खेलकूद प्रशिक्षक राईको निधन

काठमाडौं । सल्यान जिल्ला खेलकूद विकास समितिअन्तर्गत एथलेटिक्सका सहायक प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । ब्रेन ट्युमरबाट पीडित ५२ वर्षीय राईको सोमबार राति भक्तपुरस्थित क्यान्सर सेन्टरमा निधन भएको हो ।

प्रशिक्षक राईको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी दिए । उनि गत वर्ष चैतमा उपचारका लागि सल्यानबाट काठमाडौं आएका थिए । राई २०५२ सालमा एथलेटिक्सको सहायक प्रशिक्षकका रुपमा सल्यानमा नियुक्त भएका थिए ।

उनको गत वैशाख अन्तिम साता काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको सचिव विष्टले बताए । ‘संघकै पहलमा राईको उपचारका लागि हामीले रु १० लाखभन्दा बढी सहयोग जुटाएका थियौँ’, उनले भने ।

प्रशिक्षक राईलाई गत जेठको पहिलो सातादेखि काठमाडौंं क्यान्सर सेन्टरमा भर्ना गरिएको थियो । सल्यानमा निरन्तर प्रशिक्षणमा संलग्न राईले राष्ट्रियस्तरका खेलाडी उत्पादन गरेको संघका सचिव विष्टले बताए । राईका एक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया