सीमानाका सिल हुँदा पनि रोकिएन तस्करी

सर्लाही । कोरोना भाइरसको संक्रमणका कारण चैत ११ गतेदेखि हालसम्म नेपाल–भारत सीमानाका सिल गरिएको छ । तर, सर्लाहीमा भने प्रहरी प्रशासनको सेटिङमा तस्करले जिल्लास्थित विभिन्न चोर नाकाबाट भारतीय सामग्रीहरुको खुलेआम तस्करी गर्दै आएका छन् ।तस्करहरुको बढ्दो सक्रियताले यस क्षेत्रमा तस्करीमा तीव्रता आएको छ ।

सर्लाही जिल्लास्थित पर्सा, त्रिभुवन नगर, मलङ्ग्वा, भाँडसर, फेन्हारा र बलरा स्थित रहेको चोर नाकाबाट दिनहुँ भारतीय सामग्रीहरुको चोरी–निकासी हुने गरेको छ । भन्सार छलेर ल्याइने भारतीय सामग्रीहरुमा चिनी, तेल, चामल, मल, खाद्य, स्पेयर पार्टस्, कुखुराको चल्ला, अन्डा, कस्मेटिक तथा खेलकुद लगायतका सामग्रीहरु छन् । तस्करहरुले नेपाल तर्फबाट सुपारी, मरिच, मदिरा, अलैंची, गाइ–गोरु र चाइनिज इलेक्ट्रोनिक सामग्रीहरु भारततर्फ चोरी–निकासी गर्दै आएका छन् ।

उल्लेखित नाकाहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ रहेपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन । सुरक्षाकर्मीहरुकै मिलेमतोमा यस क्षेत्रबाट तस्करी हुदै आइरहेको स्थानीय वासिन्दाहरु बताउँछन् । सदरमुकामदेखि ग्रामीण भेगसम्म कुरेर पैसा असुल्ने काममा प्रहरीनै संंलग्न रहेको फेला पर्दै आएका छन् । ग्रामिण भेगबाट हुने काठको निकासीमा प्रहरीले ठाउँ–ठाउँमा पैसा लिएर निर्वाध ओसारपसारको छुट दिनु प्रहरीको ड्युटी बनेको स्थानियहरु बताउँछन् ।

तस्करीमा सीमानाकामा रहेका सुरक्षाकर्मीकै संलग्नता छ । माथिल्लो हाकिमहरुलाई मिलाएर यहाँ तस्करीको लाइन सञ्चालन भइरहेको छ । मासिक रकम दिएर सञ्चालित तस्करी फस्टाउँदै गएको छ । माथिल्लो निकायले तस्करी नियन्त्रण गर्न तत्काल पहल गर्नुपर्ने स्थानीय वासिन्दाहरु बताउँछन् । तर, तस्करी रोक्नेतर्फ भने कुनै पहल नभएको र सर्लाही प्रहरी प्रशासन भने मौन रहेको देखिन्छ ।

गत जेठ महिनामा लकडाउनको समयमा भारतिय सिमानाकासँग जोडिएको सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने विष्णु गाउँपालिकास्थित रहेको बाराउधोरण प्रहरी चौकीका इन्चार्जसहित चारजना प्रहरीले तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सहयोग गरेको प्रमाण फेला परेपछि संघीय इकाई प्रहरी कार्यालय जनकपुरले तत्काल उनीहरुलाई निलम्बन गरि थप कारबाहीको लागि संघीय इकाई प्रहरी कार्यालय जनकपुर लगेका थिए । सीमानाका सिल भएको समयमा पनि तस्करलाई भारततर्फ सामान ओसारपसार गर्ने काममा सर्लाही प्रहरीको संलग्नता रहँदै आएको छ ।

प्रतिक्रिया