घरमै बसी पढ्ने शैक्षिक पद्धति

लक डाउनको कारणले अधिकांश विद्यार्थी तथा अभिभावक पठनपाठनको विषयमा अन्योल भइरहेको परिस्थितिमा सिफल स्कुलले सञ्चालन गरेको यसप्रकारको सिकाइपद्धति ‘एउटा नमुना सिकाइपद्धति’ नै हो । यो पद्धतिमा विद्यार्थीले विद्यालयको कक्षा कोठाबाहेक अन्य सबैप्रकारका क्रियाकलापमा संलग्न हुन पाएका छन्

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट नेपालको शैक्षिक क्षेत्रलाई समेत नराम्ररी असर पारिरहेको छ । स्कुल तथा विद्यालयमा अध्ययनरत् विद्यार्थीको शैक्षिक भविष्य अनिश्चित नै छ । केही गरी विद्यालय खुलाउने सरकारको निर्णय भयो भने पनि विद्यार्थीका अभिभावकलाई आफ्ना छोराछोरीको ज्यानको जोखिम मोलेर विद्यालय पठाउने कि नपठाउने भन्ने दोधारको अवस्था छ ।

एकातर्फ विद्यार्थीले लामो समयसम्म अध्ययन गर्न नपाउँदा उनीहरूको आनीबानी र स्वभावमा नै परिवर्तन आई पढाइलाई कम प्राथमिकता दिने हुन् कि भन्ने डर छ भने अर्कोतर्फ विद्यालय खुलेमा रोगको संक्रमण फैलने डरले विद्यालय पठाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा विद्यार्थीलाई कसरी व्यस्त राख्न सकिन्छ र उनीहरूको नियमित पठनपाठनलाई कसरी अघि बढाउन सकिन्छ भनेर अभिभावकहरू अत्यन्त दोधारमा परिरहेको अवस्था छ । तसर्थ आज नेपालमा अधिकांश अभिभावकले बालबच्चाको पठनपाठनमा अत्यन्तै संवेदनशील भएर पठनपाठनका वैकल्पिक विधि र पद्धतिको खोजी गरिरहेको अवस्था छ ।

अभिभावकहरूको उल्लिखित संवेदनशीलताको परिपूर्तिस्वरुप केही कलेज तथा विद्यालयले घरमै बसी पढ्ने शैक्षिक पद्धतिको सुरुआत गरेका छन् । यो शैक्षिक पद्धतिलाई अनलाइन कक्षा, भर्चुअल कक्षा, घरमै बसी पढ्ने सिकाइ पद्धतिजस्ता विभिन्न प्रकारले नामाकरण गरेको पाइन्छ । यस्तै पद्धतिको सुरुआत् सिफल माध्यमिक विद्यालय जसलाई धेरैले डियरवाक सिफल स्कुल (मित्रपार्क, चावहिल) का नामले चिन्ने गर्दछन् । यस स्कुलले गत चैत महिनादेखि घरमै बसी पढ्ने सिकाइ पद्धतिलाई निकै नै प्रभावकारीरूपमा सञ्चालन गरी विद्यार्थीको पठनपाठनलाई विद्यालयमै गएर पढे जत्तिकै गरी अध्ययन अध्यापन गरिरहेको छ ।

यस विद्यालयले शैक्षिक सत्र ०७७÷७८ को वार्षिक कार्य तालिकाअनुरूप १५ वैशाखदेखि नै घरमै बसी अध्ययन गर्ने पद्धतिको सुरुआत गरेको हो । पटकपटक लक डाउन लम्बिँदै गरको अवस्थामा विद्यालयले घरमै बसी पढ्ने पद्धति नै यो विषम परिस्थितिको समाधान हो भन्ने मनस्थिति बनाउँदै आफ्ना योजनाहरू बनायो । जसअनुरूप सर्वप्रथम अनलाइन कक्षाहरू सञ्चालन गर्न शिक्षकहरू र अभिभावकको भौतिक पूर्वाधारको अवस्था बुझ्न साधारण मौखिक सर्वेक्षण ग¥यो । दुवै पक्ष सम्पन्न भएको निष्कर्षसँगै विद्यालयले शिक्षकहरूलाई अनलाइन कक्षा सञ्चालन गर्ने विभिन्न प्रविधिहरूमा तालिम दियो र अभिभावकलाई पनि आवश्यकताअनुरूपको सहयोग प्रदान ग¥यो र यी प्रक्रियाहरू अझैसम्म पनि चलिरहेकै छन् ।

