कोरोना संक्रमितः प्लाज्मा थेरापीबाट उपचार

काठमाडौं । विराटनगरका ६० वर्षीय पुरुष साउन १० त्रिवि शिक्षण अस्पताल भर्ना भए । कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शुरुमा निमोनियाको समस्या रहेको उनको अवस्था झनै विग्रदै गयो ।

ती पुरुषको स्वास्थ्य अवस्था बिग्रदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्न शुरु गरियो । उनको स्वासप्रश्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको थियो । स्वास्थ्य झन बिग्रदै गएपछि अस्पतालले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्ने निर्णय लियो । नेपालमा पहिलो पटक यस थेरापीबाट उपचार गर्ने निर्णय लिएपछि त्यसको तयारी गरिएको अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा सन्तकुमार दासले बताए ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । कुनै पनि बिरामीलाई प्रतिरोधी क्षमता बढाउन सक्ने प्लाज्मा दिँदा उसमा पनि रोग प्रतिरोधी क्षमता विकास हुने र थप शक्तिसँग बिरामीले रोगसँग लड्न सक्छ भन्ने मान्यता यो विधिमा छ । यद्यपी यसको नतिजा उत्साहजनक भने अहिलेसम्म विश्वमा देखिएको छैन ।

यसको लागि एन्टिबडी विकास भएका मानिसको रगतबाट प्लाज्मा निकालिन्छ र त्यसलाई बिरामीको शरीरमा पठाइन्छ । यो विधिबाट बेलायत, भारतलगायतका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) का बिरमीको उपचारको प्रयास गरिएको थियो । यो विधिले बिरामीलाई छिटो निको पार्न सहयोगी भूमिका मात्र निर्वाह गर्ने विशेषज्ञहरूले बताउँदै आएका छन् ।

अस्पतालले पनि सोही विधीबाट उपचार गर्ने निर्णय गर्यो र कोरोना संक्रमणबाट निको भएका एक पुरुषको प्लाज्मा दिने तयारी गरे । २६ वर्षीय युवकको प्लाज्मा गत विहिवार ६० वर्षीय ति पुरुषलाई दिइएको हो । डा. दासकाअनुसार शुरुमा एण्टीभाइरल रेम्डिसिभिर चलाइएको थियो । त्यसले पनि स्वास्थ्यमा सुधार नआएपछि प्लाज्माथेरापी गरिएको हो । उनलाई अब आईसीयूबाट निकाल्ने तयारी भइरहेको छ । ‘सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको थियो’ डा. दासले भने ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको छ ।’

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ । परिषद्ले निको भएका संक्रमितहरूलाई इच्छा अनुसार प्लाज्मा दान गर्न पनि आग्रह गरेको छ । विश्वमा कोरोना संक्रमणका कारण गम्भीर बिरामी परेकाहरुलाई प्लाज्मा थेरापीमार्फत उपचार गरिँदै आइएको छ । नेपालमा भने कोरोना संक्रमितमा लक्षण नै नदेखिएकाले यो विधि प्रयोग गरिएको थिएन ।

प्रतिक्रिया