कविता ‘प्रशंसा’

   राजेन्द्र कार्की

मान्छे कंजुस् छ
प्रशंसा लिन मात्र खोज्छ
दिन मान्दै मान्दैन ।
करकस् स्वरहरु सूरिलो धून बन्दछन्
ढ्वास् परेका अनुहार चमक्क चम्कन्छन्
चाउरी परेका चर्महरु तनक्क तन्किन्छन्
मुस्कुराउन नजानेकाहरु मुस्कुराउछन्
तरपनि मान्छे कंजुस् छ
प्रशंसा लिन मात्र खोज्छ
दिन मान्दै मान्दैन ।
मस्त निद्राका कुम्भकर्णहरु बिउझन्छन्
अल्छी कारिन्दाहरु जागरिला बन्दछन्
जोश जागर मरेकाहरु जुरुक्क उठ्दछन्
आशा मरेकाहरुको आशा पलाउछन्
तरपनि मान्छे कंजुस् छ
प्रशंसा लिन मात्र खोज्छ
दिन मान्दै मान्दैन ।
बोली नफुट्नेहरु बोल्न थाल्दछन्
टुटेका सम्बन्धहरू पुनः जोडिन्छन्
घृणाले भरिएका घैलाहरु प्रेमले भरिन्छन्
औशीको रातमापनि जुनहरू झुल्किन्छन्
तरपनि मान्छे कंजुस् छ
प्रशंसा लिन मात्र खोज्छ
दिन मान्दै मान्दैन ।
जहा प्रश्नै छैन, उतरै उतर छ
जहा हारै छैन, जितै जित छ
जहा घृणै छैन, प्रेमै प्रेम छ
जहा गन्धै छैन, सुगन्धै सुगन्ध छ
तरपनि मान्छे कंजुस् छ
प्रशंसा लिन मात्र खोज्छ
दिन मान्दै मान्दैन ।
न त लगानी छ
न त डुब्ने डर छ
नाफै नाफा छ
घाटा त के छ ?
तरपनि मान्छे कंजुस् छ
प्रशंसा लिन मात्र खोज्छ
दिन मान्दै मान्दैन ।

दांवा, भोजपुर, हालःभ्यान्कुभर

प्रतिक्रिया