शैक्षिक सत्र ०७७ अर्थात् वैशाखको १५ गतेको पहिलो हप्ता विद्यालयले परीक्षणस्वरूप दिनमा एउटा कक्षा सञ्चालन गरेको थियो । जसलाई क्रमशः दोस्रो हप्तामा दुई अनि तेस्रो हप्तामा तीन वटा कक्षाहरू सञ्चालन गरेको र हरेक हप्ता नयाँनयाँ प्रविधि र विषयहरू थप्दै गयो । यसरी हरेक हप्ता परिवर्तन गर्दै जानुका कारणहरू अभिभावकसामु खुलस्त रूपमा बताउने गर्दथ्यो र सहयोगको अपिल पनि गर्दथ्यो ।

यसरी क्रमिकरूपमा विश्वभरि शिक्षण प्रविधिमा हुँदै आएका नयाँनयाँ अनुसन्धानहरू हुँदै गर्दा र ती अनुसन्धानलाई हाम्रो परिप्रेक्ष्यमा मिलाउँदै अन्तिममा विद्यालयले कक्षागत रूटिङ, पठनपाठन समय र कक्षामा विद्यार्थी संख्या निर्धारण ग¥यो । जसबाट सिफल स्कुलले सञ्चालन गरेका अनलाइन कक्षाहरू तथ्यपूर्ण र वैज्ञानिक छ भन्ने कुराको निक्र्योल गर्दछ र हाल निरन्तररूपमा सिफल स्कुलले कक्षा १ देखि १२ कक्षासम्म नै आफ्ना विद्यार्थीलाई ‘गुगल मिट’ नामक विद्युतीय माध्यम (एप) मार्फत १० देखि १४ जनासम्मको ससानो समूहमा विभाजन गरी अत्यन्त सुक्ष्मरूपले अध्ययन अध्यापन गराइरहेको छ । अनलाइन कक्षाहरू सञ्चालन गर्ने कार्यमा विद्यालयले सानो कक्षा समूह र दैनिक तीन घण्टाको कक्षाप्रति देखाएको चासो सराहनीय छ ।

यसअनुरूप नेपाल सरकारले लक डाउनको अवधिलाई दोस्रोपटक पनि थप गरेपछि विद्यालयका प्राचार्यले अभिभावकसँग अनलाइनमार्फत बैठक गरी घरमै बसी पढ्ने सिकाइ पद्धतिको बारेमा परामर्श गर्नुभएको थियो । अभिभावकले यस सिकाइ पद्धतिलाई सकारात्मकरूपमा लिएपश्चात् विद्यालयले दैनिक कम्तिमा तीन घण्टा निकै व्यवस्थितरूपमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयले सञ्चालन गरेको सिकाइ पद्धतिबाट अधिकांश अभिभावकहरू सन्तुष्ट भएकोसमेत पाइएको छ ।

सिफल स्कुलले घरमै बसी अध्ययन गर्दा प्रत्येक विद्यार्थीलाई विद्यालयमा जानेजस्तै गरेर आफ्नो लवाइखुवाइ र बसाइँ गराउने गरेको छ । विद्यार्थीले अध्ययन अवधिभर ओच्छ्यानमा पल्टेर वा पढाइको समयमा खाएर वा अन्य कुनै अशोभनीय कार्य गर्न पाउँदैनन् । गुगल मिटबाट अध्ययन अध्यापन हुने हुँदा सबैको अनुहार हेर्न, बोली सुन्न र अन्तक्र्रिया गर्नसक्ने व्यवस्था गरेको छ । हरेक दिन उपस्थित विद्यार्थीको सामूहिक फोटो लिई हाजिरी गराउने, प्रत्येकलाई प्रश्नउत्तरमा सहभागी गराउने, सबैको सक्रिय सहभागिताको सुनिश्चितता गर्ने लगायतका प्रभावकारी उपायहरूमार्फत पठनपाठन प्रक्रियाअघि बढाउने गरेको छ ।

सिफल स्कुलले सञ्चालन गरिरहेको सिकाइपद्धति विद्यालयको वार्षिक कार्य तालिकाअनुरूप अघि बढेको छ अर्थात् यो पढाइ दुई÷तीन घण्टा विद्यार्थीलाई अल्मल्याउने प्रकारको नभई पाठ्यक्रम नै अघि बढ्ने किसिमको छ । सहभागी विद्यार्थीले विद्यालय खुलेपछि पनि पुनः त्यही विषयमा अध्ययन गर्नुपर्दैन किनकि यसमा गृहकार्यहरू पनि गरिसकिएका हुन्छन् । नजानेको कुरा विद्यार्थीले कुनै पनि तरिकाले सम्बन्धित विषय शिक्षकसँग सम्पर्क गरी स्पष्ट हुन सक्छन् । विद्यालयको फेसबुक पेजमा राखिएको भिडियो तथा अन्य सिकाइ सामग्रीहरूबाट समेत सम्बन्धित विषयमा स्पष्ट हुन सक्छन् । विद्यालयले तालिकाअनुसार दैनिक गृहकार्यको अभिलेखीकरण र एकाइ परीक्षासमेत गर्ने गरेको छ, जसको प्राप्तांकसमेत व्यवस्थित गरिएको छ । यही जेठ महिनाको अन्तिममा पहिलो मासिक परीक्षासमेत सम्पन्न भइसकेको छ ।

