खतरनाक मोडमा प्रचण्ड

सत्तारूढ नेकपाभित्रको अन्तर अन्तरद्वन्द्व तत्कालका लागि समाधानको दिशातर्फ अघि बढेको छ । अन्तरद्वन्द्वका मुख्य पक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरूले सरकार परिवर्तनलाई भन्दा पार्टी एकतालाई प्राथमिकता दिने लाइन अघि सारेपछि अन्तरद्वन्द्व समाधानको दिसातर्फ अघि बढेको हो । गत १० असारदेखि सुरु भएको स्थायी समितिको बैठकमा प्रचण्ड पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि नेकपाभित्र अन्तरद्वन्द्व सुरु भएको हो । प्रधानमन्त्री ओली कुनै पनि हालतमा सत्ता छाड्न नचाहने तर प्रचण्ड पक्षले एक व्यक्ति एक पदको अवधारणा कुनै पनि हालतमा कार्यान्वयन गरेरै छाड्ने अडान लिएपछि नेकपाको अन्तरद्वन्द्व चुलिँदै गएको थियो । आफू सत्ताबाट नहट्ने रणनीतिका लागि प्रधानमन्त्री ओली जस्तोसुकै कदम चाल्न पनि तयार देखिए । पार्टी विभाजन गरेरै भए पनि आफू सत्तामा टिकिरहने प्रधानमन्त्री ओलीको रणनीतिपछि पार्टी एकताका पक्षधर नेताहरू हच्किए । उनीहरूसामु दुई वटा विकल्प मात्रै देखिए । एउटा ओलीको विकल्पमा प्रचण्डलाई अघि सारेर पार्टी एकता टुटाउने कि ? प्रधानमन्त्री ओलीको खराव कार्यशैली स्वीकार गर्दै पार्टी एकतालाई निरन्तरता दिने ? यी दुई विकल्पमध्ये प्रचण्ड पक्षधर अर्थात तत्कालीन माओवादीका अधिकांश नेताहरूले दोस्रो विकल्प रोजे । उनीहरूले रोजेको यो विकल्पका कारण प्रचण्ड आफ्नो अभियानमा कमजोर भए । आफ्नो अभियान कमजोर भएकैले प्रचण्ड पछि हटेका हुन् ।

प्रचण्डको पृष्ठभूमि, कार्यशैली तथा चरित्रको विश्लेषण गर्ने हो भने नेकपा भित्रको द्वन्द्व स्थगित भएको मात्रै हो, समाधान भएको होइन । शक्ति सञ्चयका लागि मात्रै प्रचण्ड पछि हटेका हुन् । आफ्नो अभियानलाई उनले भित्रभित्रै निरन्तरता दिने प्रष्ट छ । यसैगरी यो द्वन्द्वमा अर्को पक्ष पनि निकै नै सवल छ । त्यो पक्ष हो, ‘तत्कालीन एमालेको माधवकुमार नेपाल पक्ष ।’ प्रचण्ड तत्कालका लागि मत्थर देखिए पनि माधव नेपाल पक्ष आफ्नो अडानमा टसमस छैन । प्रधानमन्त्री ओलीलाई हटाउने अभियानमा सहयोग पुग्ने ठानेर नै माधव नेपाल पक्षले प्रचण्डको साथ दिएको हो । वैचारिक तथा कार्यशैलीगत रूपमा भन्ने हो भने माधव पक्षका लागि ओलीभन्दा प्रचण्ड निकट होइनन् । माधव पक्षको वैचारिक लाइन भनेको मदन भण्डारीको बहुदलीय जनवाद हो । प्रधानमन्त्री ओली पक्ष पनि बहुदलीय जनवादमा कट्टर छ, तर प्रचण्ड बहुदलीय जनवादको विकल्पको खोजीमा छन् । यसैगरी माधव पक्षको लाइन भनेको पार्टीमा मेरिटका आधारमा अवसर तथा भूमिका दिनुपर्छ भन्ने हो । तर, प्रचण्डको कार्यशैली तथा चरित्र हेर्ने हो भने परिवारवाद तथा नातावादमा केन्द्रित देखिन्छ । पार्टीका निम्ति अवसर आउँदा सकेसम्म आफ्ना नातेदार तथा परिवारका व्याक्तिहरू खोज्ने र त्यसपछि आफ्ना हनुमान खोज्ने प्रचण्डको चरित्र हो । बरु प्रधानमन्त्री ओली हनुमानवादमा केन्द्रित रहे पनि परिवारवाद र नातावादमा त्यतिधेरै लिप्त देखिएका छैनन् । त्यसैले मेरिटका आधारमा अवसर प्रदान गर्नुपर्ने अभियानमा रहेको माधव पक्षले हनुमानवाद र परिवारवादमा लिप्त प्रचण्डलाई स्थायी रूपमा साथ दिने संभावना छैन ।

प्रधानमन्त्री ओलीको जुन कार्यशैलीविरुद्ध माधव पक्ष उभिएको छ त्यो कार्यशैलीका मतियार प्रचण्ड पनि हुन् । पार्टी एकीकरण भएपछि यो पक्ष र त्यो पक्ष भन्नुभन्दा पनि मेरिटका आधारमा अवसरको बाँडफाँड गर्नुपथ्र्यो । तर, प्रचण्डकै सक्रियतामा मेरिटलाई कुल्चेर हनुमानवाद र परिवारवाद लागू गरिएको हो । उदाहरणका लागि अष्टलक्ष्मी शाक्य भूमिकाविहीन भएर बस्नुपर्ने तर विना मगरले निरन्तर मन्त्री पाइरहनुपर्ने अवस्थाका सिर्जनाकार ओली मात्रै होइनन्, यो मामिलामा प्रचण्डको पनि उत्तिकै भूमिका छ । प्रचण्ड जत्तिको नेताले भागबन्डा खोज्नु हुँदैनथ्यो, भागबन्डा खोजे ठिकै भयो, तर त्यो भागबन्डामा उनले कस्ता कस्तालाई अघि सारे त ? भन्ने प्रश्न निकै पेचिलो छ । यथार्थमा भन्नुपर्दा वर्तमान ओली सरकार बद्नाम हुनुका मुख्य कारक भनेका खानेपानी मन्त्री विनामगर र ठेकेदार शारदा अधिकारी हुन् । मन्त्री मगर प्रचण्डकी आफ्नै बुहारी हुने भने ठेकेदार अधिकारी प्रचण्डका घरबेटी हुन् । त्यसैले ओलीको विकल्पमा प्रचण्ड अघि सार्ने रणनीतिले अन्तत्वगत्वा माधव नेपालका लागि पनि प्रत्युपादक हुन सक्छ ।

प्रतिक्रिया