खोजखबर

मध्य महामारीमा अमेरिकामा चुनावी सरगर्मी

मधुकर अधिकारी २०७७ साउन १५ गते ६:४१ मा प्रकाशित

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वसमुदाय महिनौँदेखि आक्रान्त छ । यो महामारीबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका भएको छ र यहाँ ४३ लाखभन्दा बढी मानिसमा संक्रमण फैलिएको छ । यहाँका १ लाख ४९ हजारभन्दा बढी मानिसको यही महामारीबाट ज्यान गइसकेको छ ।

यतिबेला अमेरिका मध्य महामारीमा छ जस्तो देखिन्छ । तैपनि नागरिक कोरोनाको कहरमा रहेको यस समयमा यहाँ भने आगामी नोभेम्बरमा हुने निर्वाचनको सरगर्मी बढेको देखिएको छ । लगभग विश्वकै ध्यान खिच्ने गरेको अमेरिकी राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बर ३ मा हँुदैछ । त्यस दिन हुने निर्वाचनले अमेरिकाको ५९आैँ राष्ट्रपति चयन गर्नेछ । चुनावी मिति आउन सय दिनभन्दा केही बढी भएको अवस्थामा कोरोना भाइरसका संक्रमित र यसबाट मृत्यु हुने नागरिकको संख्या भने फेरि पनि उकालो लागिरहेको देखिएको छ । यस्तो अवस्थालाई यहाँका केही जनस्वास्थ्य विज्ञहरूले मध्य महामारीको नाम दिएका छन् । अनि कतिपयले भने यस्तो अवस्थामा निर्वाचनको अभियान सुरु हुने बताइरहेका छन् । तर, चुनावी अभियानको प्रचारप्रसार र सामाजिक सञ्जालमा देखापरेका विज्ञापनहरू हेर्ने हो भने अमेरिका कोरोना भाइरससँग जुध्नेभन्दा पनि बढी चुनावमा ध्यान केन्द्रित गरेको देखिन्छ ।

चीनको वुहानबाट उत्पन्न भएर युरोप हुँदै अमेरिका भित्रिएको ठानिएको कोरोना भाइरसले अमेरिकाको राजनीतिमा कस्तो उथलपुथल ल्याउला भन्ने कुरा भने अहिले नै भन्न गाह्रो छ । तैपनि एउटा सत्य के हो भने अमेरिकाले जति नै कोरोना भाइरसका कारणले क्षति बेहोर्नु परेको विश्वमा अर्को राष्ट्र छैन । यसको सामाजिक आर्थिक क्षतिका बारेमा अहिलेसम्म ठोस रिपोर्ट सार्वजनिक भइसकेको भने छैन ।

यस्तो अवस्थामा हुन लागेको निर्वाचनको नतिजा अमेरिकीलाई मात्र नभएर विश्वलाई समेत व्यग्र प्रतिक्षाको विषय बनेको छ । चुनावी मैदानमा उत्रिएर पुनः आफूलाई निर्वाचित गराउन आह्वान गर्दै अभियानमा होमिएका राष्ट्रपति डोनाल्ड ट्रम्प संकट समाधानका लागि आफ्नो प्रशासनले समयमा नै महत्वपूर्ण निर्णय लिन सफल भएको भन्दै बचाउ गर्दै आएका छन् । उनले आफ्ना समर्थकको माझमा उभिएर महामारीको घडीमा उपलब्ध स्रोत र साधन उपलब्ध गराएर जनताको जीवनरक्षा गर्न आफ्नो प्रशासनले भरमग्दुर प्रयास गरेको दोहोराउने गरेका छन् ।

तर, विपक्षी पार्टीका उम्मेदवार जो वाइडनले भने कोरोना भाइरसका कारण उत्पन्न संकटलाई सम्बोधन गर्न नसकेको भन्दै ट्रम्प प्रशासनको चर्को आलोचनामा आफ्नो ध्यान केन्द्रित गरेको देखिन्छ । जो वाइडनले विज्ञहरूले दिएको सुझावविपरीत सार्वजकि स्थानमा ट्रम्पले मास्क नलगाएर भाइरसलाई खेलबाड गरेका छन्, कुनै वैज्ञानिक तर्क र प्रमाणविना नै जुन पायो त्यही औषधि कोरोनाका लागि उपयुक्त हुने भन्दै सिफारिस गरेको मात्र नभई सार्वजनिक अभिव्यक्ति नै दिएका कारण उनी पदमा बस्नयोग्य नरहेकोे टिप्पणी गर्दै आएका छन् ।

विश्वको महाशक्ति देशको शासनको बागडोर सम्हाल्ने राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसलाई चाइनिज भाइरसको संज्ञा दिँदै आप्रवासीसम्बन्धी व्यवस्थाको आलोचना गर्ने मतदातालाई आफ्नो पक्षमा पार्न प्रयासरत रहेका छन् । तर, बितेका चार वर्षमा ह्वाइट हाउसमा सेवा गरेर विभिन्न कारणले बाहिरिएकादेखि विभिन्न कालखण्डमा सेवा गरेकासमेत राष्ट्रपति डोनाल्ड ट्रम्पकोविरुद्धको मोर्चाबन्दीमा सामेल भएका छन् । त्यति मात्र होइन ट्रम्पको विरुद्धमा रिपब्लिकन मतदाता भनेर गत मे देखि राजनीतिक प्रयासको थालनी गरिएको छ । यसले राष्ट्रपति ट्रम्पलाई मतदान नगर्न अपिल गर्दै सामाजिक सञ्जालमा विज्ञापन प्रस्तुत गर्ने जनाएको छ ।

यिनीहरूले पेन्सलभेनिया, विसकन्सिन, मिचिगन, फलोरिडा, नर्थ क्यारोलिना एरिजोनाका मतदातालाई जागरुक गराउनेसमेत जनाइएको छ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट स्टेटको मत प्रक्षेपणको नजिक पुग्ने गरेता पनि केही राज्यको मतदान भने चुनावको दिन मात्र थाहा हुने भएकाले यसमा चुनावी अभियानलाई तीव्र पार्ने गरिन्छ । सन् २०२० का लागि यसरी पछि मात्र मत थाहा हुने राज्यहरूमा कोलोराडो, फलोरिडा, आइवा, मिचिगन, मिनासोटा, नेभडा, न्यूह्याम्पसायर, नर्थ क्यारोलिना, ओहियो, पेन्सलभेनिया, भर्जिनिया र विसकन्सिन रहेका छन् । यी राज्यमा जसको अवस्था मजबुत भयो उसले राष्ट्रपतीय निर्वाचन आफ्नो पोल्टामा पार्न सक्नेछ ।

अमेरिकाको चुनावमा चासो र चर्चामा रहने मुद्दामा आप्रवासन, व्यापार, बेरोजगारी, स्वास्थ्य बिमा, बन्दुक नियन्त्रणजस्ता विषय घरेलु मुद्दाका रूपमा उठाइएको छ भने कोभिडलाई समयमा नै नियन्त्रण गर्न ट्रम्प प्रशासन सक्षम नभएको चर्को आलोचना गरिएको छ । सायद आसन्न निर्वाचनमा यो पनि एक मुद्दा बन्न सक्छ ।

यसका अतिरिक्त सोही दिन ४ सय ७० सिटका लागि कांग्रेस र सिनेटमा चुनाव हुँदै छ । तल्लो सदन कांग्रेसको हरेक दुई वर्षमा हुने ४ सय ३५ सिटका लागि निर्वाचन हुनेछ भने सिनेटको तीन तहमध्ये एक तहमा विभाजन गरिएको ३५ सिटको पनि त्यही दिन निर्वाचन हुनेछ । एक सय सिट भएको सिनेटमा हाल रिपब्लिकन पार्टीको बहुमत रहेको छ । जसमा ५३ जना रिपब्लिकन र ४५ जना डेमोक्र्याट रहेका छन् । अरू दुई जना स्वतन्त्र छन् । कांग्रेसमा भने डेमोक्र्याट पार्टीको बहुमत रहेको छ ।

यसपटक कांग्रेस डेमोक्र्याट पार्टीका हरेक तप्कामा सिनेटमा बहुमतको वर्चस्व कायम गर्दै ह्वाइट हाउसमा आफ्ना प्रतिनिधि पु¥याउने तयारीमा रहेका छन् । तर, जनताले सो पार्टीको एजेन्डालाई कसरी आत्मसात् गर्नेछन् त्यसका लागि भने नोभेम्बर ३ तारिख नै कुर्नुपर्ने हुन्छ ।

कोरोना भाइरसका कारण उत्पन्न समस्यामा स्थानीय सरकारका रूपमा रहेका गभर्नर मेयरले सन्तोषजनक काम नगरेको भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गर्दै आएका छन् । खासगरी डमोक्र्याट जनप्रतिनिधिको उदारवादी सोचका कारण भाइरसका बारेमा धेरै हल्ला गरिएको राष्ट्रपति ट्रम्पको भनाइ सार्वजनिक हुँदै आएको छ । गत मे १५ तारिखमा यदि गभर्नरहरूले सेन्टर फर डिजिज कन्ट्रोलको निर्देशिका अनुसार काम नगरे उनीहरूको अधिकारमाथि हस्तक्षेप गर्छु भन्ने ट्रम्पको भनाइको पनि चर्को आलोचना भएको थियो ।

