संगीतमा मनोजको विविधता

काठमाडौं । नेपाली सुगम संगीत तथा पाश्र्व संगीतका लागि मनोज राजभण्डारी कुनै नौलो नाम होइन । संगीत संयोजन, पाश्र्व ध्वनि र मिक्सिङको उनी पर्याय नै हुन् । नेपाली चलचित्रमै उनले दुई दशकको यात्रा पूरा गरिसकेका छन् । २०३१ साल असार १५ मा काठमाडौं–१६ बालाजुमा ध्रुव नारायण र मायाको सन्तानका रुपमा जन्मिएका मनोजको तीन दिदीबहिनी र एक दाजु छन् ।

सानैदेखि संगीतमा रमाउने मनोजले बालाजुको होली गार्डेन स्कुलमा अध्ययन गरिरहँदा उनले त्यही संगीत सिक्ने मौका पाए । गायक तथा प्रधानाध्यापक किरण प्रधानको निगरानीमा उनले संगीततर्फको मोहसँगै संगीतमा शिक्षा हासिल गर्ने अवसर पाएको बताए । २०४८ सालमा उनले तरुण माविबाट एसएलसी उत्तीर्ण गरेपछि पिपल्स क्याम्पसबाट कलेज जीवन सुरु गरे ।

उनले सिटिइभिटीबाट मान्यताप्राप्त बालाजु प्राविधिक प्रशिक्षण केन्द्रबाट मेकानिकल इञ्जिनियरिङ कोर्स पनि पूरा गरे । उनले त्यो समयमा गजल रेस्टुरेन्ट तथा म्युजिक इभेन्टहरुमा आफ्नो वाद्यवादन कला देखाए । उनको कलामा गायक आनन्द कार्की, गायिका सपना श्री जस्ता कलाकारले साथ दिए ।

२०५० सालमा उनले साउण्ड इञ्जिनियर भिनाजु सञ्जय श्रेष्ठबाट संगीत संयोजनको प्रशिक्षण लिए । २०५२ सालमा उनका भिनाजु सञ्जयले आधुनिक रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याए । श्रेष्ठले स्टुडियोमा अत्याधुनिक हार्डडिस्कमा अडियो रेकर्डिङ हुने प्रविधि भित्र्याएका थिए । उनले त्यही वर्ष ओम्निफोनिक्स रेकर्डिङ स्टुडियो स्थापना गरे ।

त्यसै स्टुडियोबाट राजभण्डारीले म्युजिक प्रोग्रामिङ गर्ने अवसर पाए । गायक प्रेमध्वज प्रधान, आनन्द कार्की, सपनाश्री, राजेशपायल राई, थुप्तेन भुटिया जस्ता स्रष्टा मनोजको कामबाट सन्तुष्ट थिए । यही क्रममा चलचित्र ‘गुन्यो चोली’ मा संगीतकार अनिल शाहीको संगीतमा म्युजिक एरेञ्ज गरे । उनले संगीतकार राजु सिंह, सुरेश अधिकारी, आलोक श्री, वसन्त सापकोटा, चेतन सापकोटासँग सहकार्य गरिसकेका छन् ।

संगीतकार लक्ष्मण शेषसँग उनले ‘सिन्दुर पोते’, ‘मन’, ‘कर्णवीर’, ‘माइती’, ‘मुना मदन’ मा सहकार्य गरे । उनले २०५६ सालमा गायिका कमला महर्जनसँग विवाह गरे । उनले गरेका चलचित्रमध्ये ‘आफन्त’ को ‘पाउजुको छम छम’, ‘सिन्दुर पोते’ को ‘परदेशी लोभिन्छ निलो चोलीमा’ जस्ता गीत लोकप्रिय बन्यो । उनले संगीतकार शम्भुजित बास्कोटासँग ‘राजु राजाराम’, ‘अग्निपथ’, ‘म तिमी बिना मरिहाल्छु’, ‘साथी म तिम्रो’ लगायतका चलचित्रमा काम गरे ।

मनोज कुशल एरेञ्जर त छँदैछन्, उनी पाश्र्व ध्वनि र साउण्ड मिक्सिङमा पनि उत्तिकै पोख्त छन् । उनले दर्जनौं नेपाली चलचित्रमा ब्याकग्राउण्ड म्युजिक, साउण्ड मिक्सिङ, म्युजिक एरेञ्ज गरेर थुप्रै अवार्ड जितिसकेका छन् । उनले ‘पिरती आफैं हँुदो रहेछ’, ‘गोर्खा रक्षक’, ‘धुम’, ‘त्रिनेत्र’, ‘ब्लायक डायरी’, तँ त साह्रै सप्रिस नि बद्रि’ लगायतका चलचित्रमा संगीत पनि भरेका छन् ।

उनले कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) को टेलिफिल्म ‘टिकेको तीन मन्त्र’ पनि काम गरिसकेका छन् । उनले महकै ‘भाइरस’, ‘सृष्टि’, ‘मह चौतारी’, ‘जलपरी’, ‘मदनबहादुर हरिबहादुर’ जस्ता सिरियलमा म्युजिक एरेञ्ज र ब्याकग्राउण्ड म्युजिक गरिसकेका छन् । चलचित्र ‘जात्रा’ मा गरेको साउण्ड मिक्सिङ र ब्याकग्राउण्ड म्युजिकबाट उनले अवार्ड पनि जितेका छन् ।

उनले २०७५ सालमा पहिलो पटक शम्भुजित बास्कोटासँग संयुक्तरुपमा चलचित्र ‘चौका दाउ’ निर्माण गरे । हाल उनी एनएफडिसी (नेपाल फिल्म डेभलपमेन्ट कम्पनी) मा संगीत संयोजकको रुपमा कार्यरत् छन् । अहिले उनी आफ्नै ब्यानरको चलचित्र ‘मन्त्र’ को काममा व्यस्त छन् ।

प्रतिक्रिया