कोरोना संक्रमणः लकडाउन खुलेपछि बढ्यो

काठमाडौं । साउन ७ गतेबाट लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या वृद्धि हुन थालेको छ । संक्रमितको संख्या वृद्धिसँगै मृतकपनि बढ्न थालेका हुन् । लकडाउनका बेला भन्दा लकडाउन खुलेपछि संक्रमितको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

लकडाउन खुल्नुअघि र लकडाउन खुलेपछिको ११ दिनको तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जानकारी दिएको छ । लकडाउन खुल्नअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो । कुल परीक्षण भएकामध्ये २.८ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो ।

लकडाउन खुलेपछि भने मानिसहरुको आवातजावतले गर्दा संक्रमितको संख्या बढेको छ । लकडाउन खुलेको ११ दिनसम्म ५८ हजार १७४ नमुनाको पीसीआर परीक्षणमा दुई हजार ९२ जना नयाँ संक्रमित देखिएका थिए । अर्थात कुल परीक्षणमध्ये संक्रमितको संख्या ३.६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयले लापरवाही गर्दै जाने हो भने स्थिति अझै भयावह हुन सक्ने चेतावनी समेत दिएको छ ।

संक्रमितको संख्या २० हजार नाध्यो
संक्रमण ‘रोग’मा फैलेन विज्ञको चेतावनी
सांसद र मेयर नै संक्रमित
स्थानीय तहद्वारा धमाधम लकडाउन

लकडाउन खोलेपछि मानिसहरु निस्फिक्रि हिडडुल गरेकाले पनि संक्रमण फैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन् । उनिहरुले रोकथामका लागि प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’का रुपमा फैलिन सक्ने चेतावनी पनि दिएका छन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख एवं सरुवा रोग विशेषज्ञ डा. बाबुराम मरासिनिले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए । संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाई गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले पनि भारतलगायत तेस्रो मुलुकबाट आएका मानिसलाई क्वारेन्टाइनमा नराख्ने, विना परीक्षण घर पठाउने जस्ता कार्य नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले क्वारेन्टाइनमा नराखी घर पठाइदिने र पिसिआर परीक्षण पनि नगर्ने गरेको पाइएको बताए । ‘यस्तो अवस्था भनेको चिन्ताको विषय हो’, उनले भने, ‘रिपोर्ट नेगेटिभ आए होम क्वारेन्टाइन र पोजेटिभ आए आइसोलेसनमा पठाउनुपर्छ ।’

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुनसक्ने चेतावनी दिए । उनले जोखिमयुक्त ठाउँबाट आएका मानिसहरु क्वारेन्टाइनमा नबस्दा नै समुदायस्तरमा संक्रमण फैलिएको बताए । संक्रमण रोकथामको उपाय लकडाउन मात्रै नभएकाले आवश्यक सावधानी सबैले अपनाउनुपर्ने डा. बास्तोलाको मत छ ।

स्थानीय तहमा लकडाउन र निषेधाज्ञा
समुदाय स्तरमा कोराना संक्रमण फैलिएको आशंका गरेपछि स्थानीय सरकारले अवस्था हेरेर लकडाउन र निषेधाज्ञा शुरु गरेका छन् । विराटनगरले १४ दिनको लकडाउन गरेको छ भने पछिल्लो समय सबैभन्दा बढि प्रभावित देखिएको वीरगञ्जले पनि निषेधाज्ञा गरिसकेको छ । बाराले आइतवारदेखी, महोत्तरीका केही स्थानीय तहले पनि निषेधाज्ञा गरिसकेका छन् ।

सबैभन्दा बढि प्रदेश–२ मा अहिले संक्रमण पाइएको छ । प्रतिनिधिसभाका सांसद प्रदीप यादवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार उनलाई कोरोना भाइरस भएको आफैले जानकारी दिएका छन् । विभिन्न जिल्ला भ्रमण गरेर फर्किएका उनमा संक्रमण देखिएको हो । यसैगरी, वीरगञ्जका मेयर पनि कोरोना संक्रमित भएका छन् ।

संक्रमित २० हजार
मुलुकभर शनिवारसम्म २० हजार संक्रमित पुगेका छन् । शनिवार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको हो । २४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । २४ घन्टामा ६ हजार ९९३ परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुुसार शनिबारसम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ । शनिवार सबैभन्दा बढि कैलालीमा ८९, बझाङमा ६८, पर्सामा ६६ र इलाममा २२ जना संक्रमित भेटिएका हुन् । इलाममा भेटिएकामध्ये अधिकाशं सशस्त्र प्रहरी रहेका छन् ।

बझाङमा लापरवाहीले संक्रमित बढे
केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु वडा नम्बर ६ र ७ का बासिन्दा भएको र उनीहरु सबै भारतबाट नेपाल फर्किएको गाउँपालिकाले जनाएको छ ।

संक्रमितहरु थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडालगायतका गाउँका स्थानीय हुन । उनीहरु ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । यद्यपि घर गएका संक्रमितहरु होमक्वारेन्टाइनमा बस्ता पालना गर्नु पर्ने नियमहरु बेवास्ता गर्दै सामान्य मानिसझैं समुदायमा घुलमिल भइसकेको स्थानीयले बताएका छन । संक्रमित बढेपछि गाउँपालिकाले लकडाउन लगाएको छ ।

प्रतिक्रिया