चुनावी सर्वेक्षणले दोहोरो अंकमा वाइडनको अग्रता देखाएको भए पनि कतिपय स्थानीय मुद्दामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अग्रता राख्न सफल भएका छन् । तर, तीन महिनाको चुनावी अभियानका लागि संकलन गरिएको रकममा वाइडेनले तल्लो तहका मतदाताबाट राम्रो रकम संकलन गर्न सफल भएका छन् । चुनावी अभियानको वित्तीय अवस्थाका बारेमा विश्लेषण गर्ने निकायले प्रकाशन गरेका प्रतिवेदनअनुसार अप्रिलदेखि जुन महिनाको त्रैमासिक अवधिमा ट्रम्पको चुनावी अभियानले २६ करोड ६० लाख डलर संकलन गरेकामा त्यही समयमा वाइडेनको अभियानले २८ करोड २० लाख संकलन गर्न सफल भएको छ ।

यसले गर्दा वित्तीय क्षमतामा पनि वाइडेन अगाडि रहेको राजनीतिक टिप्पणीकारले टिप्पणी गरेका छन् । अमेरिकामा खर्चिलो चुनावी अभ्यासमा मतदाता, व्यापारिक समूह, विभिन्न राजनीतिक समूहले आफनो एजेन्डामा साथ दिएकाहरूलाई चन्दासमेत दिने गर्छन् । यसलाई निर्वाचत जित्ने मजबुत आधारशीलाका रूपमा समेत लिइन्छ ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा महत्वपूर्ण मानिने इलोक्ट्रोल कलेजको ५० राज्य र वासिंगटन डिसी समेतको गरी कुल ५ सय ३८ स्थानमध्ये राष्ट्रपति निर्वाचित हुन २ सय ७० स्थानमा विजय प्राप्त गर्नुपर्छ । जनसंख्याकोे आधार र ऐतिहासिक दस्ताबेजहरूको विश्लेषण गर्दा जुन राज्यमा जुन पार्टीको वर्चस्व रह्यो इलोक्टोल कलेजमा त्यही प्रक्रियाले चयन हुने देखिएको छ । तर यसपटक १६ वटा राज्यको इलोक्टोल भोटमा प्रतिस्पर्धा हुने विश्लेषण सञ्चारमाध्यमले सार्वजनिक गरिरहेका छन् ।

त्यसमा फलोरिडाको २९, पेन्सलभेनियाको २०, ओहियोको १८ नर्थ क्यारोलिनाको १५ एरिजोनाको ११, विसकन्सिनको १०, नेभडाको छ र न्यूह्याम्पसायरको चार भोट नै निर्णायक हुनेछन् । हालसालैको एक चुनावी सर्वेक्षणले ५ प्रतिशतले वाइडेन अगाडि भएको भएता पनि यी स्थानहरूमा पुनः चुनाव जित्नको लागि राष्ट्रपति ट्रम्पले ७३ प्रतिशत भोट ल्याउनुपर्ने हुन्छ । तर यस अगाडि सन् २०१६ मा ट्रम्पले यी स्थानबाट ९१ प्रतिशत मत ल्याए जित हासिल गर्न सक्ने सम्भावना रहेको विश्लेषण गरिएको छ ।

अमेरिकामा विगत ६ महिनामा कोरोना महामारी मात्र महासंकटका रूपमा देखापरेको होइन । यसले मानिसहरूले बेरोजगार हुनुपर्दाको पीडा र समयमा स्वास्थ्य सेवाका लागि प्राप्त हुनुपर्ने उपकरण उपलब्ध हुन नसक्नुमा ट्रम्प प्रशासनको दोष देख्ने समूह पनि सानो छैन । यी यावत् विषयका बाबजुद अमेरिकालाई महामारीपछिको विश्वास हासिल गर्दै विश्वमा आफ्नो महाशक्ति राष्ट्रको क्षमता देखाउन विश्वास गरेर जनताले कसलाई पठाउने छन् भन्ने विषय भने प्रतीक्षामै छ । तर यसपटक बहालवाला राष्ट्रपतिलाई पुनःनिर्वाचित हुन आफ्ना प्रतिद्वन्द्वीसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने भने देखिन्छ । एकातिर देशमा महामारी बढ्दो छ भने अर्कातर्फ निर्वाचनको प्रक्रिया पनि सुरु नगरी नहुने अवस्था छ । यसले पनि वर्तमान राष्ट्रपतिलाई असर गर्ने देखिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय