मानिसलाई गिज्याइरहेका उद्यान

मालढुंगा नाकाहुँदै बागलुङ छिरेको केही छिनमा सडकछेउ सहिद स्मृति उद्यान भेटिन्छ । प्रवेशद्वारबाट भित्र छिर्नासाथ उद्यानको दूरावस्था आँखाअघि आउँछ । अनि बाहिर उद्यान लेखिएको द्वारबाट भित्र छिरेको व्यक्ति म उद्यानमै आएँ कि अन्त कतै भनेर अलमलमा पर्छ । उसको पहिलो नजर सहिदका सालिकमा ठोक्किन पुग्छ । तर, पंmुग उडेका जीर्ण सालिकले जिउँदा मानिसलाई गिज्याए झैँ लाग्छ । यसरी उद्यान र सालिकले जिउँदा मानिसलाई गिज्याएजस्तो लागेपछि मानिसहरू उद्यान छिर्नै छोडेका छन् ।

देश र जनताका लागि जीवन उत्सर्ग गर्ने सहिदको सम्मानमा राखिएका सालिकमाथि उल्टो अपमान भएको प्रतीत यो उद्यानमा पुग्ने जोसुकैलाई पनि हुन्छ । सालिकको प्रतिबिम्व देखिनुपर्ने तलाउमा लेउ र फोहरको डुंगुर छ । सहिद दिवसका दिन एक थुंगो फूलबाहेक केही पाउन नसकेका सालिकका मुहार पनि निकै खिन्न देखिन्छन् ।

पार्कमा सहिद धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र थीरबम मल्लको सालिक छ । २००७ सालको क्रान्तिमा शहादत प्राप्त गरेका सहिद थीरबम बागलुङका हुन् । ०५७ सालमा निर्मित उद्यानमा सालिकबाहेक अन्य भौतिक संरचना पनि उस्तै स्थितिमा छन् । विश्रामस्थल, दृश्यावलोकनस्थल, बगैँचा, बाबुनानीहरू खेल्न बनाइएका चिप्लेटी, पिङआदिसमेत अलपत्र छन् । शौचालय आफ्नो स्वरूपमा छैन लथालिंग छ ।

सरसफाइको कुनै गुञ्जायस छैन । रंगीचंगी, ढकमक्क फूल फूल्नुपर्ने ठाउँ झारले भरिएको छ । उद्यानको सौन्दर्य बढाउन लगाइएका रुख, फूलका बोट ओइलाएका छन् । रेखदेख छैन, संरक्षण छैन, कसैको ध्यान पुग्दैन अनि कसरी होस् उद्यान उद्यानजस्तो हराभरा ? करिब २० रोपनी क्षेत्रफलमा फैलिएको उद्यानको यस्तो कन्तविजोग देख्दा त्यहाँ पुग्ने जसलाई पनि उदेक लाग्छ । मन खिन्न हुन्छ । उद्यान निर्माणदेखि यसको सुधारमा भएको खर्च हेर्दा झनै मन कुडिन्छ । कराडौँ खर्चिंदा पनि उद्यानले चोला फेर्न सकेको छैन, बरु झन्झन् दुर्दशातिर धकेलिएको छ ।

उचित संरक्षण र व्यवस्थापन नहँुदा राज्यको लगानी त्यसै खेर गइरहेको छ । पर्यटक लोभ्याउने गरी उद्यानको सौन्दर्यीकरण गर्ने बागलुङ नगरपालिकाको योजना निरर्थक बनेको छ । वर्षौंअघिदेखि उद्यानमा भएको लगानी उपलब्धिहीन बनेको छ । पछिल्ला वर्षमा नगरपालिकाले सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत झण्डै एक करोड र प्रभु बैंकले १५ लाख रुपैयाँ उद्यानमा खर्च गरेको छ । नगरपालिकाले गर्ने नियमित मर्मत, सुधार र व्यवस्थापकीय काममा भएको खर्च बेग्लै छ ।

संरचना निर्माणदेखि उद्यानको सौन्दर्यीकरणका लागि भएका काम पनि संरक्षण अभावमा धेरै समय टिकेनन् । दुई वर्षअघिसम्म केही बिसेक देखिने उद्यान अहिले बेहाल स्थितिमा पुगको छ । नगरपालिकाले भने यो वर्ष उद्यानको मुहार फेरेरै छाड्ने प्रतिबद्धता देखाएको छ तर काम हुन बाँकी छ । ‘गएको वर्ष त्यही ठाउँमै झोलुंगे पुल निर्माण सुरु भएपछि उद्यानको काम केही रोकिन पुग्यो, यो वर्षको अन्त्यसम्ममा उद्यानलाई व्यवस्थित गर्छौं, बजेट पनि छुट्टिएको छ,’ नगरप्रमुख जनकराज पौडेलले भने । स्रोतको सदुपयोगसँगै दोहोरो खर्च नहोस् भनेर पुल नबनुञ्जेल उद्यानको काम नगरिएको उनकोे भनाइ छ ।

प्रभु बैंकलेसमेत उद्यानमा लगानीको प्रतिबद्धता गरेकाले अब कामले गति लिने नगरप्रमुख पौडेलले बताए । प्रभु बैंकका धवलागिरि उपक्षेत्रीय प्रमुख अमरज्योति गिरीले भने उद्यानमा गरिएको लगानीको सुरक्षा नभएपछि काम रोक्नुपरेको बताए । ‘झन्डै १५ लाखजति त हाम्रो खर्च भइसकेको छ,’ उनले भने, ‘चार÷पाँच हजारसम्म मूल्य पर्ने बिरुवा लगायौँ कति चोरी भए, कति नासिएर गए, संरक्षण भएन ।’

बगैँचा निर्माण, वृक्षरोपण र अन्य संरचना निर्माणमा बैंकले ४० लाख रुपैयाँ लगानी गर्ने योजनासहित नगरपालिकासँग सम्झौता गरेको थियो । ‘सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यान निर्माणमा खर्च गर्न लागेको हो,’ बैंकका प्रमुख गिरीले भने, ‘उद्यान संरक्षण र रेखदेखको सुनिश्चितता नभएसम्म हामीले काम अगाडि बढाउँदैनौँ ।’

उनले उद्यान नगरको सम्पत्ति भएकाले त्यसको संरक्षण र व्यवस्थापनमा नगरपालिका नै बढी जिम्मेवार हुनुपर्ने धारणा राखे । उद्यानका लागि पहिलो वर्ष ४० लाख र त्यसपछि पनि बर्सेनि बजेट आउने सुनिश्चितता हुँदा पनि नगरपालिका उदासिन बनेको बैंकको आरोप छ ।

बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले नगरपालिकाले उद्यान संरक्षण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने धारणा राखे । ‘नगरप्रमुखसँग यो विषयमा कुराकानी पनि भएको थियो, तर उनले नगरपालिकाले नै व्यवस्थापन गर्ने बताए,’ अध्यक्ष खड्काले भने ।

उनले उद्यानलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्न सकिने बताए । नेपालकै लामो (सिंगल स्पामतर्फ) बागलुङ–पर्वत जोड्ने झोलुंगे पुल पनि यही उद्यान छेउ बनेकाले त्यस क्षेत्र पर्यटकीय गन्तव्यस्थल बन्न सक्छ । नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरलाईसमेत जोडेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।

उद्यानको दुरावस्थाको वर्णन सहिद स्मृति उद्यानमा मात्र समेटिन्न । सहिद स्मृति उद्यानहुँदै बांगेचौरको घुम्ती मोडिएर बागलुङ बजारको मुखैमा पुगेपछि फेरी अर्को उद्यान आइपुग्छ वीरेन्द्र–ऐश्वर्य उद्यान । त्यसको स्थिति त झन् सहिद स्मृति उद्यानको भन्दा पनि खराब छ । तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यका नाममा स्थापित उक्त उद्यान अहिले आएर अस्तित्व नै लोप हुने अवस्थामा गुज्रिरहेको छ । बजारको मुटुमा रहेको उक्त उद्यान संरक्षण अभावमा अलपत्र छ । उद्यानको सौन्दर्य नासिएर कुरुप बनेको छ ।