अध्ययन अध्यापनको बखत बिजुली वा इन्टरनेट नहुँदा शिक्षकहरूका तर्फबाट वैकल्पिक शिक्षकले पढाइलाई अघि बढाउँछन् भने विद्यार्थीको हकमा कोही अफ लाइन भएमा अभिभावकसँग तुरुन्तै सम्पर्क गरी वास्तविकता बुझ्ने गरिएको छ । जसबाट विद्यार्थीले ढाट्न सक्ने वा छल्न सक्ने सम्भावना न्यून देखिएको छ । काबुबाहिरको कारण परि कुनै विद्यार्थीको पढाइ छुटेको अवस्थामा विषय शिक्षकसँगको प्रत्यक्ष परामर्श, आफ्ना साथीहरूसँगको सम्पर्क र विद्यालयको फेसबुक पेजमा समावेश गरिएको विषयसँग सम्बन्धित भिडियोबाट विद्यार्थी स्पष्ट हुन सक्छन् ।

यसैगरी विद्यालयको नियमित सिकाइपद्धति जस्तैः शैक्षिक भ्रमण, नृत्यकला, वक्तृत्वकला, योग ध्यान, खेलकुद, विभिन्न पुस्तकको अध्ययन गरी सारांश उतार गर्ने, लेख लेख्ने, कम्प्युटरका विभिन्न सामग्रीमा आफ्नो प्रस्तुतीकरण तयार गर्ने लगायतका कार्यलाई पनि प्रभावकारीरूपमा अघि बढाएको छ । यी सबै प्रक्रियाहरू विद्यालयमा गएर सिकेजत्तिकै प्रभावकारी छन् । विद्यालयले सुरुआतका दिनमा विद्यार्थीलाई सबै प्रकारका गृहकार्यलाई कम्प्युटरमा टङ्कण गरी पठाउन अनुरोध गरेको थियो, जसबाट विद्यार्थीले केही हदसम्म कम्प्युटरमा नेपाली तथा अंगेजी लेख्ने क्षमताको समेत विकास भएको थियो । तर धेरै अभिभावकबाट यो तत्काल सुरू गर्दा विद्यार्थीमा भन्दा धेरै बोझ थपिएजस्तो भयो भन्ने सुझाव प्राप्त भएकोले हाललाई यो ऐच्छिक बनाइएको छ ।

विद्यालयको यो सिकाइपद्धतिबाट अधिकांश विद्यार्थी तथा अभिभावक सन्तुष्ट छन् । विद्यार्थीले दैनिक तीन घण्टा अनलाइन कक्षा तथा थप तीन घण्टा त्यसको गृहकार्यमा समय व्यतित गरेको अवस्था छ । जसबाट विद्यार्थीले स्कुल गएजस्तै गरी दैनिक पठनपाठनमा संलग्न हुन पाएका छन् । यो सिकाइपद्धतिमा कक्षा १ का विद्यार्थीले समेत चासो दिई सहभागी भइरहेको देख्दा अभिभावकमा उत्साहको सञ्चारसमेत भएको छ ।

लक डाउनको कारणले अधिकांश विद्यार्थी तथा अभिभावक पठनपाठनको विषयमा अन्योल भइरहेको परिस्थितिमा सिफल स्कुलले सञ्चालन गरेको यसप्रकारको सिकाइपद्धति ‘एउटा नमुना सिकाइपद्धति’ नै हो । यो पद्धतिमा विद्यार्थीले विद्यालयको कक्षा कोठाबाहेक अन्य सबैप्रकारका क्रियाकलापमा संलग्न हुन पाएका छन् । कक्षाको समाप्तिपश्चात् विद्यार्थीले आफ्ना साथीहरूसँग व्यक्तिगत र सामूहिक अन्तक्र्रिया गरी आफ्ना अनुभवहरू आदानप्रदान गर्ने गर्दछन् ।

