवनीपरक ग्रन्थ प्रकाशन गर्ने कार्यको थालनी गरेको छ ।

यही सिलसिलामा नेपाल वरिष्ठ कलाकार उत्तम नेपालीको समग्र कलायात्रा, जीवनी लगायतका विषयमा केन्द्रित रही यो पुस्तक प्रकाशन गरिएको हो ।’ उनले पुस्तक कला अध्येता, कला विद्यार्थी तथा कलाका पारखीका लागि निकै उपयोगी रहेको बताए ।

कुलपति कर्माचार्यले भने, ‘निकै मिहिनेत र परिश्रमका तयार गरिएको यस ग्रन्थको प्रकाशनबाट नेपाली कला इतिहासबाटै ओझेलमा पर्दै गइरहेका हाम्रा वरिष्ठ कलाकारहरुको जीवनी, कलाकृतिका साथै उहाँहरुबाट समाजले सिक्न सकिने सीप र ज्ञानलाई थप प्रकाशमा ल्याउने छ ।’ नेपाली आधुनिक तथा समसामयिक कलाको विकासक्रमलाई बुझ्न पुस्तक निकै उपयोगी छ । पुस्तकले कलाकार उत्तम नेपालीको कलायात्रासँगै नेपालकै कलाको विकासक्रमलाई नियाल्न र बुझ्न सघाउँ पु¥याउँछ ।

प्रतिक्रिया