‘स्थिति भयावह बन्नसक्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायले कोरोना संक्रमणको महामारी भयावह बन्न सक्ने चेतावनी दिएको छ । जनस्तरबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नभईरहेकोमा चिन्ता व्यक्त गर्दै स्थिति भयावह बन्ने चेतावनी दिएको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अहिले देखिएको कोरोना संक्रमणको अवस्था बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने बताएका हुन् । अवस्था काबु बाहिर जान नदिन बाहिरि जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्ने र पीसीआर परीक्षणको दायरा बढाउने तयारीमा मन्त्रालय लागेको उनको भनाई छ ।

६० वर्षमाथिका र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह

उनले भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टिनमा राख्ने खालको व्यवस्थापनमा हामीले जोड दिनुपर्छ । दोस्रो, गाडी चलाउने कुरामा पनि जोर–बिजोर प्रणालीको लागु गरियो भने त्यसले एकहदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ । अति आवश्यक भएको ठाउँमा हामीले पीसीआर टेस्टको निम्ति स्वाब कलेक्सन गर्ने खालको निकायलाई अझ प्रभावकारी र व्यवस्थित बनाएर जानुपर्छ ।’

सरकारी तथ्यांक अनुसार सबैभन्दा बढि जनघनत्व भएको काठमाडौंमा आइतवारसम्म ६१२ जना संक्रमित रहेका छन् । जसमध्ये ४ सय भन्दा बढि संक्रिय संक्रमित रहेका छन् । आइतवारमात्रै टेम्पो चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनि स्वाब संकलन गरेर पनि टेम्पो चलाईरहेका थिए । जसले गर्दा समुदायस्तरमा फैलिन सक्ने चेतावनी विज्ञहरुले पनि दिदै आएका छन् ।

संक्रमणदर ह्वात्तै बढे बिरामीको चाप अस्पतालहरूले थेग्न कठिन हुनेतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन् । सरकारसँग लकडाउन सुरु गरेको समयमा आईसीयू शय्या १ हजार ५५१ र ७७० भेन्टिलेटर रहेकोमा अहिले त्यो संख्यामा २०० जति मात्रै वृद्धि भएको तथ्यांकले देखाउँछ । स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्य मापदण्डको उल्लधंन भए भेन्टिलेटर पाउन नसक्ने अवस्था आउने चेतावनी पनि दिदै आएको छ ।

मन्त्री ढकालले पनि नागरिकको व्यवहारले लकडाउन लागु गर्ने वा नगर्ने भन्ने अवस्थाको आकंलन गरिने बताए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जस भ्यान्डलियरले संक्रमितहरुको संख्या बढ्दै गए नेपाल सरकारले पुनः लकडाउन गर्न सम्भावना आउन सक्ने इंगित गरेका छन् । उनका अनुसार लकडाउनपछिको अवस्थामा मानिसहरु कोभिड–१९ महामारीभन्दा पहिलाको अवस्थाझैं बिना कुनै सुरक्षाका उपाय अवलम्बन गर्दै हिँडडुल गरिरहेकाले सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना बढेर गएको छ ।
संक्रमित थपिदै

देशभरमा आइतबार थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा आठ हजार ८६१ जनाको पिसीआर नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमध्ये ७२ प्रतिशत निको भएको र मृत्यु हुनेमा ०.२८ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पर्सामा शनिबार साँझ ६८ वर्षकी एक महिलाको निधन भएको छ । मधुमेहको बिरामी उक्त महिलामा यही साउन १६ गते कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।

यसैबीच, प्रवक्ता डा गौतमले ६० वर्षमाथिका र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गरेका छन् । उनले सरकारले यही साउन १४ गते कोभिड–१९ का विषयमा गरेको निर्णयअनुसार आरडिटी परीक्षण नगर्ने निर्णय भएको हँुदा केन्द्र तथा प्रदेश सरकार सबैले उक्त निर्णयको पालना गर्न आग्रह गरे । मास्क, सेनिटाइजर प्रयोग गरी सुरक्षित रहन प्रवक्ता डा गौतमको आग्रह छ ।

प्रतिक्रिया