पुल नहुँदा लिप्टोकै भरमा आवतजावत

मुगु । सदरमुकाम गमगढी नजिकै रहको एक खोलामा पुल नहुँदा काठको लिप्टोमा आवतजावत गरिरहनुपरेको नागरिकले बताएका छन् ।

छायानाथ रारा नगरपालिका–१ अल्का साघुँमा पुल नहँुदा स्थानीयले एक वर्षदेखि काठको लिप्टोको भरमा जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।गमगढी–नाक्चालाग्न सडकअन्तर्गत पर्ने छायानाथ रारा नगरपालिका–१ अल्का साघुँमा काठे पुल बगाएको एक वर्ष बित्दा पनि पुल नहुँदा स्थानीय सानो काठको लिप्टोमा जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको आवतजावत गर्ने नागरिकले गुनासो गर्दै आएका छन् ।

गत वर्ष ३२ साउनमा परेको अविरल वर्षाका कारण गमगाढ खोलामा आएको बाढीले अल्का साघुँलगायत खोलामा रहेका दर्जन बढी काठे पुल बाढीले बगाएको एक वर्ष हँुदासम्म पुल मर्मतमा कसैको ध्यान गएको छैन । आजभोलि स्थानीय काठको लिप्टो लगाएर आवतजावत गर्न बाध्य भएका छन् ।

पुल नहुँदा तीर्थ जाने तीर्थालु, मुगुमकामरोङ गाउँपालिकाका स्थानीय र नगरपालिका–१०, ११, १२ वडाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । उनीहरूलार्ई सदरमुकाम गमगढीसम्म आवतजावत गर्न समस्या भएको छ भने पुल नहुँदा मान्छेसँगै गाईवस्तु वारपार गर्न समस्या भएकोे छायाँनाथ रारा नगरपालिका–४ का जगत भामले बताए ।

पुल बगाएपछि आवतजावतमा समस्या भए पनि सम्बन्धित सरोकारवाला निकायले बेवास्ता गरेका छन् र पुल बनाउन सकिरहेका छैनन् । अल्का साघुँको पुल मात्र नभएर लुमडकी, पानीखोला, पिना खोला लगायतका दर्जन बढी पुल बाढीले बगाएको एक बर्ष हुँदा पनि मर्मतमा ध्यान नदिनु भनेको मुगुका नेता, सरोकारवाला निकायको गैरजिम्मेवारपन भएको नागरिकले बताएका छन् ।

प्रतिक्रिया