पर्सामा थपिए ३४ कोरोना संक्रमित

काठमाडौं । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार थपिएका संक्रमितमा डाक्टर, सेना र पत्रकार पनि रहेको नारायणी अस्पतालले जनाएको छ ।

आज थपिएकामा दुई बालक र चार महिला समेत छन्। संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेको जनाइएको छ । संक्रमित चार जना महिलाहरुको उमेर १६, २६, २८ र ४९ रहेको छ।

यस्तै सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको छ। यसैगरी वीरगंज–११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ।

आज थपिएका संक्रमितमा नारायणी अस्पताल वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी समेत छन्। चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाही र एक २२ वर्षीय सञ्चारकर्मी सहित वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भएका छन्।

प्रतिक्रिया