सिफल स्कुलले सञ्चालन गरेको यो अध्ययन अध्यापनको शैली कमै मात्र विद्यालयले गरेको पाइएको छ । यस्तै सिकाइपद्धति अरूहरूले पनि गर्ने हो भने अहिले विद्यार्थीका लागि खड्किरहेको सिकाइ अभावलाई यसले सजिलै पूर्ति गर्नसक्ने देखिन्छ । सिफल स्कुलको यो सिकाइपद्धतिलाई राज्यस्तरबाट अनुगमन गरी सुधार गर्नुपर्ने केही भए सम्बन्धित पक्षलाई पृष्ठपोषण गरी अन्य विभिन्न विद्युतीय माध्यममार्फत यो पद्धतिको अनुसरण गर्नसके अभिभावकको एउटा चिन्ताको समाप्ति हुनेछ र नियमित विद्यालय सञ्चालन भएजस्तै हुनेछ ।

सिफल स्कुलले यसप्रकारको सिकाइपद्धति सुरु गर्दा केही अभिभावकबाट विमति पनि आएको थियो यद्यपि विद्यालयको सिकाइ प्रक्रियामा सामेल हुँदै जाँदा कालान्तरमा सन्तुष्टि व्यक्त गरेको पाइएको छ । राज्यस्तरबाट हालसम्म पनि शैक्षिक लकडाउन भइरहेकै छ शैक्षिक क्रियाकलाप अघि बढाउने विकल्प प्रस्तुत नहुँदा अन्योल खेप्न बाध्य अभिभावकहरू यो सिकाइपद्धतिबाट सन्तोषको सास फेरिरहेका छन् । यति मात्र होइन, यो सिकाइपद्धति देखेर अभिभावकले विद्यालय गएर मात्र पढिने होइन कि घरमै बसेर पनि त्यतिकै अध्ययन अध्यापन पनि सम्भव हुने रहेछ भन्ने ज्ञानसमेत ग्रहण गरेको पाइएको छ ।

यस सिकाइपद्धतिमा सहभागिताका लागि कतिपय प्राविधिक समस्याहरू पनि रहेका छन् । एउटै घरमा दुई वा दुईभन्दा बढी बालबच्चा हुँदा सबैलाई विद्युतीय माध्यमहरू उपलब्ध गराउन अभिभावकलाई कठिनाइ हुनसक्छ । लामो समयसम्म विद्यार्थी आफ्नो पढाइमा व्यस्त हुँदा थोरै कोठा लिई बसेका अभिभावकलाई यसले असर गर्न सक्दछ । त्यस्तै सबै अभिभावक तथा विद्यार्थी यो प्रविधिमा अभ्यस्त नहुन सक्छन् । यसका अतिरिक्त लामो समयसम्म लक डाउन हुँदा विद्यालयलाई तिर्नुपर्ने शुल्कको अभाव हुन सक्दछ ।

यद्यपि, कठिन अवस्थामा विद्यालयले अभिभावकको समस्यालाई समाधान गर्ने विभिन्न विकल्पहरू प्रस्तुत गरेको थियो । विद्यालयले प्रस्तुत गरेका विकल्पहरूमा अधिकांश अभिभावकले सहमति जनाएर नै यसप्रकारको सिकाइपद्धतिअघि बढिरहेको छ र यसमा सबै विद्यार्थी ऐच्छिकरूपमा सहभागी भएका छन् । समस्याहरू जहाँ पनि हुन्छन् तर कठिन समयमा केहीमात्र विकल्पहरू बाँकी रहन्छन् । तीमध्ये उत्तम विकल्पको छनोट गर्नुबाहेक अरू उपाय रहँदैन । सिफल स्कुलले अंगिकार गरेको यो विकल्प उत्तम विकल्प नै हो ।

अभिभावकसँग नियमित अनलाइन बैठक गरी सुधार पृष्ठपोषणको लागि अनुरोध गर्ने गरेको छ । बिपत्को यस घडीमा विद्यालयको यसप्रकारको सिकाइपद्धति, अभिभावकबीचको यो घनिष्ठता, एकअर्काबीचको ऐक्यबद्धता, सहयोग र सद्भाव एक अनुकरणीय र टीठलाग्दोसमेत देखिएको छ । अहिलेको समय महाविपत्को समय हो । यस्तो अवस्थामासमेत सिफल स्कुलको यसप्रकारको मिहिनेत र परिश्रमप्रति आदरभाव र सम्मान व्यक्त गर्नै पर्दछ । सिफल स्कुलको यसप्रकारको सिकाइपद्धतिलाई अन्य विद्यालयले पनि एउटा अनुकरणीय उदाहरणको रूपमा ग्रहण गर्नसके घरमै बसी अध्ययन गर्ने सिकाइपद्धतिमार्फत ठप्प रहेको हालको शैक्षिक गतिविधि पुनः सञ्चालन हुनसक्ने देखिन्छ ।

प्रतिक्रिया