०३२ सालमा बनेको उद्यान लथालिंग अवस्थामा छ । ०६२÷६३ को जनआन्दोलनमा राजारानीको सालिक तोडिएपछि पार्क त्यसै उराठलाग्दो छ । अरू कसैको सालिक त्यहाँ ठडिएको छैन । सालिक राख्न त्यो बेला बनाइएको कला, कौशलयुक्त संरचना जीर्ण बनेका छन् । उद्यानमा रहेको कृत्रिम तलाउ दूषित छ । पहिले माछा पौडने तलाउ फोहरले भरिएको छ । बगैँचाको रेखदेख नहुँदा बुट्यान सुक्न थालेका छन् । विश्रामस्थल भत्किएका छन् । उद्यान झाडीमा बदलिएको छ । उद्यान छेउ बनेको सार्वजनिक शौचालय प्रयोगविहीन छ । सडक चौडा गर्न पर्खाल भत्काइएपछि उद्यान झन् अस्तव्यस्त देखिएको छ ।

नगरपालिकाले केही वर्षअघिसम्म कर्मचारी नै राखेर उद्यान सफाइदेखि रेखदेख, व्यवस्थापनको काम गरे पनि अहिले त्यो हुन सकेको छैन । संरक्षण नहुँदा पुरानो महत्व बोकेको उद्यान जीर्ण अवस्थामा पुगेको छ । स्वच्छ र हराभरा हुनुपर्ने उद्यान सौन्दर्यहीन छ ।

उद्यानका पूर्वअध्यक्ष एवं संरक्षक शैलेन्द्रकुमार श्रेष्ठले जनस्तरबाट सहयोग जुटाएर जग्गा खरिद गरी उद्यान बनाइएको स्मरण गरेका थिए । ‘अहिले पनि यो उद्यान संस्थाअन्तर्गत जिल्ला प्रशासनमा दर्ता छ, वीरेन्द्र–ऐश्वर्य उद्यानका नाममा लालपूर्जा छ,’ उनले भने ।

केही वर्षअघिदेखि उद्यानको संरक्षण, व्यवस्थापनको जिम्मा बागलुङ नगरपालिकाले लिएको छ । उद्यानको स्वामित्व हस्तान्तरण भने भइनसकेको श्रेष्ठले बताए । ‘उद्यानको संरक्षण हुन सकेको छैन, नगरपालिकाले जिम्मा लिएर काम थालेको थियो तर पछि फेरि सबै भताभुंगको अवस्थामा पुगेको छ,’ उनले भने ।

उद्यानको लालपूर्जा र दस्तावेज आफूहरूसँग रहेको भन्दै श्रेष्ठले काम गर्दा नगरपालिकाले सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । अब पनि बागलुङ नगरको पहिचानसँग जोडिएको उद्यानको उचित संरक्षण योजना ल्याउन नसके आवाज उठाउने उनको भनाइ छ ।

बागलुङ बजारमा आवादी बढेका बेला स्वच्छ हावा दिने उक्त उद्यानको व्यवस्थित विकास गरिनुपर्नेमा श्रेष्ठको जोड छ । नगरप्रमुख पौडेलले वीरेन्द्र–ऐश्वर्य उद्यानको छेउछाउको सडक चौडा र चोक सुधारको काम भइरहेको बताए ।

‘माथिको उद्यानका लागि पनि यो वर्ष २० लाख बजेट छुट्टाएका छौँ,’ उनले भने, ‘दायाँबायाँ सडक विस्तारको काम सकिएपछि उद्यान पुनःनिर्माण र संरक्षणको काम अघि बढ्छ, यो वर्ष उद्यानको मुहार फेरिन्छ,’ नगरपालिकाले यसअघि पनि उद्यानको सुधार, व्यवस्थापन र कर्मचारी तलबमा लाखौँ रुपैयाँ खर्च गर्दै आएको थियो । सात वर्षअघि नगरपालिकाले उद्यान पुनःनिर्माण, सौन्दर्यीकरण र आयमुलक भवनसहितको योजना अघि सारेको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागमा उक्त योजनाका लागि बजेट माग गरिए पनि त्यो सार्थक हुन सकेन । दैनिक जीवनको दौडधुप र तनावबाट एकैछिन भए पनि बाहिर निस्केर आनन्द बटुल्ने थलोको दुरावस्था देखेर जनसाधारण पनि बेखुसी छन् । उद्यान उद्यानकै स्वरूपमा राख्न नसकिएपछि बेखुसी हुने नै भए ।

प्रतिक्रिया